काठमाण्डू, नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट उत्पन्न विवाद समाधानका लागि मिलनविन्दूको खोजी भइरहेको छ। कांग्रेसको संस्थापन र इतर पक्षबीच विभिन्न विकल्पमाथि अनौपचारिक छलफल भइरहेको हो।
गत पुस मसान्तमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भएपछि कांग्रेस दुई खेमामा विभाजित छ।
विशेष महाधिवेशनले १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरी थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।
थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिने निर्णयपछि तात्कालीन सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का अदालत गएका थिए।
सो रिट अझै विचाराधीन छ।
देउवा पक्ष अदालतको फैसलाको कुरेर बसेको छ भने थापा पक्षले निर्णायक संवादमा चासो दिएको छैन।
सभापति थापाले विशेष महाधिवेशन स्वीकारेर आए मात्र देउवा समूहसँग संवाद गर्न सकिने सर्त राखेका छन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले देउवा समूहले विशेष महाधिवेशन स्वीकार नगर्दा संवादले सार्थकता नपाएको बताए।
‘अनौपचारिक छलफल भएको छ। विशेष महाधिवेशनलाई स्वीकारेपछि बसेर कुरा मिलाउन सकिहालिन्छ,’ उनले भने, ‘विशेष महाधिवेशनलाई स्वीकार्न उहाँहरू गाह्रो मानिराख्नु भएको छ।
यसले समस्या भएको छ। संवाद नभएको होइन।’ उनका अनुसार देउवा पक्ष विशेष महाधिवेशन स्वीकार्दा सर्वोच्च अदालतमा विधाराधीन मुद्दा कमजोर हुने बुझाइमा छ।
‘विशेष महाधिवेशनलाई स्वीकार्दा मुद्दा निष्कृय हुने ठानि राख्नु भएको होला। अदालतले के गर्छ हेरौँ न भनिराख्नु भएको छ।
कार्यकारी जिम्मेवारी पाएको हाम्रो समितिले अदालत हेरेर बस्ने कुरा भएन। समयमा काम अगाडि बढाउनु छ। भोलि यत्रो समयमा के हेरेर बसेको भनिन्छ,’ उनले भने।
१५ औँ महाधिवेशनमा निष्पक्षता कायम गराउन आफूहरू तयार रहेको भन्दै त्यसका लागि बन्ने सबै समितिमा सबै पक्षलाई समेटेर जान सकिने पौडेलले बताए।
‘विधानभन्दा बाहिर जाने भन्ने हुँदैन। महाधिवेशनको निष्पक्षता कायम हुन्छ।
महाधिवेशनका लागि बन्ने समितिमा सबैलाई राखेर जान तयार छौँ,’ उनले भने, ‘क्रियाशील सदस्यताको व्यवस्था निष्पक्ष ढंगले गर्ने हो। महाधिवेशनको कार्यतालिका कार्यान्वयनका लागि सबै लाग्नु नै एकताको मिलनविन्दू हो।’
विशेष महाधिवेशनबाट निर्वाचित १३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा पक्षका नेताहरूलाई समेटेर पूर्णता दिन सकिने उनको भनाइ छ।
‘विशेष महाधिवेशनबाट आएको समिति महाधिवेशन तयारी समिति नै हो,’ उनले भने, ‘पूर्णकालीन समिति होइन।
हाम्रो दायित्व नै नियमित महाधिवेशन गर्ने हो। ७–८ महिना समयावधि भएको समितिको विकल्प खोजेर अर्को समिति बनाउनै पर्दैन।’
अनौपचारिक संवादमा कोइराला पक्ष लचिलो देखिए पनि देउवा पक्ष प्रस्ट अडान लिएर बसेको पौडेलले बताए।
उनले भने, ‘अदालतको मुद्दालाई ख्याल राख्दा यसरी नै अगाडि जान्छ। अदालतको मुद्दालाई बिर्सिंदा मिल्न समस्या छैन।’
पहिले विशेष महाधिवेशनको कार्यसमिति विघटन गरेर सहमति खोज्नुपर्ने अडानमा रहेको देउवा समूह अहिले केही लचिलो देखिएको छ।
१४ औँ महाधिवेशनबाट निर्वाचित र विशेष महाधिवेशनबाट चयन भएका दुवै समितिलाई ‘मर्ज’ गरेर नियमित महाधिवेशनमा जानुपर्ने पक्षमा देउवा पक्ष देखिन्छ।
कांग्रेस पूर्वसहमहामन्त्री महेन्द्र यादव नियमित महाधिवेशनसम्मका लागि केन्द्रीय समिति ३ सय सदस्यीय बनाएर जाँदा पार्टीमा बृहत् एकता कायम हुने बताउँछन्।
‘१४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र विशेष महाधिवेशनबाट आएका पदाधिकारी पनि आ–आफ्नो पदमा यथावत रहनुहुन्छ।
महाधिवेशनबाट एउटा कार्यसमिति भइहाल्छ। मधेसवादी दलले विगतमा ६ जना अध्यक्ष मण्डल बनाएर पार्टी चलाएका थिए।
महाधिवेशनसम्मका लागि दुई वटा अध्यक्ष मण्डल हुन्छन्,’ उनी भन्छन्।
