काठमाण्डू, हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली भएको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा अन्य पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, सोमबार राति पनि पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।


































