२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँमा रहेका १० कार्यालयबाट गर्यो एक लाख ३२ हजार क्विन्टल धान खरिद

Untitled
Untitled
Untitled

काठमाण्डू, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँमा रहेका १० कार्यालयबाट एक लाख ३२ हजार क्विन्टल धान खरिद गरेको छ ।

गत कात्तिक ११ देखि धनगढीबाट धान खरिद गर्न शुरु गरेको कम्पनीले पुस २१ सम्म विभिन्न १० वटा केन्द्रबाट उक्त परिमाणमा धान खरिद गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले धान खरिदको निर्धारित कोटा पूरा भएपछि पाँच केन्द्रबाट धान खरिद स्थगन गरिसकेको जानकारी दिए ।

उनका अनुसार धनगढी, महेन्द्रनगर, नेपालगन्ज, राजापुर र बिर्तामोड केन्द्रबाट कोटा अनुसार र कतिपयमा कोटाभन्दा बढी धान खरिद भइसकेकाले हाललाई स्थगन गरिएको हो ।

कम्पनीले सबैभन्दा बढी कोटा तोकेको धनगढी र राजापुर केन्द्रले लक्ष्यभन्दा बढी धान खरिद गरेका छन् ।

धनगढीमा ३५ हजार क्विन्टलको सुरुवाती कोटामा थप गरी करिब ३९ हजार क्विन्टल र राजापुरमा मोटो र मध्यम गरी करिब ३० हजार क्विन्टल धान खरिद भएको छ ।

यस वर्ष खाद्य कम्पनीले देशका विभिन्न १३ केन्द्रबाट धान खरिद गर्ने भनेकोमा लहान, जुम्ला र पोखरामा अझै धान खरिद प्रक्रिया शुरु हुन सकेको छैन ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यले धान खरिद शुरु नभएका तीन केन्द्रबाट मसिना धान खरिद गरिने र त्यहाँका लागि जुटको बोरा अभाव भएर केही ढिला भएको जानकारी दिए ।

उनका अनुसार जेनजी आन्दोलनका बेला लाहानको गोदाममा रहेका जुटका बोरा चोरी भएकाले अभाव भएको हो ।

लहान केन्द्रले कोटा बढाउनुपर्ने माग गरेको र हाल विभागसँग बोराको मौज्दात कम भएकाले समस्या देखिएको छ । हाल बोरा खरिदको प्रक्रिया शुरु गरिसकेका छौँ ।

कम्पनीले जुम्लाबाट मार्सी र पोखराबाट जेठोबुढो (उन्नत जात) धान खरिद गर्ने योजना रहे पनि ती धान पाउन समस्या भएपछि खरिद प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ ।

कम्पनीका विराटनगर, भैरहवा, जनकपुर, वीरगन्ज र तुलसीपुर केन्द्रबाट धान खरिद भइरहेको छ ।

कम्पनीका अनुसार चालू आव २०८२/८३ मा कम्पनीले एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित ७० करोड रुपियाँ बजेट छुट्याएको छ ।

गतवर्ष कम्पनीले सात लाख तीन हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर दुई अर्ब ६५ करोड रुपियाँ बजेट छुट्याएको थियो ।

गतवर्ष व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर किसानको धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन ।

गत वर्ष एक लाख २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो ।

यस वर्ष निजी व्यापारीले किसानलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा आठ सयदेखि एक हजार सस्तो मूल्य दिएको हुँदा कम्पनीलाई लक्ष्य पूरा गर्न समस्या नभएको कम्पनीले जनाएको छ ।

कम्पनीले औसतमा मोटा धान बजार मूल्यभन्दा आठ सय रुपियाँ र मध्यम छ सयभन्दा बढी रुपियाँमा धान खरिद गरेको जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत आचार्यले यस पटक बजार मूल्यभन्दा कम्पनीले महँगो मूल्यमा धान खरिद गर्नु परेकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मूल्य शोधभर्ना गरिदिन माग गरेको जानकारी दिए ।

उनले मन्त्रालयले कम्पनीलाई बजार मूल्य र कम्पनीले खरिद गरेको बिचको मूल्यको रकम उपलब्ध गराएमा कम्पनीले कोटाभन्दा बढी धान खरिद गर्न सक्ने पनि उहाँले जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ निर्धारण गरेको छ ।

कम्पनीका अनुसार धान खरिदबापतको रकम सोझै किसानको बैङ्क खातामा अनलाइन माध्यमबाट जम्मा गर्दै आएको छ ।

Untitled
Untitled
Untitled