काठमाण्डू, नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन छ।
राजधानीलाई तराईसँग जोड्ने लाइफलाइनका रुपमा हेरिएको द्रूतमार्गको कुल लम्बाई ७०.९७७ किलोमिटर छ।
हालसम्म ४५.६ प्रतिशत काम सम्पन्न भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
सहायक रथी बस्नेतका अनुसार आयोजनामा ७ वटा सुरुङमार्ग र ८९ वटा पुल छन्। द्रूतमार्गको प्रस्थान बिन्दू ललितपुरको खोकना हो भने अन्तिम बिन्दू बाराको निजगढ हो।
द्रूतमार्गको चौडाइ पहाडी भू–भागमा २५ मिटर र तराईमा २७ मिटर रहेको छ।
नेपाली सेनाका अनुसार द्रूतमार्ग ललितपुरमा ९ किमि, काठमाडौँमा ४.६ किमि, मकवानपुरमा ४९.७७ कि मि र बारा जिल्लामा ७.६ किमि पर्छ। जसअन्तर्गत १०.९७९ किमि सुरुङ मार्ग छ।
सात वटा सुरुङमध्ये देवीचौर सुरुङको लम्बाइ १ किमि, सिसौटार सुरुङ ०.३९ किमि, चन्द्राम भीर सुरुङ २.२३७ किमि, महादेवडाँडा सुरुङ ३.४५५ किमि, धेद्रे सुरुङ १.६९१ किमि, लेनडाँडा सुरुङ १.६२३ किमि र मौरी भीर सुरुङको लम्बाइ ०.५८३ किमि छ।
यस्तै, ८९ वटा पुलको कुल लम्बाइ १२.८८५ किमि छ। द्रूतमार्गमा दुई वटा विश्रामस्थल हुनेछन्। यस्तै, खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज र टोल प्लाजा हुनेछन्।
आयोजनाको सम्पन्न गर्ने निर्धारित समय २०८३ चैत मसान्त छ भने अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ छ। तर, अझै पनि खोकनाको विवाद टुंगिएको छैन।


