देउवा र थापा नेतृत्वका दुवै समितिलाई मर्ज गरेर १५ औँ महाधिवेशनमा जानुपर्ने भन्दै उनी कांग्रेस विवादबारे सर्वोच्च अदालतले दिने फैसलाले एकता कायम राख्न नसक्ने तर्क गर्छन्।
‘निर्वाचन आयोगले गगन थापालाई मान्यता दियो। सर्वोच्च अदालतले पूर्णबहादुर खड्कालाई आधिकारिता देला।
त्यसले कांग्रेसको एकता कायम हुन्छरु’ उनको प्रश्न छ, ‘विवाद बढ्दै जाँदा पार्टी विभाजनतिर जान्छ।
त्यसैले अदालतको फैसला कुर्ने भन्दा पनि एकता कायम गर्ने बाटोमा जानुपर्छ। यसमा सबै नेताहरू गम्भीर हुनुपर्छ।’
देउवा नेतृत्वको तत्कालीन कार्यसमिति र थापा नेतृत्वको कार्यसमिति मिलाएर जाँदा दुवै पक्षले जित्ने र पार्टी एकताबद्ध बन्ने यादवको प्रस्ताव छ।
‘पार्टी र लोकतन्त्रप्रति माया छ भने दुई वटा कार्यसमिति मर्ज गर्नुको विकल्प छैन। जुँगाको लडाइँमा पार्टी सक्नु छ भने बेग्लै कुरा हो,’ उनले भने।
नेताहरूका अनुसार देउवा पक्षका अधिकांश नेता निवर्तमान र वर्तमान केन्द्रीय कार्यसमिति मर्ज गरेर जाने कुरामा तयार देखिन्छन्।
डा. शेखरको सक्रियता
कांग्रेस नेता डा शेखर कोइराला सिंगो कांग्रेस १५ औँ महाधिवेशनमा जाने परिस्थिति निर्माणका लागि समन्वयात्मक संवादमा छन्।
चैत १७ र १८ गते धुम्बाराहीमा भएको देउवा पक्षको बैठकमा सहभागी डा. कोइराला अहिले पार्टी विभाजन रोक्न प्रयासरत देखिन्छन्।
आगामी दिनेमा देउवा पक्षको बैठकमा सहभागी नहुने नीति बनाएका कोइरालाले दुवै समूहलाई एक ठाउँमा ल्याउन भूमिका खेल्ने बताए।
मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा निकटस्थ नेताहरूसँगको छलफलमा कोइरालाले सर्वोच्चले जुन समूहलाई आधिकारिकता दिएपनि पार्टी एक नरहने अवस्था बनेको सुनाए।
‘सर्वोच्चले आधिकारिकता जुन समूहलाई दिए पनि पार्टी एक नरहने अवस्था मैले देखिरहेको छु। पार्टीलाई एक राख्न जस्तोसुकै त्याग गर्न पनि तयार छु।
त्यसैले म मध्यमार्गी धारमा उभिएर एकताका लागि काम गर्छु,’ डा. कोइरालाले भने। सभापति थापाले पार्टी मिलाउने कुरामा उदासीनता देखाएको उनको आरोप छ।
‘पार्टीको बागडोर सम्हाल्नेले मिलाउन प्रयास गर्नुपर्ने हो,’ कोइराला भन्छन्, ‘विशेष महाधिवेशनबाट आएको नेतृत्वमा त्यो देखिएको छैन। नेतृत्वको मौनता र उदासीनता उदेकलाग्दो छ।’
निवर्तमान कार्यवाहक सभापति खड्का लगायतका नेताहरू पनि पार्टी एकताका लागि लचिलो नबनेको उनको भनाइ छ।
‘पार्टीको आधिकारिताका लागि सर्वोच्च अदालतमा पुग्नु भएका नेताहरू पनि लचिलो देखिनुहुन्न,’ आफू निकट नेतालाई डा. कोइरालाले भने, ‘यसरी पोजिसन बनाएर बस्ने कुराले पार्टी एक रहने अवस्था बन्दैन। हामीले दुवै पक्षलाई एक ठाउँमा ल्याउन लाग्नुपर्छ।’
कोइरालाले पार्टी एकताका लागि मध्यस्थता गर्न आफू पक्षीय नेताहरूलाई जिम्मेवारी दिएका छन्।
उनले डा. मिनेन्द्र रिजाल र डा गोविन्द पोखरेललाई देउवा समूहसँग वार्ता गर्ने खटाएका छन् भने थापा पक्षसँग बद्री पाण्डे र जीवन परियारलाई।
यता कांग्रेसका युवा नेताहरू नैनसिंह महर, कुन्दनराज काफ्ले लगायतले ‘नेपाली कांग्रेस एकजुट हुनपर्दछ’ अभियान चलाएका छन्।
उनीहरूले आफ्नो फेसबुक प्रोफाइलमा हातमा हात समाएको र ‘नेपाली कांग्रेस एकजुट हुनपर्दछ’ भनेर लेखिएको फोटो राखेका छन्।
देउवा र थापा समूहसँग निरन्तर संवादमा रहेका उनीहरूले पार्टी एकताका लागि संवाद र दबाबको नीति अख्तियार गरेको बताएका छन्।
पार्टीभित्र एकताका लागि दबाब बढेपछि सभापति थापाले पनि नेताहरूसँग संवाद बढाउने बताएका छन्।
पार्टीमा बृहत्तर एकताका लागि आफ्नो ठूलो जिम्मेवारी रहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर १५ औँ महाधिवेशन गर्ने उनको भनाइ छ।
‘पार्टीलाई चुस्त दुरुस्त बनाउछौँ। पार्टीबाहिर रहेको ठूलो जमातलाई पार्टीभित्र ल्याएर जोड्ने काम सबै मिलेर गर्नुपर्ने छ,’ उनले भने।


































