काठमाण्डू, कांग्रेस संस्थापन पक्षका पदाधिकारीहरू र पूर्व पदाधिकारीहरूको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको उल्लेख गर्दै कसैले जबर्जस्ती बोलाए त्यो अवैधानिक हुने उल्लेख गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार महाराजगञ्जस्थित निवासमा बोलाएको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेस केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन घोषणा गरेपछि विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको निष्कर्ष निकालेको सहभागी विमलेन्द्र निधिले देशसञ्चारलाई जानकारी दिए।
निधिका अनुसार देशभरका महाधिवेशन प्रतिनिधिलाई अब काठमाडौं आउनुपर्ने जरुरत नरहेको सन्देश प्रवाह गर्ने र चुनावमा होमिन आग्रह गर्ने निर्णय बैठकले गरेको छ।
‘पार्टीको महाधिवेशन बोलाउने जिम्मा केन्द्रीय कार्यसमितिको मात्र हुन्छ, त्यस्तो अवस्थामा सभापति वा कुनै पदाधिकारीले बोलाउने महाधिवेशन स्वतस् अवैधानिक हुन्छ,’ निधिले भने।
यसैबीच कांग्रेसले पुनः कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ । बैठक पुस २१ गते सोमबार दिउँसो १ बजे बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
पुसमा हुने भनिएको पार्टीको महाधिवेशन वैशाखमा सारिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसमा नै विशेष महाधिवेशन गर्ने अडान राख्दै आएका छन् ।


































