२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रवि लामिछानेको भारत भ्रमण तालिका सार्वजनिक, जेठ १८–२२ सम्म दिल्ली र अयोध्या जाने

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर राजनीतिक चासो बढिरहेका बेला पार्टीले भ्रमणको औपचारिक कार्यक्रम प्रस्थानको ठीक अघिल्लो रात मात्र सार्वजनिक गरेको छ ।

भारतीय जनता पार्टी ९भाजपा० ले निमन्त्रणासहित भ्रमणबारे जानकारी सार्वजनिक गरेपछि रास्वपाले पनि आफ्नो धारणा र तालिका सार्वजनिक गरेको हो ।

रास्वपाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सभापति लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहनेछन् ।

भ्रमण भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको जनाइएको छ ।

पार्टीका अनुसार भ्रमणका क्रममा लामिछानेले नयाँदिल्लीमा राजनीतिक तथा कूटनीतिक तहका विभिन्न भेटवार्ता गर्नेछन् ।

भारतीय सत्तारुढ दल भाजपा नेतृत्वसँग छलफल गर्नुका साथै नेपाल–भारत सम्बन्ध, समसामयिक राजनीतिक विषय र आपसी हितका मुद्दामा संवाद हुने अपेक्षा गरिएको छ ।

रास्वपाले भ्रमणलाई केवल राजनीतिक भेटघाटमा सीमित नराखी प्रवासी नेपाली समुदायसँगको अन्तरक्रियाको अवसरका रूपमा पनि प्रस्तुत गरेको छ ।

भारतमा बसोबास गर्ने नेपाली समुदाय, शुभेच्छुक तथा समर्थकहरूसँग सभापति लामिछानेको भेटघाट कार्यक्रम तय गरिएको बताइएको छ ।

भ्रमण तालिकामा धार्मिक आयाम पनि जोडिएको छ । पार्टीका अनुसार लामिछाने व्यक्तिगत कार्यक्रमअन्तर्गत अयोध्या जानेछन् ।

पछिल्ला वर्षहरूमा भारतीय राजनीतिक वृत्तमा धार्मिक कूटनीतिक महत्व बढिरहेका बेला अयोध्या भ्रमणलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

भारत भ्रमणमा लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी हुनेछन् ।

रास्वपाले नयाँदिल्लीस्थित नेपाली दूतावासले भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता र कार्यक्रम व्यवस्थापनमा समन्वयात्मक सहयोग गरिरहेको जनाएको छ ।

राजनीतिक वृत्तमा भने भ्रमणको समय, कार्यक्रम सार्वजनिक गर्ने ढाँचा र भारतीय पक्षबाट पहिला सूचना बाहिरिनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
रास्वपाले आफ्नो सभापतिको भ्रमणबारे औपचारिक जानकारी दिनुअघि नै भाजपाले विवरण सार्वजनिक गरेको विषयले कूटनीतिक तथा राजनीतिक सन्देशबारे थप चर्चा सुरु गराएको छ ।

Untitled
Untitled
Untitled