२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पहिलो पार्टी बन्ने कांग्रेसको प्रक्षेपण, अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता प्रवेश

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पहिलो दल बन्ने दाबी गरेको छ। आज सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले पार्टीपंक्ति उत्साहित रहेको बताए।

उनले भने, ‘मत भनेको केवल कागजको सानो टुक्रा होइन, यो देशको भविष्य निर्माण गर्ने सबैभन्दा शक्तिशाली हतियार हो।

तपाईँहरूको एक मतले समृद्ध, न्यायपूर्ण र समावेशी नेपालको आधार तयार गर्नेछ। भ्रष्टाचारमुक्त र सुशासित शासनको ढोका खोल्नेछ।

राष्ट्रिय एकता, स्वाधीनता र लोकतन्त्रको रक्षा गर्नेछ र हाम्रा सन्ततिको लागि उज्ज्वल भविष्यको जग बसाउनेछ।’

पार्टीले आफ्नो प्रचार कार्यको थालनी कार्यकर्ताहरूलाई उत्प्रेरणा दिने कार्यकर्ता भेला, विभिन्न प्रचार तथा परिचालन समितिहरूबाट प्रारम्भ गरी प्रत्यक्ष नागरिक संवाद, घरदैलो अभियान, डिजिटल माध्यम, कोणसभा तथा विभिन्न आमसभाहरूलाई माध्यम बनाएको बताए।

उनले थपे, ‘प्रतीज्ञा पत्रलाई लिएर स्वयं पार्टी सभापति प्रत्यक्ष नागरिक संवादमा जोडिनुभई त्यसमा उठेका जिज्ञासाहरूको प्रस्ट पार्नुभएको छ।

नेपाली कांग्रेसको प्रतिबद्धताले नागरिक तहमा पलाएको विश्वास र प्राप्त अपार समर्थनले यो देश हामी बनाउन सक्छौँ, हामीले नै बनाउने हो’ भन्ने आधार सिर्जना गरेको छ र हामी यसबाट अत्यन्तै उत्साहित छौँ।’

को-को प्रवेश गरे ?

पार्टी नेतृत्व परिवर्तन भएपछि नेपाली कांग्रेस बीपीका केन्द्रीय समितिदेखि तल्लो तहसम्मका सबै समितिहरू, यसमा आबद्ध नेताहरू सबै समाहित भएको बताए।

देशभर रहेका लौरो अभियानका अभियन्ता, नेकपा एमालेका पूर्वमन्त्री, संविधानसभाका सदस्यसहित दर्जनौँ केन्द्रीय नेता, जिल्ला कमिटीका अध्यक्ष तथा पदाधिकारी सदस्यहरू, भातृ एवं जनवर्गीय सङ्गठनका सदस्यहरू आफ्ना सयौँ समर्थकहरूसहित नेपाली कांग्रेसमा प्रवेश गरेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दर्जनौँ केन्द्रीय नेताहरू, विभिन्न प्रदेशमा नेतृत्व गरिरहेका नेता, पार्टी केन्द्रको विभिन्न महत्त्वपूर्ण समितिमा आबद्ध साथीहरू, विभिन्न जिल्ला तहका नेतृत्वहरू तथा निर्वाचन क्षेत्रका जिम्मेवार नेताहरू कांग्रेसमा आबद्ध भएको बताए।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीका केन्द्रदेखि जिल्ला तहका नेताहरू, बहुजन पार्टीका नेताहरू तथा विभिन्न अन्य पार्टीका सयौँ नेता तथा कार्यकर्ताहरू आफ्ना समर्थकहरू सहित नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको जानकारी गराए।

विभिन्न स्वतन्त्र पार्टीका उम्मेदवारहरू तथा विभिन्न पार्टीका बहालवाला जनप्रतिनिधिहरूसमेत नेपाली कांग्रेसमा प्रवेश गरेको उनले बताए।

उनले भने, ‘पार्टीले आह्वान गरेको घर फर्क अभियान अन्तर्गत पार्टी छोडेर अन्य पार्टीमा गएका साथीहरू प्रायः घर फर्किसकेका छन् र निष्क्रिय भएका पार्टीका साथीहरू पुनः सङ्गठित भई सक्रिय हुने क्रम जारी छ। यसले पार्टीमा नयाँ रक्तसञ्चार गराएको छ।’

कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता प्रवेश गरेको दाबी गरेको छ।

सरकारलाई ध्यानाकर्षण

कांग्रेसले निर्वाचन आचारसंहिता पालना गराउन समेत निर्वाचन आयोगको ध्यानाकर्षण गराए।

