२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

झापा ५ को निर्वाचन सुरक्षामा नेपाली सेनाको ‘आक्रामक’ तयारी, हवाई गस्तीदेखि बख्तरबन्ध गाडीसम्म परिचालन

Untitled
Untitled
Untitled

दमक, आगामी निर्वाचनको सन्दर्भमा देशभरिकै ‘इलेक्सन इपिसेन्टर’ मानिएको झापा क्षेत्र नम्बर ५ को सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीचको मुख्य प्रतिस्पर्धाका कारण यो क्षेत्र सुरक्षाको दृष्टिले संवेदनशील देखिएको छ।

सोही संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी ‘आक्रामक’ रूपमा सुरक्षा रणनीति अपनाएको छ।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सेनाले गत माघ २१ गतेदेखि नै दमक ८ स्थित सभागृहमा कम्पनी अपरेटिङ बेस (सीओबी) खडा गरेको छ।

अरिदमन गण चारआलीका सेनानी सुरेन्द्र योगीको कमाण्डमा रहेको यस सीओबी अन्तर्गत दमक, गौरादह, तोपगाछी र गौरीगञ्जमा चारवटा प्लाटुन अपरेटिङ बेस (पीओबी) हरू स्थापना गरिएका छन्।

हाल यस क्षेत्रको सुरक्षाका लागि २५० भन्दा बढी सैनिक फौज परिचालन गरिएको छ भने प्रत्येक पीओबीमा लप्टनको कमाण्डमा ३५ जनाको टोली खटिएको छ।

सेनाले दमकमा आफ्नै हेलिप्याड निर्माण गरी हवाई गस्तीसमेत सुरु गरेको छ।

नेपाली सेनाको एएलएच हेलिकप्टरमार्फत विशेष फोर्सले दमक बजार र क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा ‘हवाई रेकी’ गरेको छ।

जमीनमा सुरक्षाका लागि चारवटा बख्तरबन्ध गाडीसहित विशेष फौज परिचालन गरिएको छ।

सेनाले विगत एक महिनादेखि नै भेइकल पेट्रोलिङ, डे(नाइट पेट्रोलिङ र फ्ल्याग मार्चजस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

सुरक्षा बेसहरूमा बम डिस्पोजल टोलीलाई ‘हाई अलर्ट’ मा राखिएको छ। निर्वाचनका बेला हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सेनाले विद्यालयका विद्यार्थीहरूका लागि ‘माइन रिक्स एजुकेशन’ कक्षा समेत सञ्चालन गरेको छ।

बेवारिसे विस्फोटक पदार्थ भेटिएमा कसरी सुरक्षित रहने र सुरक्षा निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा विद्यार्थीहरूलाई सचेत गराइएको छ।

सेनाले निर्वाचनमा प्रत्यक्ष हस्तक्षेप नगर्ने तर सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। मतदानको समयमा सेना तेस्रो घेरामा रहनेछ र मतदान केन्द्रभित्र प्रवेश गर्ने छैन।

मतपेटिका ढुवानीका क्रममा सेनाले नछोइकन केवल ‘स्कर्टिङ र पिकेटिङ’ मार्फत सुरक्षा प्रदान गर्नेछ।

दमकको अर्ग्यानिक कृषि भवनमा हुने मतगणना स्थलमा अन्तिम नतिजा नआएसम्म सेनाले चौबीसै घण्टा पहरा दिने योजना बनाएको छ।

एक सैनिक अधिकारीका अनुसार निर्वाचन बिथोल्न खोज्ने वा हस्तक्षेप गर्न खोज्ने जोकोहीलाई सुरक्षा कार्यविधि अनुसार कडा कारबाही गरिनेछ।

सेना ‘पर्ख र हेर’ को अवस्थामा नरही आवश्यक परेको खण्डमा तत्काल ‘एक्सन’ मा जाने गरी आदेश लिइसकेको जानकारी दिइएको छ।

जिल्ला सुरक्षा समिति र उच्च पदस्थ सैनिक अधिकारीहरूले समेत दमकस्थित सुरक्षा बेसको निरीक्षण गरी सुरक्षा तयारीको मनोबल बढाएका छन्।

Untitled
Untitled
Untitled