२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

झापामा लम्पी स्किनबाट दुई सय पशु मरे, १९ हजार बढी सङ्क्रमित

Untitled
Untitled
Untitled

विर्तामोड, झापामा लम्पी स्किनबाट अहिलेसम्म दुई सय पशु चौपाया मरेका छन्। १९ हजार पशु सङ्क्रमित भएको जिल्ला पशु सेवा केन्द्र झापाले जनाएको छ।

जिल्लाका सबै पालिकामा यो समस्या देखापरेको र यसमध्ये झापाको गौरादह , कचनकवल , दमक , बाह्रदशी , कमलमा सङ्क्रमण बढी देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र झापाका प्रमुख शीतल भट्टराईले जानकारी दिए ।

एक महिनाअघि गौरादहमा सबैभन्दा बढी सङ्क्रमण रहेकोमा अहिले कचनकवलमा सङ्क्रमणको दर उच्च देखिएको भट्टराईको भनाइ छ।

झापा जिल्लामा १९ हजारको हाराहारीमा पशु चौपायामा लम्पी स्किन देखिएको पशु सेवा केन्द्र भद्रपुरका प्रमुख भट्टराईले बताए ।

पशुमा देखिएको यस भाइरल रोग अहिले सुधारोन्मुख रहेको बताइएको छ। झापामा योसँगै सम्बन्धित समस्या बढेसँगै कतिपय स्थानमा पालिकाका तर्फबाट र कतिपय ठाउँमा पशुपालक किसान आफैले लम्पी स्किनविरुद्ध भ्याक्सिन लगाउन सुरु गरिसकेको पाइएको छ।

पछिल्लो समय झापामा भन्दा यो समस्या इलाममा बढी देखापरेको पाइएको छ। इलाममा २१ हजार पशु सङ्क्रमित भएको र ६८० वटा पशु मरेका छन्।

यता दमक नगरपालिकाले १० लाख बराबरको भ्याक्सिन खरिद गरेर नगरभित्रका पशु चौपायलाई लम्पी स्किनविरुद्धको भ्यासिन लगाउन सुरु गरेको पशुसेवा शाखा दमकका प्रमुख गणेशकुमार प्रधानले जानकारी दिए ।

हाललाई रोग नलागेका गाई वस्तुलाई मात्रै भ्याक्सिन लगाउन थालेको प्रधानको भनाइ छ।

Untitled
Untitled
Untitled