काठमाण्डू, नेकपा एमाले अध्यक्ष केपी ओली सुशीला कार्की नेतृत्वको सरकार र आगामी चुनावका विषयमा निरन्तर संशय प्रकट गरिरहेका छन् ।
कहिले प्रहरी कार्यालयबाट लुटिएका हतियारबाट हुने चुनावी सुरक्षाको विषय, कहिले आफ्नै निर्वाचन क्षेत्रमा सुरक्षा अधिकारीको फेरबदल त कहिले सरकारकै योजनामा आमुख व्यक्तिलाई चुनाव जिताउन धाँधली हुनसक्ने भविष्यवाणी ।
शुरुदेखि नै विपक्षमा रहेका ओली चुनाव आउन केही समयमात्रै बाँकी रहँदा अब यसको निष्पक्षतामाथि प्रश्न उठाउन थालेका छन् ।
भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रधानमन्त्री पदबाट बर्खास्त भएका ओलीले सुरुवातमा संसद् विघटन, फागुन २१ लागि तोकिएको निर्वाचन र ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको कार्की नेतृत्वको चुनावी सरकार कुनै पनि विषयलाई स्वीकार गरेका थिएनन् ।
ओलीले संसद् विघटनलाई असंवैधानिक कदम भने । चुनावी सरकारलाई विदेशी षड्यन्त्रको गोटी बनेको कठपुतली भने । र, चुनावलाई लोकतन्त्रलाई नै समाप्त पार्ने षड्यन्त्रका रूपमा व्याख्या गरे ।
आन्दोलनपछिका यी तीनवटै भवितव्यलाई अस्वीकार गरेका ओलीले राजनीतिलाई आफ्नो काबुमा राख्ने विकल्पमा प्रयास गरे ।
विघटित संसद्लाई पुनर्स्थापना गर्ने प्रयास गरे । कार्की नेतृत्वको सरकारको सट्टामा सर्वपक्षीय सरकार बनाउनु पर्ने लबिङ गरे ।
र, चुनाव रोक्नका लागि पुरानो सत्ता साझेदार नेपाली कांग्रेसका तात्कालीन सभापति शेरबहादुर देउवाका साथै संसद् बाहिरका अन्य शक्तिसँग पनि संवाद र सहकार्यको प्रयास गरे । तर असफल भए ।
उनले यी सबै गतिविधि एक साथ गरिरहँदा सरकार चुनावी माहौल निर्माणमा धेरै अघि बढिसकेको थियो । निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गरेर कार्यान्वयनमा लगिसकेको थियो ।
अहिले पनि ओलीले आफ्नो तर्फबाट संसद् पुनर्स्थापना गर्ने र जेन जी आन्दोलनपछि विकसित घटनाक्रमलाई डिस्पोज गर्ने प्रयत्न जारी नै राखेका छन् ।
तर, माहौल यस्तो बनिसकेको छ कि चुनाव हुन्छ कि हुँदैन भन्ने संशयकै बीचमा चुनाव सम्पन्न हुने देखिन्छ ।
एकातिर चुनावकै लागि भनेर मतपत्र छाप्नेदेखि चुनावी प्रयोजनका लागि म्यादी कर्मचारी भर्तीमा राज्यको ढुकुटीबाट ठूलो धनराशि खर्च भइसक्यो ।
अर्कोतिर, आम मतदाता र प्रायस् सबै राजनीतिक दलहरू चुनावी गतिविधिमा अग्रसर भइसके ।
घोषणा भएको चुनावमाथि प्रश्न उठाइरहेको एमाले स्वयं पनि यतिबेला सबैभन्दा बढी चुनाव केन्द्रित गतिविधिमा अग्रसर भइसक्यो ।
तर, ओली भने अहिले पनि सरकारको नियतदेखि चुनावको निष्पक्षतासम्म जताततै प्रश्न मात्रै उठाइरहेका छन् ।
चुनावमै धाँधली हुने ओलीको आशंका
प्रहरी प्रधान कार्यालयले माघ ४ गते ४८ जना प्रहरी उपरीक्क (एसपी)हरूको सरुवा गर्ने क्रममा झापाका एसपी राजन लिम्बूलाई काठमाडौंस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सरुवा गर्यो ।
बागमती प्रदेश मानव स्रोत व्यवस्थापन महाशाखा, हेटौँडा दरबन्दी भएकी वसुन्धरा खड्कालाई झापा प्रमुखको रूपमा पठायो ।
माघ ५ गते झापा पुगेका ओलीले एसपी लिम्बूको सरुवामाथि नै प्रश्न उठाए । उनले लिम्बू आफ्नो पक्षका प्रहरी अधिकारी भएकै कारण सरकारले उनको सरुवा गरेको र चुनावलाई प्रभावित पार्न खोजेको आशय प्रकट गरे ।
लिम्बूले निष्पक्ष भूमिका खेल्ने डरले पक्षपात गर्नका लागि उनको सरुवा गरेर खड्कालाई त्यहाँ लगिएको आशंका उनको थियो ।
