२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राजावादीको उदण्डताले सयौंको रोजीरोटी खोसियो, खण्डहर बन्यो जडीबुटी कम्पनी

Untitled
Untitled
Untitled

काठमाण्डू, राजा फर्काउने नाममा यही चैत १५ गते कोटेश्वरमा राजावादीले देखाएको उदण्डताले नजिकैको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहरमा परिणत भएको छ ।

प्रदर्शनकारीहरुले गरेको आगजनीका कारण कम्पनीको बहुमूल्य मेसिनहरुसँगै उत्पादित सामग्री जलेर खरानीमा परिणत भएसँगै करोडौं रुपियाँको क्षति भएको छ ।

धन्न, सरकारले कफ्र्यु लगाउने सूचना जारी गरेकाले धेरै कर्मचारी समयमै घर फर्केका कारण उनीहरुको ज्यान भने जोगिएको थियो ।

तर, कम्पनीमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका सयांै कामदारको रोजीरोटी भने खोसिएको छ ।

कम्पनीका महाप्रबन्धक संगीता यादवले भनिन्– ‘यहाँ काम गर्ने सबैको मुखको भाग खोसिएको छ ।

उनीहरुको बालबच्चाको पालन, पोषणलगायत सम्पूर्ण जिम्मेवारी अब कसले लिन्छ रु’ भाग्यले बाँचेका ती कर्मचारी तथा कामदारहरुको पनि एउटै प्रश्न छ– ‘हामी त बाँच्यौं तर हामीलाई बचाउने यो घर, ठूलाठूला मेसिन, दर्जनभन्दा बढी सवारीसाधन, तयारी अवस्थामा रहेको औषधि तथा कच्चा पदार्थलाई जोगाउन सकेनौं, सबै जलेर ध्वस्त भएको छ ।

एकछिन अघिसम्म आफूले काम गरेको ठाउँ खण्डहर भएको छ ।

सरकारले पुनर्निमार्णको आश्वासन त दिएको छ तर पूरा कहिले हुने रु त्यतिञ्जेल हामी र हाम्रा बालबालिका कसरी बाँच्ने रु’ यस्ता गम्भीर प्रश्नहरुको उत्तर न त राजावादी आन्दोलनकारीसँग छ, न त सरकारसँग नै ।

सरकारले आन्दोलनलाई निकै हलुका रुपमा लिएकाले र सुरक्षा निकायको कमजोरीका कारण जडीबुटी कम्पनी ध्वस्त भएको कर्मचारीहरुको ठम्याइ छ ।

कम्पनीका योजना तथा बजार व्यवस्थापन शाखा प्रमुख गोविन्द शर्माका अनुसार जडिबुटी कम्पनीमा शुरुमा ढुंगामुढा प्रहार गरिएको र पछि मात्र आगजनी गरिएको थियो ।

आन्दोलनकारीहरु क्रूर रुपमा प्रस्तुत भइरहँदा समयमै सुरक्षा निकायको उपस्थिति हुन नसक्दा र दमकल आइनपुग्दा कम्पनी जलेर ध्वस्त हुन पुगेको हो ।

महाप्रबन्धक यादवसहितका केही कर्मचारीहरु र एकजना विज्ञ कम्पनीको कामकै बारेमा छलफलमा गरिरहेकै बेला एक हुल आन्दोलनकारी केन्द्रमा प्रवेश गरी तोडफोड र आगजनीमा उत्रिएका थिए ।

शर्माले भने– ‘हामी उनीहरुसँग प्रतिकार गर्न सक्ने अवस्थामा थिएनौं । ज्यान जोगाउन कोही झ्यालबाट हाम फालेर नभागेको भए पत्रकार सुरेशकै हालत बनाउने थिए होलान् ।

ती आन्दोलनकारीले सरकारी कर्मचारी मार्नुपर्छ भन्दै लखेटिरहेका थिए । हामी सुरक्षा निकायलाई खबर गर्दै भागिरहयौ ।’

उनका अनुसार भाग्दाभाग्दै आन्दोलनकारीहरुले हानेको ढुंगाले लागेर एक जना कर्मचारी टाउकोमा चोट पनि लागेको थियो ।

कम्पनीका सुरक्षागार्ड अमर रोकाले आफू सादा पोसाकमा भएका कारण मात्र ज्यान जोगाउन सफल भएको बताए ।

उनका अनुसार जडीबुटी कम्पनीभित्र केही सुरक्षाकर्मी भएको भए तापनि आन्दोलनकारीको भीड एकैपटक कम्पनीको ढोका फोरेर भित्र पसेकाले केही गर्न सक्ने अवस्था नै भएन ।

ढोका तोडेलगत्तै आन्दोलनकारीले सुरक्षा गार्डको कक्षमा आगजनी गरेको बताउँदै सुरक्षा गार्ड अमरले भने– ‘यदि म त्यहाँ भएको भए मेरो पनि अकालमा ज्यान जाने रहेछ ।’

झन्डै २ घण्टासम्म तोडफोडमा उत्रिएका आन्दोलनकारीहरुले निर्धक्कसँग तोडफोड सकेर अन्तिममा आगजनी गरे ।

रातको एक बजे उद्योग पूर्ण रुपमा खण्डहर भइसकेपछि मात्र आगो नियन्त्रणमा आएको उनले बताए ।

आन्दोलनकारीको आँखामा नपरेका कारण स्यानिटाइजर उत्पादनका लागि राखिएको ३ वटा ठूला ट्यांकर अल्कोहल र डिजेल जोगिएको थियो ।

त्यसमा आगलागी भएको भए पूरै बस्ती र करोडौं मूल्यको सामान भण्डारण गरेको गोदामघर पनि खरानी हुने त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।

चार घण्टासम्म आगो लाग्दा जडीबुटीको ७० करोड रुपियाँ बराबरको क्षति भएको पूर्वानुमान गरिएको छ ।

पार्किङमा राखिएका १३ वटा गाडी र ६ वटा मोटरसाइकल पूर्ण र ४ वटा मोटरसाइकलमा आंशिक क्षति भएको छ ।

कम्पनीको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यसैबीच गृहमन्त्री रमेश लेखकले स्थलगत अनुगमन गरी उद्योग सञ्चालनमा पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले वातावरणको सुधारलगायत पिछडिएका समुदायहरूको विकास गर्ने र उनीहरूलाई उचित आम्दानी प्रदान गर्ने दृष्टिकोण अघि सारेको थियो ।

सरकारको रेखदेखमा १९८१ सालमा स्थापना भएको यो कम्पनीले नेपालभित्र र विदेशमा औषधि, खाना, सौन्दर्य र स्वास्थ्य उद्योगका लागि छुट्टै पहिचान दिएको छ ।

दुखाइ निको पार्ने विभिन्न खालका तेल उत्पादन गर्ने पहिलो नेपाली कम्पनीका रुपमा स्थापित यो कम्पनीको तरहरा, बेलबारी, तामागढी, महेन्द्रनगर र टीकापुरमा ५ सय हेक्टर जमिनमा जडीबुटीको खेती छ ।

कम्पनीले सन्चो जटा हेयर तेल, सन्चो बाल्म, दुखाइ कम गर्ने तेल, सन्चो हातको स्यानिटाइजर, सिलाजित, पल्मारोसा तेल, लेमनग्रास तेल, तिमुर तेल, मेन्था तेल, तेजपात तेल र चमेली तेललगायतका थुप्रै जडीबुटीहरु उत्पादन गर्दै आएको छ ।

Untitled
Untitled
Untitled