२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

जावलाखेल पुर्‍याइयो वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ

Untitled
Untitled
Untitled

ललितपुर, वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्‍याएको छ ।

लगनखेलबाट तानेर रथलाई जावलाखेल पुर्‍याएसँगै करिब तीन महिना लामो रथयात्रा समाप्त भएको छ । साउन २० गते जावलाखेलमा भोटो देखाएसँगै यो जात्रा सकिन्छ ।

गत वैशाख २७ गते रातो मत्स्येन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गराएसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको थियो ।

रातो मत्स्येन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गराएपछि यो जात्रा विधिवत् रूपमा सुरु भएको थियो।

रथयात्रा सुरु भएपछि नगरका विभिन्न ठाउँहरू गावहाल, मङ्गलबजार, सुनधारा, लगनखेल हुँदै आज रथलाई जावलाखेलमा पुर्‍याइएको हो ।

आजै मत्स्येन्द्रनाथको दर्शन गर्न ललितपुरकी कुमारीलाई स्थानीय कुमारीपाटीमा राखिएको थियो ।

रथयात्राको अन्तिम दिन उपत्यका आसपासका सातगाउँवासीले संयुक्त रूपमा रथलाई तानेर जावलाखेल पुर्‍याउने परम्परा रहिआएको छ । यी सातगाउँहरुमा सतुंगल, नैकाप, मच्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर हुन् ।

करिब १६ सय वर्ष अघि सुरु भएको मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर भोटो देखाएको दिन समाप्त हुन्छ ।

भोटो देखाइसकेपछि रातो मत्स्येन्द्रनाथको मूर्तिलाई रथ बाट झिकेर खटमा राखी सोही दिन बुङ्मती पुर्‍याउनुपर्ने परम्परा रहिआएको छ ।

रातो मत्स्येन्द्रनाथलाई सूर्य दक्षिणायन भरि १२ पक्ष अर्थात् ६ महिना बुङ्मतीमा र सूर्य उत्तरायण भरि १२ पक्ष अर्थात्‌ पछिको ६ महिना पाटनको मच्छिन्द्र बःहालमा राख्ने परम्परा रहेको छ ।

रातो मत्स्येन्द्रनाथलाई लिच्छवी राजा जयदेव द्वितीयले आसामको कामारूपबाट ल्याएका भन्ने धार्मिक विश्वास छ ।

रातो मत्स्येन्द्रनाथलाई रक्तावलोकितेश्वर, बुंगमलोकेश्वर, मच्छिन्द्रनाथ, लोकनाथ, बुंगद्यो आदि नामले पनि पुजिने गरिन्छ ।

हिन्दू धर्मावलम्बीहरूले रातो मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीहरूले ‘पद्म पाणि’ ९पञ्चबद्धमध्येका चौथो बुद्ध० का रूपमा पुज्ने गर्दछन् ।

Untitled
Untitled
Untitled