‘सरकारलाई झापाका एसपीले निष्पक्ष भूमिका खेल्ने डर भयो । त्यसकारण उहाँ फेरिनु भयो । उहाँलाई काठमाडौं तानिएको छ, ओलीले भनेका थिए ।
ओली त्यतिमै रोकिएनन् । झापाबाट काठमाडौं फर्किएपछि उनले सरकारले सुरक्षाकर्मी मार्फत आफूमाथि अपमान गरेको गम्भीर आरोप लगाउँदै चुनावमा भाग लिने कि आन्दोलनमा होमिने भन्ने द्विविधा उत्पन्न भएको समेत बताए ।
अझैँ पनि भन्न सकिन्न, हामी आन्दोलनमा उत्रिनु पर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो । अस्ति म यताबाट झापा जाँदा एयरपोटहरूमा अलिकति राम्रै व्यवहार गरेको थियो ।
नेत्र जलिसके छ, हिँजो फर्केर आउँदा के-के न म सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ ।
के गरेको छ । हैरान पारेको छ । विदेश जाँदा पनि चिनेको ठाउँमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा पर्यो भने देखिन्छ नेपालीलाई हेपेको ।
हिँजो एयरपोटमा त्यस्तै गरेर हेप्यो । किन यस्तो गर्या भन्दा माथिबाट आदेश आएको छ भन्छ, ओलीले भनेका थिए, सरकार हामीलाई दुःख दिने काममा लागिरहेको छ । अपमान गर्ने कामतिर लागि रहेको छ ।
ओलीको स्पष्ट संकेत आफ्नो निर्वाचन क्षेत्र रहेका सुरक्षा अधिकारीको सरुवासँग थियो । किनभने, एसपी लिम्बू पूर्वप्रधानमन्त्री ओलीका पूर्व पीएसओ हुन् ।
ओलीका पूर्व पीएसओ भएकै कारण यसअघि उनको सरुवाको विषयमा विवाद नै भएको थियो । उनै एसपी झापामा रहँदा मात्रै चुनाव निष्पक्ष हुने र नहुँदा पक्षपात हुने आशंका ओलीमा विद्यमान छ ।
उनी यत्तिमा मात्रै रोकिएका छैनन् । उनले सरकार अमुक व्यक्ति र दललाई चुनाव जिताउन लागे अनिष्ट हुने धम्की समेत दिए ।
माघ १७ गते काठमाडौंमै आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा निर्दलीय सरकारले कुनै निश्चित दललाई चुनाव जिताउन लागेको आशंका व्यक्त गरे ।
‘सरकारको काम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्ने हो भने, निर्वाचन गराउने हो भने, स्वतन्त्र निर्वाचन, धाँधलीरहित निर्वाचन, भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु पर्दछ ।
सरकार बिलकुलै तटस्थ रहेर स्वच्छ निर्वाचन गराउनु पर्दछ । त्यो भूमिका सरकारले खेल्नु पर्दछ,’ ओलीले भनेका छन्, ‘यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन ।
त्यस्तो परिणाम स्वीकार्य हुँदैन । त्यसले देशमा ठूलो अनिष्ट पैदा गर्नेछ । त्यस्तो भयो भने निर्वाचनको परिणाम स्वीकार्य हुने छैन ।
म अहिलेदेखि स्पष्ट रूपमा जानकारी गराउँछु । जे पनि सरकारले गर्दा हुन्छ भन्ने सोच्यो भने त्यो देशका लागि अनिष्ट हुनेछ । खुदै सरकारका लागि पनि अनिष्ट हुनेछ ।’
ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैनः आयोग
यता निर्वाचन आयोगले भने ढुक्कैसँग निर्वाचन हुने र कसैले बिथोल्न नसक्ने बताएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका हुन् ।
शुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताएका हुन् ।
‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल शुरु गरेका हौँ’, भण्डारीले भने ।
शान्ति सुरक्षाका सन्दर्भमा दलको नेता, दलले छानेको उम्मेदवारको विषय आउने गरेको पनि उनले स्मरण गरे ।
सरकार र सुरक्षा निकायका प्रमुखहरूसँग आयोगले गर्दै आएका छलफलका आधारमा अहिले मतदाताको सुरक्षा गर्न सुरक्षा निकाय सक्षम रहेको पाइएको उनले बताए ।
