२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भैरहवामा क्यासिनोमा प्रहरी छापा, म्यानेजरसहित १९ जना पक्राउ

Untitled
Untitled
Untitled

भैरहवा, सिद्धार्थनगर नगरपालिका–१० मा रहेको रोयल कालिङ्गा क्यासिनोमा अवैध रूपमा जुवातास खेलाइरहेको सूचनाका आधारमा प्रहरीले आकस्मिक छापा मार्दै म्यानेजरसहित १९ जनालाई पक्राउ गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सञ्चालन गरेको अपरेसनका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गौतमबुद्ध इन्टरनेसनल होटलभित्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकामध्ये ४ जना जुवा सञ्चालनमा संलग्न रहेको देखिएको छ भने अन्य १५ जना जुवा खेलिरहेको अवस्थामा भेटिएका हुन् ।

पक्राउ परेकामध्ये अधिकांश रुपन्देहीका बासिन्दा रहेका छन् भने काठमाडौं, ललितपुर, गुल्मी र पर्साका व्यक्तिहरू पनि संलग्न रहेको खुलेको छ ।

छापामारीका क्रममा प्रहरीले ९५ हजार ५ सय रुपैयाँ नगद, १७ वटा मोबाइल फोन र करिब २०० थान क्यासिनो क्वाइन बरामद गरेको जनाएको छ ।

प्रहरीले घटनामा संलग्न सबैमाथि जुवासम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

Untitled
Untitled
Untitled