उनले भने, ‘निर्वाचनको निष्पक्षताका लागि पार्टीले सरकारको भूमिकालाई नजिकबाट अध्ययन गरिरहेको छ र शक्तिको दुरुपयोग तथा पक्षपातपूर्ण कार्य नहुनेमा हामीले विश्वास लिएका छौँ।’

निर्वाचन शान्तिपूर्ण तथा स्वतन्त्र रूपमा भाग लिन पाउने जनताको नैसर्गिक अधिकारको रक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराए।

उनले भने, ‘अब तीन दिन मात्र बाँकी रहेको र यस अवधिमा सबै लोकतन्त्रवादीहरू अझ बढी विचारशील र सचेत हुन जरुरी छ।

निर्वाचनलाई प्रभावित पार्ने तथा जनमत अभिव्यक्तिको विवेकपूर्ण अभ्यास बिथोल्ने प्रयासहरू हुन सक्ने उच्च जोखिमप्रति पार्टीका साथीहरूलाई चनाखो रहन हामी आग्रह गर्दछौँ।’

जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशा तर्फ लगेको जिकिर गरे।

उपसभापति शर्माको ७ बुँदे आग्रह

पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले पनि पार्टी प्रत्यक्ष र समानुपातिकतर्फ पनि ठुलो दल बन्ने जिकिर गरे।

उनले निर्वाचनमा आवश्यकता अनुसार प्रहरी, सशस्त्र प्रहरी र सेनालाई राज्यले प्रयोग गर्ने नीति रहेको भन्दै आशङ्का गर्नुपर्ने कारण नभएको बताए।

उनले पार्टीको तर्फबाट ७ बुँदे धारणा पनि राखे।

पहिलो, आग्रह सबै दललाई छ। चुनावलाई स्वस्थ र भयरहित बनाउनलाई सबैले योगदान गरौँ।

दोस्रो, सरकार र निर्वाचन आयोगलाई हाम्रो आग्रह छ। व्यवस्थित रूपले निर्वाचन सम्पन्न गराउन पूर्ण निष्पक्षता र उस्तै सजगताका साथ कार्य गर्न।

तेस्रो, मतदान गर्नका लागि तम्तयार अवस्थामा नेपाली मतदाता हुनुहुन्छ। नेपाली मतदातालाई हाम्रो आग्रह छ– मत दिँदै गर्दा आवेगमा, उत्तेजनामा, झोँकमा होइन।

यो दुई दिन मौन अवधि भनेको दलहरू चाहिँ मौन रहने हो तर मतदाताले चाहिँ मन्थन गर्ने बेला हो।

चौथो, तपाईँ सञ्चार माध्यमहरूलाई छ। मिडियाले हामी सबैलाई प्रश्न गर्छ, खबरदारी पनि गर्छ र यो संवैधानिक अधिकार तपाईँहरूलाई छ।

मिडियाले पनि अब मौन अवधिको बेलामा मतदातालाई कुनै पनि प्रकारको भ्रम पर्न नदिन भूमिका खेलोस्।

पाँचौँ, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई हामीले गर्नु छ। सामाजिक सञ्जालमार्फत अत्यन्तै संयम, अत्यन्तै परिपक्व ढङ्गको बनाउनेभन्दा अलि बढी नै आवेग बनाउने, द्वेष फैलाउने काम नहोस्।

छैटौँ, नेपाली कांग्रेस पार्टीका अनेक आन्तरिक अप्ठ्याराहरूको बीचबाट विशेष महाधिवेशन भइसकेर अहिले हामी निर्वाचनमा गएका छौँ।

यो बेलामा पार्टीको उच्च तहमा रहनुभएका नेताहरू र वडा र टोलसम्म जिम्मेवारीमा रहेर कार्य गरिरहनुभएका सबै आदरणीय साथीहरूलाई यो छैटौँमा चाहिँ पार्टी पङ्क्तिलाई हाम्रो आग्रह छ( अहोरात्र लाग्नुभएका सबैले ‘मै उम्मेदवार हुँ’ जस्तो भन्ने सोच राखेर लाग्नुभएको छ, त्यसलाई हामी सम्मान गर्न चाहन्छौँ।

सातौँ, सरकारलाई र सबै राजनीतिक दललाई छ। निर्वाचन पूर्व राष्ट्रिय संवाद गरौँ’ भन्ने हाम्रो चाहना थियो।

निर्वाचन पछाडिका कतिपय गर्नुपर्ने राष्ट्रिय विषयहरूमा साझा दृष्टिकोण बनाउन सकिन्छ कि भन्ने प्रयास थियो।

हामीले भन्दा पनि भनेका थियौँ कि प्रधानमन्त्रीका उम्मेदवारहरूको सार्वजनिक साझा बहस पनि गर्न चाहन्छौँ।

Untitled
Untitled
Untitled