मतदानपछि समेत दायाँबायाँ हुनसक्ने चिन्ता
ओलीको आशंका यतिमै सीमित छैन, उनलाई चुनावमा मतदान भइसकेपछि पनि राज्यका संयन्त्रहरू दुरुपयोग भएर ब्यालेट बक्समा नै दायाँबायाँ हुनसक्ने चिन्ता पनि छ ।
केही दिनअघि अन्तरिम सरकार प्रमुख कार्कीले नवलपुरमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मौसमका कारण हिमाली जिल्लाको चुनाव अर्को मितिमा गर्ने गरी दुई चरणमा चुनाव गर्न सकिने बताएकी थिइन् ।
त्यसलगत्तै ओलीले एमालेको झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा चुनाव दुई चरणमा गर्न नहुने, एकै चरणमा नभ्याइने भए मिति नै सार्नुपर्ने धारणा राखे ।
‘सुन्दैछु, हिमाली भेगमा निर्वाचन हुन नसक्ने भयो, त्यसैले दुई चरणमा निर्वाचन गर्ने ।
अहिले पनि हामी भन्न चाहन्छौँ, भ्याइँदैन भने मिति सार, एकै दिन निर्वाचन हुनुपर्छ । सोझै निर्वाचन भइसकेपछि मत गणना गरिनुपर्छ ।
धाँधली गरेर निर्वाचनको नाटक चल्दैन,’ ओलीले भने, ‘उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिको आँखाबाट एक मिनेट पनि, एक सेकेन्ड पनि बक्सा ओझेल पर्न सक्दैन ।
भोट सकिएपछि तत्काल उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा गन्ने ठाउँमा पुर्याइनुपर्छ । र बक्सा खोलेर तत्काल मत गनिनुपर्छ ।’
ओलीले आफैँले आशंका व्यक्त गरे पनि सिधै आरोप लगाएका थिएनन् ।
तर, उनका विश्वास पात्र, एमाले सचिव महेश बस्नेतले स्पष्ट शब्दमा सरकार सुरक्षा संयन्त्रमार्फत मतपेटिका नै तलमाथि गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौं उपत्यकामा एमालेबाट चुनाव लड्ने उम्मेदवारहरूसँग सञ्चारकर्मीहरूको अन्तरक्रिया कार्यक्रममा अन्तरिम सरकार प्रमुख कार्कीमाथि नै उनले आरोप लगाए ।
हिमाली जिल्लामा चुनाव सम्भव छैन भनेर चैत वा वैशाख अन्तिमतिर सारेर त्यहीँ दौरानमा प्रहरी र सेनाका ब्यारेक तथा क्याम्पहरूमा मतपेटिका राखेर कसलाई हराउनुपर्ने कसलाई जिताउनुपर्ने भनेर हिसाबकिताब गर्ने भन्ने तहको षड्यन्त्रमा स्वयं सरकार संलग्न छ’, बस्नेतले आरोप लगाए, ‘यो कुराको पुस्ट्याइँ स्वयं प्रधानमन्त्रीले राष्ट्रिय सभामा गरेको सम्बोधनबाट भएको छ ।’
यस विषयमा ओली र एमाले मात्रै होइन, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र कांग्रेसका नेताहरूले समेत संशय प्रकट गर्दै एउटै चरणमा चुनाव हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
राजनीतिक दलहरूबाट यस्ता धारणाहरू सार्वजनिक हुन थालेपनि अन्तरिम सरकार प्रमुख कार्कीले एउटै मितिमा चुनाव हुने स्पष्टीकरण दिइरहेकी छन् ।
मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको अवलोकन गर्दै कार्कीले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ, चुनाव । दुई चोटि हुनेवाला छैन, तोकिएकै मितिमा हुन्छ ।
कार्कीले तोकिएकै समयमा निर्वाचन हुने निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरेर आफू घर फर्किने समेत बताइन् ।
तर ओली त्यतिले आश्वस्त हुन नसकेर आफ्नो निर्वाचन क्षेत्र झापा जानुअघि बिहीबार बालुवाटार पुगेर कार्कीसँग भेट गरेका छन् ।
ओलीले सार्वजनिक रूपमा उठाइरहेका प्रश्नहरू कार्कीलाई भेटेरै दोहोर्याएका छन् । त्यसपछि ओली शुक्रबार झापा गएका छन् ।


































