रुकुमपश्चिम, माघको कठ्याङ्ग्रिँदो जाडो, मडारिएको बादल, मुटु चिस्याउने सिरेटो । घरवासविहीन भूकम्पपीडित परिवारलाई ओत लगाउन जस्तापाता, काठ बेरेर बनाइएका अस्थायी टहरा ।
जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित दोस्रो हिउँदमा पनि यिनै टहरामा दयनीय अवस्थामा बसेका छन् ।
गत वर्षको हिउँदमा त्रिपालमुनि कठ्याङ्ग्रिएका र गर्मीयाममा टहराभित्र उकुसमुकुस भएका पीडित यो जाडोमा पनि टहराभित्रै छन् ।
टहरामा कठ्याङ्ग्रिएका मात्रै छैनन्, छानाको शीतसँगै आँखाबाट आँसु चुहाउन बाध्य छन् । आठबिसकोट नगरपालिका–१३ का नारायण खड्काले छानाबाट तप तप शीत चुहिने गरेको बताए ।
खड्काले भने, “विपत्ति पनि गरिबकै घरमा आयो । शीतले सिरक र आँसुले सिरानी भिज्ने गरेको छ ।” चिसोकै कारण बिहानपल्ट आँखा सुन्निने, ओढेको सिरक भिज्ने गरेको खड्काले जानकारी दिए ।
जाजरकोटको नलगाड नगरपालिका–१, ठूलाबगरकी सावित्री रानाले भूकम्पका कारण घरमा च्यापिएकी नाबालिका छोरीको साथमा माइतीमै बस्दै आएको र आफ्नो शरीर सग्लो नरहेको बताए ।
भूकम्पमा घाइते भएपछि माइतीको टहरामा सहारा लिएकी रानाले बुढा बाआमा र नाबालिका छोरीको लालनपालन रेखदेख गर्नुपर्ने जिम्मेवारीले आफ्नो स्वास्थ्य उपचार नै गर्न नपाएको जनाए ।
भूकम्पले परिवार नै तहसनहस पारेकाले ‘कता जाउँ र के गरौँ’ को अवस्थामा रहेको उनले उल्लेख गरे ।
नलगाड नगरपालिका–१, कल्पतका जनक नेपालीले भूकम्पपीडितका पीडा झन् थपिँदै गएको उल्लेख गरेका छन् ।
नेपालीले भने , “भूकम्पमा घाइते हुँदा गतिलो उपचार पाइनँ, ज्यान आधा छ, घरमा अन्नको दाना छैन, उब्जनीले तीन महिनाभन्दा बढी खाना पुग्दैन् ।
घरमूली कालापहाड जाँदा घरको टहरामा बालबच्चा र ज्येष्ठ नागरिकको बिचल्ली हुने अवस्था छ ।” उनले ज्येष्ठ नागरिक र बालबच्चालाई चिसोबाट जोगाउन चुनौती रहेको जनाए ।
आगो बाल्नलाई घरबाहिर सिरेठोले नमिल्ने र टहराभित्र ठाउँकै अभाव हुने गरेको छ । आठबिसकोट नगरपालिका–१४ का वडाध्यक्ष हुकुमबहादुर पुनले टहराको बसाइँ थप जोखिम बन्दै गइरहेको बताए ।
उनले आफ्नो परिवार पनि अस्थायी टहरामै बस्ने गरेको, छानाबाट शीत चुहिने र बिहान उठ्दा सिरक भिज्ने गरेको जनाए ।
टहराको शीतसँगै विपत्को पीडाले जनताका आँसु पनि झर्ने गरेको वडाध्यक्ष पुनको भनाइ छ ।
यता भूकम्प गएको करिब १५ महिनासम्म पनि सरकारले अस्थायी आवास निर्माणबापतको दोस्रो किस्ताको रकमसमेत अधिकांश पीडितले प्राप्त गर्न सकेका छैनन् ।
२०८० कात्तिक १७ गतेको भूकम्पका कारण जाजरकोटमा ४८ हजार ५१६, रुकुमपश्चिममा ३४ हजार ९९७ र सल्यानमा चार हजार ४०७ घरमा क्षति पुगेको तथ्याङ्क छ ।
भूकम्पले जाजरकोट र रुकुमपश्चिममा १५४ जनाको ज्यान गएको थियो । पुनर्निर्माणको काम समयमै नहुँदा पीडितहरू अझै पनि अस्थायी टहरामा कष्टकर जीवनयापन गर्न बाध्य छन् ।
यसको मारमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा आर्थिक रूपमा विपन्न वर्गका नागरिक परिरहेका छन् ।


































