काठमाण्डू, निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजे आयोग परिसरमै प्रमाणपत्र वितरण कार्यक्रम तय गरिएको छ ।
प्रवक्ता भट्टराईले समानुपातिक प्रणालीबाट निर्वाचित सबै सांसदहरूलाई सोही समयमा प्रमाणपत्र प्रदान गरिने जानकारी दिएका छन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ कुल ११० जना सांसद निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट टुंग्याइसकेको छ ।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४–४ सिट पाएका छन् ।
आयोगले प्रमाणपत्र वितरणपछि प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सम्पूर्ण प्रतिवेदन आजै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने कार्यक्रम तय गरेको छ ।
अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिवेदन बुझाइने जनाइएको छ ।
त्यसपछि आयोगले साँझ साढे ५ बजे पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ ।
गत फागुन २१ गते देशभर सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ ।


































