काठमाडौं, सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ नभएको तीन महिना भएको छ। सरकारले लाइसेन्स छपाइमा चरम ढिलाइ गर्दा लाखौँ सवारी चालकहरू मर्कामा पर्दै आएका छन् ।
यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ । सरकार भने सीमित सङ्ख्याको कार्डको उपलब्धताका कारण वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूलाई मात्रै कार्ड छापेर दिइरहेको छ ।
विद्युतीय चिप्ससहितको कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि लाइसेन्स छपाइ ठप्प छ । अन्य नियमित प्रक्रियाबाट लाइसेन्स पाउने आशा गरिरहेका थुप्रै सवारी चालकहरू लाइसेन्सविहीन छन् ।
जर्मनीको म्युहलबाअर कम्पनीले १२ लाख कार्ड आपूर्ति गर्ने गरी ३ महिनाअघि नै सम्झौता भएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु बताउँछन् ।
तर, लाइसेन्स प्रणाली चलाइरहेको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले जर्मन कम्पनीको कार्ड यो प्रणालीमा छपाइका लागि फिट हुने गरी पर्सनलाइजेसन गर्न समय लगाएको उनको भनाइ छ ।
यसले गर्दा कार्डको आपूर्ति ढिला भएर छपाइ प्रभावित हुन पुगेको बताइएको छ । हाल देशभर दैनिक ३ देखि ५ हजारले लाइसेन्स परीक्षा पास तथा नवीकरणका लागि प्रक्रिया पूरा गर्छन् ।
तर, सरकार भने भएको एउटा छपाइ मेसिनबाट थोरै लाइसेन्स छपाई गरिरहेको थियो। अहिले त्यो पनि बन्द छ।।
छाप्न बाँकी कार्डको संख्या नै आपूर्ति हुन लागेको कार्डभन्दा बढी भएपछि विभाग अर्को चरणमा कार्ड आपूर्तिको ठेक्का गर्ने तयारीमा छ ।


































