२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

खोकना विवाद सुल्झिन नसकेपछि फास्ट ट्रयाकको शुरू विन्दू फर्सिडोल

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) को शुरु विन्दूको जग्गा विवाद सुल्झाउन नसकेपछि सरकारले यसको विकल्प खोजेको छ ।

विगत साढे आठ वर्षदेखि खोकनामा देखिएको जग्गा अधिग्रहण सम्बन्धी विवाद टुङ्गो नलागेपछि ललितपुरको फर्सिडोललाई वैकल्पिक शुरू विन्दू बनाउने तयारी भएको छ ।

पुल्चोक इन्जिनियरिङ कलेजले गरेको सम्भाव्यता अध्ययनका आधारमा फर्सिडोललाई वैकल्पिक शुरु विन्दू बनाउन सकिने देखिएको थियो ।

यससँगै फर्सिडोलमा फास्टट्र्याकको शुरु विन्दू कायम गर्ने तयारी भएको सेनाले जनाएको छ ।

खोकनाभन्दा ३.३ किलोमिटरको दूरी उता बनाउने भएपछि दशकौँदेखि गिजोलिएको जग्गा विवादले एउटा निकास पाउने अपेक्षा गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार प्रधानमन्त्री कार्यालयमा भएको पछिल्लो छलफल र निर्देशनका आधारमा सेनाले यस विषयमा थप प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

यद्यपि, मन्त्रिपरिषद् वा सम्बन्धित निकायबाट औपचारिक र स्पष्ट निर्देशन प्राप्त भएपछि मात्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम शुरु हुने उनले बताए ।

‘खोकनाको विकल्पबारे पुल्चोक इन्जिनियरिङ कलेजबाट करिब दुई वर्षअघि नै अध्ययन भएको थियो,’ प्रवक्ता बस्नेतले भने, ‘उक्त अध्ययनले विभिन्न विकल्पहरू देखाएको छ र सोही आधारमा फर्सिडोलको विषयमा छलफल भइरहेको छ ।’

अहिले नीतिगत तहमा यसबारे निर्णय भइसकेको बुझिएको भए पनि सेनालाई आधिकारिक पत्र प्राप्त हुन बाँकी छ ।

प्रवक्ता बस्नेतले भने, ‘मन्त्रालय र नीतिगत तहबाट स्पष्ट निर्देशन आएपछि मात्र हामीले नयाँ डीपीआर प्रक्रिया शुरु गर्छौं । अहिले नै फिल्डमा काम शुरु भइसकेको भने छैन ।’

खोकनाको सांस्कृतिक र पुरातात्विक महत्त्व जोगाउनुपर्ने भन्दै स्थानीयले लामो समयदेखि आन्दोलन गर्दै आएका कारण फास्टट्रयाकको शुरु विन्दू विवादमा पर्दै आएको थियो ।

फर्सिडोललाई शुरु विन्दू बनाउँदा यो विवाद समाधान हुने अपेक्षा गरिएको छ ।

अध्ययन प्रतिवेदन हाल मन्त्रालयमै रहेको र त्यहाँबाट हुने निर्णयका आधारमा द्रुतमार्गको नयाँ शुरु विन्दू तय हुने सेनाको भनाइ छ ।

गत माघ ३ गते प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, सचिव केशवकुमार शर्मा, प्रधानसेनापति अशोकराज सिग्देसहितको टोलीले निर्माणाधीन द्रुतमार्गको स्थलगत निरीक्षण गरेको थियो ।

सोही बेला खोकना खण्डको विवादले समग्र आयोजनाको गति रोकेको निष्कर्ष निकाल्दै विकल्पमा जानुपर्ने दबाब बढेको थियो ।

खोकनाको सांस्कृतिक, धार्मिक र पुरातात्विक पहिचान जोगाउनुपर्ने भन्दै स्थानीय बासिन्दाले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

जसकारण प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डको जग्गा अधिग्रहण प्रक्रिया करिब ठप्प भएको थियो ।

यो विवादले गर्दा साढे आठ वर्षसम्म पनि द्रूतमार्गको शुरुवाती बिन्दू र सवारी आवागमन व्यवस्थापन सम्बन्धी ठोस निर्णय हुन सकेको थिएन ।

आयोजनाको समग्र भौतिक प्रगतिको अवस्था हेर्दा यो अझै सन्तोषजनक देखिँदैन ।

२०७४ साउन २७ गते सरकारले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नेपाली सेनालाई यसको जिम्मेवारी सुम्पिएको थियो ।

तर, पटक–पटकको म्याद थप र प्राविधिक उल्झनका कारण पुष मसान्तसम्म समग्र भौतिक प्रगति जम्मा ४५.१५ प्रतिशत मात्र पुगेको छ ।

