रसुवा, गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको छ।
बाढीमा धेरैले ज्यान गुमाए भने ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपर्यो।

बाढीका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन्।
नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू बाढीपछि चीनतर्फ नै अड्किएका कारण पाँच महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन सकेको छैन जसका कारण व्यवसायीहरूके आर्थिक सङ्कट झेली रहनु परेको छ।
यसरी नाका क्षेत्र महिनौँ देखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत सकेको छैन।

चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनाका लागि १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य रहेको थियो।
बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति पुर्याउँदा यस नाकाबाट पाँच महिनामा महिनामा झण्डै १४ अर्ब भन्दा बढी राजस्व गुम्न पुगेको छ।

काठमाडौंबाट करिब १३२ किमिको दुरीमा पर्ने यो नाका राजस्व संकलनको हिसाबले देशको पाँचौ ठूलो भन्सार कार्यालयको रुपमा रहेको थियो।
उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुँदै गएको यो नाका ल्हेन्दे नदीमा आएको भीषण बाढीसँगै अहिले ठप्प छ।

चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपालतर्फ अवरोध भएका सडकहरू खुलिसकेको छ।




































