काठमाण्डू, शक्तिशाली भूकम्पमा व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट मेडिकल राहतसहित नेपाली सेनाको जहाज बुधबार बिहान बंगलादेश हुँदै त्यसतर्फ जाने भएको छ ।
नेपाली सेनाको टोलीमा १६ जना सदस्य रहने छन् । १६ जनामध्ये १२ जना सेनाकै मेडिकल टोली रहेका छन् ।
यो विमान बिहीबार नेपाल फर्किने छ । तर, सैनिक मेडिकल र अरु उद्धारकर्मीहरू त्यही रहने छन् ।
म्यानमारको मध्यक्षेत्रमा गत शुक्रबार ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो । अहिलेसम्म २७ सय मानिसको ज्यान गएको र ४५ सय बढी घाइते भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, टर्बोप्रोप इन्जिन भएको सेनाको सीएन–२३५ विमान राहत बोकेर म्यानमार जाने अन्तिम तयारीमा छ ।
उनले म्यानमारमा नेपाली सेनाको जहाज पहिलोपटक जान लागेको बताए ।
छिमेकी मुलुकहरूमा आइपर्ने प्राकृतिक विपत्मा सेनाको जहाज परिचालन भएको सम्भवतः पहिलोपटक हो ।
कूटनैतिक उडानका रुपमा सेनाको जहाजलाई मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि अनुमति जारी गरिसकेको छ ।
यो उडानमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरासहित ५ जना चालकदलको टोली म्यानमार जाँदै छ ।
सैनिक प्रवक्ता केसीले उक्त टोली कम्तीमा ६ दिन म्यानमारमा उद्धार तथा घाइतेहरूको उपचारमा खटिने बताए ।


































