काठमाण्डू, विश्वभर छरिएर रहेका नेपाली सेफहरुको आयोजनामा पहिलो पटक नेपाली फुड फेस्टिवल हुने भएको छ ।
नेपालमा रोजगारीको ग्यारेण्टी नभएपछि आफ्नो बालबच्चाको उज्जवल भविश्यको लागि विदेशमा पशिना बगाई रहेका नेपाली भान्छेहरुले पहिलो पटक नेपालमा भेला भएर आफ्नो शिप प्रर्दशन गर्ने लागेका हुन् ।

नेपाली परिकारहरूलाई विश्व बजारमा चिनाउने तथा सेफहरूका पेशागत चुनौती र अवसरहरूबारे छलफल गर्न मञ्च उपलब्ध गराउने उद्देश्यले फेस्टिवल हुन लागेको अन्तराष्ट्रिय सेफ सोसाइटीका केन्द्रीय संयोजक अरुण अधिकारीले जानकारी दिए ।
नेपाली सेफ सोसाइटी र अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा फुड फेस्टिवल हुन लागेको हो ।

आगामी वैशाख ६ गते भृकुटीमण्डप स्थित प्रर्दशनी मार्गमा हुन लागेको यो कार्यक्रमको तयारीमा यतिबेला विश्वभरका नेपाली भान्सेहरु जुटिरहेका छन् ।
कार्यक्रममा मध्यपुर्व , युरोपका विभिन्न मुलुक, अमेरिका लगायत ३६ देशमा कार्यरत ५ हजार भन्दा बढी सेफ प्रतिनिधिरुले सहभागिता जनाउँदै छन् ।

फेस्टिवलमा देश तथा विदेशका गरी ४० वटा खानाका स्टल राखिनेछ । जसमा नेपाली सेफहरुले अन्तराष्ट्रिय बजारमा तयार पार्ने खानाको स्वाद लिन पाइने छ ।
फेस्टिवलमा नेपाली परम्परागत परिकारदेखि आधुनिक परिकारहरूको प्रदर्शनी,सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्डः उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताव विमोचन, राष्ट्रिय कलाकारहरुको उपस्थितिमा नेपाली गीत–संगीत र लोपउन्मुख झाकीँ सहितका नृत्य कला प्रस्तुत गरिनेछ।



































