२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर, चिसोबाट कसरी जोगिने भन्ने चिन्ता

Untitled
Untitled
Untitled

जाजरकोट, रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी बस्छन् ।

त्रिपालको छेउमै सार्वजनिक धाराबाट बगेको ठूलो पानीको आहाल छ । मौसमी चिसो बढ्दै छ । भूकम्पबाट त भागेर जोगियौँ तर चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले उनलाई सताइरहेको छ ।

स्थानीय पाँच जना र सडक बनाउन बसेका छ जना गरेर ११ जनाको ज्यान छेपारेमा भूकम्पले लियो । उनले भने , “बच्चा छ, त्रिपालबाट रातभर पानी चुहिन्छ, भुइँबाट पनि पानी रसाइरहेको छ, खोकी लाग्न थालिसक्यो ।” हिउँद सुरु हुन लाग्दा चिसो स्याँठ चल्न थालेको छ । त्यसलाई त्रिपालले नधान्ने स्थानीय बताउँ छन् ।

दुई जना वृद्ध भूकम्प प्रभावितको चिसोले मृत्यु नै भयो । उनीहरू दीर्घरोगी भएकाले पनि चिसो सहन नसकेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय खलङ्गाले जनाएको छ ।

छेपारे र चिउरीमा नागरिक आवाज नामक संस्थाले गाउँमा खानाको मेस चलाइदिएको छ । सबै गाउँले बिहान बेलुकाको खाना त्यहीँ खान्छन् ।

नखाने आफैँ बाहिर पकाउँछन् । सडक छेउका सबै घर छेपारेका खण्डहर बनेका छन् । भत्केको घर हेर्दै त्रिपालमा बसिरहेका स्थानीयले चिसोले सताउन थालेपछि विचलित बन्न थालेका हुन् ।

समयमै राम्रो राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका हुन् । कात्तिक १७ गते ६.५ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्केपछि भूकम्प प्रभावितहरू खुला आकाशमुनि बसिरहेका छन् ।

तत्काल दिइएको राहतका त्रिपाल र फोम र खाद्य सामग्री विभिन्न सङ्घसंस्थाले बाँडेका थिए । तर, त्रिपालले चिसो थेग्नुभन्दा अझ बढी चिसो बनाउँदा भूकम्प प्रभावित चिसोले थलिन थालेका छन् ।

बलबालिका, सुत्केरी र वृद्धवृद्धा चिसो सहन नसकी बिरामी परेका छन् । सबैभन्दा धेरै मानवीय क्षति भएको नलगाड–१, चिउरीका सन्तोष कुमाई त्रिपालको भरमा केटाकेटी र बुढाबुढी जोगाउन गाह्रो परेको बताउँछन्

रिम्नाकी मनीषा चलाउनेको घर भत्केपछि पाँच जना छोरीसहित त्रिपालमुनि बसेका छन् उनले खुला आकाशमुनि सुतिरहेकी छोरी देखाउँदै भने , “यी दुई बिरामी भएर सुतिरहेका छन्, चार पाँच दिन त जसोतसो कटायौँ तर अब चिसो सहन नसकेर बिरामी हुन थाले ।”

दुई जना पनि मुस्किलले अट्ने त्रिपालमा पाँच जना बस्न गाह्रो भएको उनी बताउँछन् । भारतमा काम गर्न गएका श्रीमान् फर्केर नआउँदा उनलाई बिरामी छोरीको उपचारमा समस्या पर्न थालेको छ ।

उनी जस्तै घर भत्केपछि ठुम्रकुमारी राना बिहानको कठ्याङ्ग्रिने चिसोमा चउरमा भात पकाउँदै थिइन् । उनले भने , “चिसोले रुघा लागिसक्यो कसरी बाँचिएला अब खै ।”सरकारले दिने भनेको राम्रो राहत अझै नआइपुगेको सुनीलकुमार रानाले बताए ।

राहत दिँदा पनि आफ्नो पार्टीका मान्छे छानी छानी दिने गरेको गुनासो उनले गरे ।

दल्लीकी प्रेमकला विकको घर खण्डहर भएपछि त्रिपालमै थिइन । उनले भनिन , “शीत चुहिएर ओड्ने ओछ्याउने सबै भिज्छ, चिसाले केटाकेटी बिरामी हुन थालिसके ।”

प्रभावितले त्रिपालभन्दा पनि टेन्टको माग गरे पनि टेन्ट कसैले ल्याएका छैनन् । नेपाली सेना र सशस्त्र प्रहरीले बनाएका एकाध टेन्टबाहेक सबै पीडित त्रिपालमा बसिरहेका छन् ।

राहत ल्याउनेले पनि प्रायः सबैले त्रिपाल बोकेर आउँदा प्रभावित खिन्न छन् । सबिन विकले भन्नुभयो, “सरकारको राहतमा टेन्ट छ भन्ने सुनेको छु तर अहिलेसम्म पनि आएन ।”

सरकारले एकद्वार प्रणालीमा वितरण गर्ने भनेको राहतको चाङ जाजरकोटको सदरमुकाम खलङ्गामा थुप्रिएको छ । अन्य धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू पनि टेन्टभन्दा त्रिपाल नै बोकेर प्रभावित क्षेत्र पुगिरहेका छन् ।

प्रायः राहत सामग्रीमा त्रिपाल नै आएकाले समस्या भएको जिल्ला प्रशासन कार्यालयका कर्मचारी नवीनकुमार सिंहले बताए । आएका राहत स्थानीय पालिका मातहतबाट वितरण भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार टेन्ट धेरै आएको छैन । तर, प्रत्येक पालिकालाई दस वटाको दरले वितरण गर्ने तयारी भइरहेको छ ।

चिसोका कारण त्रिपालभन्दा टेन्टको माग भए पनि राहतमै नभएकाले समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दस वटा टेन्ट सुत्केरी, वृद्धवृद्धा र बालबालिका धेरै भएका परिवारलाई दिइने गरी प्रशासन कार्यालयले निर्णय गरेको छ ।

तर, स्थानीयले पालिकामार्फत जुन राजनीतिक दलको पहुँचकाले मात्र पाउने भएकाले सबैलाई समान रूपमा वितरण गर्न माग गरेका छन् ।

कति घर क्षति भयो भन्ने यकिन विवरण पनि प्रशासनले तयार गर्न सकेको छैन । जसका कारण राहत वितरणमा समस्या देखिएको छ ।

Untitled
Untitled
Untitled