चालू आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्मको तथ्यांक अनुसार वित्तीय प्रगति ४५.३३ प्रतिशतमा सीमित छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको भौतिक प्रगतिमा जम्मा ७.५५ प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ ।

जसले आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा ठुलो संशय पैदा गरेको छ ।

पछिल्लो पटक सरकारले २०८३ चैत मसान्तसम्म आयोजना सक्ने दोस्रो संशोधित लक्ष्य राखेको छ ।

तर, निर्माणको कछुवा गति हेर्दा लक्ष्य भेटाउन निकै कठिन देखिन्छ ।

खोकनामा मात्र होइन, सुरुङमार्ग र स्लोप स्टाब्लाइजेसनका लागि मकवानपुरमा समेत जग्गा अधिग्रहणका कामहरू अझै प्रक्रियामै रहेका छन् ।

तर, द्रूतमार्गको २४.८ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्मको खण्डमा भने जग्गा अधिग्रहण सम्पन्न भई तीव्र रूपमा निर्माण कार्य भइरहेको सेनाले जनाएको छ ।

समयमै आयोजना सम्पन्न हुन नसक्दा लागत भार बढ्दै गएको छ ।

शुरूवाती चरणमा १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँमा सम्पन्न हुने अनुमान गरिएको यो आयोजनाको लागत संशोधित म्याद र महँगीका कारण २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगिसकेको छ ।

लागतमा भएको यो २०.९५ प्रतिशतको वृद्धिले राष्ट्रिय ढुकुटीमा थप भार थपेको छ ।

हालसम्म आयोजनामा ८२ अर्ब ९७ करोड रुपैयाँ खर्च भइसकेको छ ।

यदि अब पनि नीतिगत निर्णयमा ढिलाइ हुने र निर्माण कार्यले गति नलिने हो भने यो लागत अझै बढ्ने निश्चित छ ।

विशेषगरी खोकना खण्डको सरकारी असफलताले आयोजनालाई महँगो र ढिलो बनाएको विज्ञहरूको तर्क छ ।

खोकनामा मात्र होइन, सुरुङमार्ग र स्लोप स्टाब्लाइजेसनका लागि मकवानपुरमा समेत जग्गा अधिग्रहणका कामहरू अझै प्रक्रियामै रहेका छन् ।

तर, द्रूतमार्गको २४।८ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्मको खण्डमा भने जग्गा अधिग्रहण सम्पन्न भई तीव्र रूपमा निर्माण कार्य भइरहेको सेनाले जनाएको छ ।

आयोजनाका मुख्य आकर्षणका रूपमा रहेका सुरुङमार्गहरूको काममा भने केही आशालाग्दो प्रगति देखिएको छ ।

सातवटा सुरुङमार्गमध्ये धोद्रे र लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ, जुन आयोजनाका लागि एउटा महत्त्वपूर्ण सफलता हो ।

महादेवटार सुरुङको दायाँतर्फ ६४ प्रतिशत र बायाँतर्फ ७४ प्रतिशत खन्ने काम सकिएको छ ।

यद्यपि, चन्द्राम भीर, देवीचौर, सिसौटार र मौरी भीर जस्ता सुरुङहरूको काम अझै प्रारम्भिक चरणमै छ ।

यस्तै, आयोजनामा पर्ने ८९ वटा पुलमध्ये ८५ वटाको ठेक्का व्यवस्थापन भइसकेको छ भने ५४ वटा पुलको जग र ३४ वटा पुलको माथिल्लो संरचना निर्माण सम्पन्न भएको छ ।

८२ मिटरसम्मका अग्ला र विशेष प्रकृतिका १३ वटा पुलहरू निर्माण सम्पन्न हुनुले नेपाली प्राविधिक क्षमताको विकासलाई पनि दर्शाउँछ ।

काठमाडौँलाई तराईसँग छोटो दूरीमा जोड्ने यो रणनीतिक आयोजनाको भविष्य अब फर्सिडोलको नयाँ डीपीआर र सरकारको दृढ निर्णयमा निर्भर छ ।

खोकनाको विवादलाई थाँती राखेर वा वैकल्पिक मार्गबाट आयोजना अघि बढाउने सेनाको पछिल्लो तत्परताले केही आशा जगाएको छ ।

तर, जग्गा अधिग्रहण, वन कटान र मुआब्जा वितरणमा हुने प्रशासनिक झमेलाहरूलाई समयमै सम्बोधन नगर्ने हो भने २०८३ चैतको म्याद पनि अर्को एउटा कागजी लक्ष्य मात्र बन्नेछ ।

Untitled
Untitled
Untitled