२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

हिउँदे वर्षा नहुँदा हिमाल काला पहाडमा परिणत

Untitled
Untitled
Untitled

काठमाण्डू, सन् २०२५ लाई विश्व हिमाल संरक्षण वर्षका रूपमा मनाइँदै छ । नेपालमा भने वर्षको सुरुवातदेखि हिउँदे वर्षा नहुँदा हिमाल काला पहाडमा परिणत हुन थालेका छन् ।

धेरै हिमालमा अहिले हिउँविहीन जस्तै देखिन्छ । कुनै कुनै हिउँदमा वर्षा नहुनु मौसमको स्वाभाविक चक्र मानिन्छ ।

तर, हिउँदे वर्षा नहुने निरन्तरको प्रवृत्तिले नेपालका हिमाल बिस्तारै काला पहाडमा परिणत हुने दाबी विज्ञहरूले गरेका छन् ।

विश्वमा मौसम परिवर्तनले ल्याएको जलवायु परिवर्तनको प्रभाव नेपालका हिमाल कालो भएर देखिने क्रम बढेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका मौसम वैज्ञानिक डा। मदनलाल श्रेष्ठले बताए ।

उनले भने, “लगातारका वर्षहरूमा हिउँदे खडेरी हुनु राम्रो हैन, हिमाल कालो हुँदै जानु विस्तारै काला पत्थरका पहाड बन्दै जानु हो ।”

अन्नपूर्ण हिमशृङ्खलामा पर्ने माछापुच्छ्रे हिमालको कालो स्वरूप केही दिनयता लगातार तस्बिरहरूमा आइरहेको छ ।

यो क्रम यसै वर्षको हिउँदमा मात्र देखिएको भने हैन् । हिउँदमा हिउँ टम्म भरिएर सूर्यको किरण त्यसमा पर्दा सुनौलो हुने माछापुच्छ्रेको सौन्दर्यमा यस वर्ष पनि कालो पोतिए जस्तो देखिएको श्रेष्ठ बताए ।

केही साताअघि यस्तै गरी कालो भएको माछापुच्छ्रेमा हल्का वर्षा र हिमपातले हिउँको चमक फर्किएको थियो । फेरि अहिले त्यस्तै कालो देखिएको छ ।

यसरी हिमाल सर्लक्कै सकिएर कालो बन्नु भनेको अब माछापुच्छ्रेमा हिउँ अडिने गरी चिसो कम हुँदै गएको भन्ने देखाउने श्रेष्ठ औँल्याए ।

लामो समयको ठुलो हिमपात र वर्षाले त्यो चिसो शक्ति फर्काउन सक्छ तर सानातिना हिमपात र वर्षाले हिउँ अडिन अब कठिन हुने दावी उनले गरे ।

हिउँ सकिएको पहाड सूर्यको किरणले तातिन्छ । उहाँ थप्नहुन्छ, “हिउँ परे पनि त्यो तातोले हिउँ त्यहाँ धेरै समय बस्दैन, चाँडै पग्लन्छ, माछापुच्छ्रेमा बारम्बर हुन थालेको त्यही हो ।”

उनका अनुसार हिमाल हिउँले बन्छ । हिउँको दिगो संरचनाको आधार भनेको हिमनदी हो । जलवायु परिवर्तन र कार्बन उत्सर्जनको प्रभावले हिमालका नदीको अवस्था जटिल बन्दैछ ।

बढ्दो विश्वव्यापी तापक्रमले हिउँ पग्लने क्रम बढेको छ । हिमनदीहरू अब विस्तारै सफा पानीको नदीमा रूपान्तरण हुँदा हिमालको हिउँ र हिमाल जोखिममा पर्दै गएको उनले बताएका छन् ।

यस वर्ष नेपालमा आउने पश्चिमी वायु पश्चिमबाट मध्य र पूर्वी नेपालसम्म पुग्नै सकेको छैन् । पश्चिमबाट आउने र पश्चिमबाटै अन्यत्र जाने क्रम बढेकाले हिउँदे वर्षा राम्रो हुन सकेन् ।

हिउँद सकिन करिब एक महिना मात्र बाँकी रहँदा तापक्रम बढ्न थालेको छ । वायु उत्तरी पाकिस्तानतिर केन्द्रित भइदिँदा त्यता राम्रो वर्षा भइरहेको छ ।

यसले पनि मौसमी चक्रमा परिवर्तन आएको प्रस्ट देखिएको उनले बताए । जलवायु विज्ञ डा.महेश्वर ढकाल पनि हिउँद नसक्दै नेपालका हिमाल काला भएको देख्दा चिन्तित छन् ।

सरकारले हिमाल संरक्षणका लागि यसै वर्ष सगरमाथा संवादको घोषणा गरेर विश्वव्यापी अभियान थाल्दै गर्दा देखिएका काला हिमालले चुनौती बढाएको उनले बताए ।

सगरमाथा संवादको तयारी तीव्र रूपले अघि बढेको औँल्याउँदै उनले अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाएर हिमाल संरक्षण गर्ने लक्ष्य रहेको जानकारी दिए ।

उनले भने , “हिउँदमा कम पानी पर्न थालेको छ किन भन्ने अध्ययन अनुसन्धानलाई जोड दिनुपर्ने देखिन्छ ।” हिमाल कालो मात्र हैन, डढेलो र आगलागीका घटना उच्च बनेको छ ।

खाद्य सुरक्षा प्रणाली, पारिस्थितिक प्रणालीसँगै मानव वन्यजन्तुको द्वन्द्वलाई बढावा दिने कारक पनि जलवायु परिवर्तन बन्न थालेको उनले प्रस्ट पारे ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले हिउँदे वर्षाको प्रणाली कमजोर हुँदाको परिणाम काला हिमाल भएको दर्साए ।

अर्यालले भने , “यो पटक वर्षा र हिमपात दुवै राम्रो नहुँदा हिमालमा हिउँ कम भयो र कतै काला हिमाल देखिने क्रम बढे ।”

बुधरबारसम्मका लागि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा र हिमपात गराउने पश्चिमी वायु आएको छ ।

तर, त्यो पनि मध्य र पूर्वसम्म आउने सम्भावना नरहेको उनले जानकारी दिएका छन् । बदली र जलवाष्पले चारैतिर ढाकेर वर्षा हुन पाएको भए राम्रो हिमपात हुन्थ्यो ।

त्यसो नहुँदा केही भेगमा मात्र भएका वर्षाले सबैतिरका हिमाल सेता बनाउन नसकेको उनको ठम्याइ छ ।

हिउँद सकिन लाग्दा बढेको तापक्रमले स्थानीय वायुको सिर्जना गरेमा पश्चिमी वायुसँग मिसिएर सबैतिर वर्षा गराउने सम्भावना अझै कायम रहेको अर्यालले बताए ।

त्यसो नहुँदासम्म हिमालमा हिउँको कमी कायमै रहने उनले बताए ।

Untitled
Untitled
Untitled