२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस एकताबद्ध भएर चुनावमा जानुपर्छ : डा.कोइराला

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र देखिएका सबै प्रकारका विवाद अन्त्य गरेर एकताबद्ध रूपमा निर्वाचनमा होमिनु आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जारी सन्देशमा उनले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्यागेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

डा. कोइरालाले वर्तमान परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता झनै बढेको उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘पाँच दशकपछि पुनः विश्वमा महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थहरू सतहमा आएका छन्।

यस्तो अवस्थामा हामीले श्रद्धेय नेता विपी कोइरालाका विचारलाई मन, वचन र कर्मले पुनः मनन गर्न आवश्यक छ।’

डा.कोइरालाले लोकतान्त्रिक आन्दोलनका अगुवा वीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले आजकै दिन ‘राष्ट्रिय मेलमिलाप’को सन्देशसहित आठ वर्षको भारत प्रवास त्यागेर नेपाल फर्किएको ऐतिहासिक प्रसंग स्मरण गरेका छन् ।

उनले त्यस समय पनि विश्व राजनीतिमा महाशक्तिहरूबिच द्वन्द्व र खिचातानी रहेको उल्लेख गर्दै नेपालजस्तो सानो र संवेदनशील भू–राजनीतिक अवस्थाको देशका लागि राष्ट्रियता र स्वतन्त्रता जोगाउन एकता र मेलमिलाप अपरिहार्य रहेको वीपीको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

उनले पार्टीभित्रको आन्तरिक एकतामार्फत लोकतान्त्रिक मूल्य, राष्ट्रिय हित र समृद्धिको लक्ष्य हासिल गर्न सबै नेता–कार्यकर्तालाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

Untitled
Untitled
Untitled