२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

आज अक्षय तृतीया, सातु खाएर तथा दान गरेर मनाइँदै

Untitled
Untitled
Untitled

काठमाडौँ, आज अक्षय तृतीया, आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ ।

आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबीच विवाह भएकाले आजको दिन विशेष रूपमा लिइने गरिन्छ ।

राजा भगीरथको तपस्याबाट गङ्गाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए।

यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारतलगायतका हिन्दु धर्मावलम्बीहरूले जौको सातु खाएर वा दान दक्षिणा दिएर यो पर्व मनाउँछन् ।

अक्षय तृतीयामा मुख्यतः सातु खाने चलन रही आएको छ । यस दिनमा जौ‌ गहुँलगायतबाट बनेका सातु खाने चलन छ । यसले शीतलतासमेत दिने भएकाले हिन्दु धर्ममा जौ‌लाइ पवित्र मानिन्छ ।

बढ्दो गर्मीलाई शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको सातु खाने चलन छ ।

आज माटो, तामा वा पित्तलको घडामा सर्बत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरूपका भगवान्को निवास हुने मान्यता छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्बत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।

आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्बत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुने धार्मिक विश्वास छ ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्बत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्त्व बढेको हो ।

हरेक वर्ष अक्षय तृतीयाका दिन सुनका गहना किन्ने चलन छ । यस दिन किनेको सुन सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ ।

यस दिन किनेको वा लगानी गरेको सुन कहिल्यै समाप्त नहुने जनविश्वास छ । अक्षय तृतीयाको दिन भगवान् विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम् रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ ।

यस पर्वमा सुन वा गरगहनाबाट बनेका नयाँ वस्तुको किनमेल गर्नुलाई निकै शुभ मानिन्छ । स्कन्द पुराणका अनुसार यस दिन गरेको शुभ कर्म र दानले पुण्य अक्षय पुण्य प्राप्त हुनेछ ।

Untitled
Untitled
Untitled