२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

भक्तपुरको चाँगुनारायणमा रहेको पुरातात्त्विक सम्पदा झौखेलधारा मासेर संरचना निर्माण

Untitled
Untitled
Untitled

भक्तपुर, भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेलधारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा मासेर धमाधम भौतिक संरचना निर्माण भइरहेको छ ।

२०७० सालमा इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले विभिन्न समयमा गरिएको अनुसन्धानबाट उक्त क्षेत्रमा पुरातात्त्विक सम्पदा भेटिएको सार्वजनिक गरे ।

अहिले सोही सम्पदा क्षेत्रमा स्थानीयले धमाधम किरियापुत्री भवन निर्माण गरिरहेका छन् ।

डा. श्रेष्ठले एक दशकअघि सो क्षेत्रमा लिच्छविकालीन शिवदेव र अंशुवर्माको शिलालेखसँगै बौद्ध, चैत्य तथा प्राचीन पोखरी रहेको अनुसन्धानबाट पुष्टि गरिएको बताए ।

उनका अनुसार साबिक पोखरी रहेको सो क्षेत्रमा अहिले स्थानीयले पोखरी मासेर किरियापुत्री भवन बनाउँदै छन् ।

उनले भने , “सम्पदा मासेर भौतिक संरचना निर्माण हुनु सम्पदामाथिको अपमान हो, यस्तो कार्य तत्काल रोकिनुपर्छ ।”

सम्पदा क्षेत्रमा निर्माण भइरहेको भौतिक संरचना तत्काल रोक्न स्थानीय सम्पदाप्रेमीले चाँगुनारायण नगरपालिका र पुरातत्त्व विभागअन्तर्गत भक्तपुर दरबार हेरचाह अड्डालाई ध्यानाकर्षण गराएका छन् ।

अहिले पनि अंशुवर्माको शिलालेखमा चाँगुनारायण ९थमखोप्रिङ्ग दङ्ग्र० माथिल्लो भक्तपुरको सहर थियो भन्ने उल्लेख छ ।

उनले उक्त शिलालेखबाट चाँगुनारायण क्षेत्र प्राचीन सहर थियो भन्ने प्रस्ट भएको उल्लेख गर्दै अहिले पनि ती सम्पदा सोही स्थानमा रहेको बताए ।

भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले सम्पदा क्षेत्रमा स्थानीयले भौतिक संरचना बनाएको दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाको प्रारम्भिक अनुगमनबाट पुष्टि भएको बताए ।

उनले कार्यालयले छिट्टै थप अनुगमन गरी निर्माणाधीन किरियापुत्री भवन निर्माण कार्य रोक्न चाँगुनारायण नगरपालिकालाई परिपत्र गर्ने तयारी गरिएको जानकारी दिए ।

स्मारक संरक्षित ऐनमा संरक्षित स्मारक क्षेत्रभित्र कसैले टेलिफोन वा विद्युत् लाइन जडान गर्न, खानेपानी वा ढलका लागि जमिन खन्न, सडक बनाउन वा मर्मत गर्न, चलचित्रको सुटिङ गर्नस मेलापर्व, नाचगान, सवारीसाधनको पार्किङ र पोस्टर टाँस्नसमेत पुरातत्त्व विभागबाट स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।

उक्त संरचना निर्माण गर्दा कसैले पनि पुरातत्त्व कार्यालयबाट स्वीकृति नलिएको हेरचाह अड्डाले जनाएको छ ।

चाँगुनारायण नगरपालिका–३, (झौखेल)का वडा सचिव पशुपति गैँडाले झौखेलधारास्थित पुरातात्त्विक क्षेत्रमा स्थानीयले किरियापुत्री भवन निर्माण गरेको स्वीकार गरे ।

अहिले उक्त किरियापुत्री भवन निर्माण कार्य रोक्न आग्रह गरिएको जानकारी दिँदै सरोकारवालासँग थप छलफल गरेर निर्माण कार्य पूर्ण रूपमा बन्द गरिने बताए ।

 

Untitled
Untitled
Untitled