काठमाण्डू, देशको प्रमुख प्रशासनिक अड्डा सिंहदरबारमा बल्ल चहलपहल शुरू भएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मंगलबार सिंहदरबारस्थित विभिन्न मन्त्रालय जलाइएपछि आइतबारबाट मन्त्रालयहरूमा चहल–पहल देखिएको हो ।
आगजनीका कारण जलेका कतिपय मन्त्रालयका सवारी साधनको इन्जिन नम्बर, चेसिस नम्बर, नम्बर प्लेट खोजी गर्न कर्मचारीहरूले खरानी टकटक्याइ रहेका थिए भने कतिपय कर्मचारीहरू कार्यालयको खरानी सफा गरिरहेका थिए ।
जलेर ध्वस्त भएका मन्त्रालयअगाडि कर्मचारीदेखि बाहिरबाट सिंहदरबार आएका सेवाग्राहीहरू फोटो खिच्न व्यस्त देखिएका थिए ।
पूर्णरूपमा आगजनीबाट ध्वस्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुरानो गृहमन्त्रालय परिसरमा गृह मन्त्रालयकै लागि बनाइएको नवनिर्मित भवनमा आइतबारदेखि सञ्चालनमा आएको छ ।
अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सोही नवनिर्मित भवनमा पदभार ग्रहण गरेकी छन् ।
मुख्यसचिव एकनारायण अर्यालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आगजनीबाट कति क्षति भयो, त्यसको विवरण संकलनको काम जारी नै रहेकाले अहिले नै यकिन भन्न सकिने अवस्था छैन ।
आइतबार १२ बजेतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुग्दा भवनमा सुरक्षित रहेका कतिपय फर्निचरसहितका सामानहरू कार्यालय सहयोगीले ओसारिरहेका थिए ।
नयाँ भवनमा सार्नका लागि ध्वस्त भएको प्रधानमन्त्री कार्यालयबाट ती सामानहरू बोकेर पिकअपमा अनलोड गर्दै थिए ।
यसअघि पनि २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त हुँदा अहिले सञ्चालनमा प्रयोग भएको गृहमन्त्रालयमा प्रधानमन्त्री कार्यालय सञ्चालनमा आएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा रेनोभेट गरेपछि २०७७ फागुन ३ गते उक्त कार्यालय उद्घाटन भएको थियो । कार्यालय सञ्चालनमा आएपछि त्यहाँ पुनः गृह मन्त्रालय सञ्चालनमा आएको थियो ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा गृहमन्त्रालयको ७५ प्रतिशत भू-भाग जलेको छ ।
गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीका अनुसार अहिले क्षतिको विवरण आइसकेको छैन । ‘विवरण संलकनको काम जारी रहेकाले एक/दुई दिन अझै समय लाग्छ,’ दुवाडीले भने ।
गृह मन्त्रालयको ग्राउन्ड फ्लोरमा भने केही क्षति भएको छैन । आइतबार त्यहाँ पुग्दा सुरक्षित रहेका फर्निचर तथा अन्य अभिलेखहरू पिकअपमा ओसार्ने काम भइरहेको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पछाडि रहेको परराष्ट्र मन्त्रलायको भवनमा आइतबारदेखि गृह मन्त्रालय सञ्चालनमा आएको छ ।
साविकमा त्यहीँ सञ्चालन भएको परराष्ट्र मन्त्रालय पछि अर्थ मन्त्रलायको अपोजिट तथा गृह मन्त्रालयको पछाडि रहेको भवनमा सञ्चालित छ ।
तर, ३ महिनादेखि परराष्ट्र मन्त्रालयको दुई/तीनवटा शाखाको रूपमा प्रयोग गरिएको भवनमा अब गृहमन्त्रालय सञ्चालन हुने भएको हो ।
आइतबार त्यहाँ पुग्दा पराष्ट्र मन्त्रालयका फर्निचरसहितका सामानहरू बाहिर निकालिएको थियो भने गृहका सामानहरू भित्र राख्ने काम भइरहेको थियो ।
परराष्ट्रका ती शाखा त्रिपुरेश्वरस्थित राहदानी विभाग र कन्सुलर सेवा विभाग रहेको कार्यालयमा सञ्चालन हुने त्यहाँ भेटिएका एक कर्मचारीले बताए ।
गृह मन्त्रालयको क्षतिको यकिन विवरण नआए पनि २१ वटा चारपाङ्ग्रे गाडी पूर्णरूपमा जलेर नष्ट भएको गृहको आन्तरिक व्यवस्थापन शाखाका एक कर्मचारीले बताए ।
सिंहदरबार प्रवेश गरेलगत्तै शुरूमै आउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि क्षति भएको छ । मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा र कर्मचारी प्रशासन शाखा पूर्णरूपमा जलेर नष्ट भएको छ ।
‘ती दुई कोठामा रहेका सबै फर्निचरसहित अन्य अभिलेख जलेर खरानी भएको छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका स्टोरकीपरले भने, ‘त्यसबाहेक ३० वटा चारपाङ्ग्रे, २ वटा बस र १ सय वटा दुईपाङ्ग्रे सवारी साधन जलेर पूर्ण रूपमा नष्ट भएको छ ।’
आइतबार उक्त मन्त्रालय पुग्दा मन्त्रालयका कर्मचारीहरूले जलेर पूर्णरूपमा ध्वस्त भएका सवारी साधनको नम्बर प्लेट मिलाउने, इन्जिन तथा चेसिस नम्बर मिलाउने तथा भिडाउने काम गरिरहेका थिए ।
त्यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि आगजनीका कारण क्षति पुगेको छ ।
उक्त मन्त्रालयका स्टोरकिपर लोमस आचार्यका अनुसार ८ वटा चारपाङ्ग्रे गाडी जलेर पूर्णरूपमा नष्ट भएका छन् भने १७ वटा चार पाङ्ग्रे गाडीमा तोडफोड भएको हुनाले मर्मत गर्नुपर्ने अवस्थाका छन् ।
त्यसैगरी, १३ वटा स्कुटर र ५० वटा मोटरसाइकल पनि जलेर पूर्णरूपमा नष्ट भएको उनले बताए । ७ वटा मोटरसाइकल चोरी भएको उनले बताए ।
‘७ वटा जति मोटरसाइकल चोरी भएको छ । नम्बर प्लेट निकालेर मोटरसाइकल चोरी भएको देखिएको छ,’ आचार्यले भने, ‘त्यति मात्र होइन, सद्दे भएका मोटरसाइकलको टायरदेखि ब्याट्रीसम्म निकालेर चोरी गरिएको छ ।’
आगजनीबाट जोगिएका गाडीहरूबाट जे जति निकाल्न सकिने पार्टहरू थिए, ती सबै निकालेर लगेको उनले बताए ।
‘बिहीबारसम्म सद्दे रहेको सवारीसाधन शुक्रबार चोरी भएको छ,’ आचार्यले थपे, ‘कसैले टायर खोलेर लगेका छन् भने अधिकांशको ब्याट्री खोलेर लगेका छन् ।’
त्यसबाहेक मन्त्रालयको ७ वटा कोठाको झ्याल फुटाइएका छन् भने ३ वटा ल्यापटपसमेत चोरेर लगेको उनले बताए ।
‘क्षति भएको सबै विवरण संकलन गर्नका लागि मन्त्रालयकी सहसचिव डा. जानुका पण्डितको नेतृत्वमा कार्यदल गठन भएको छ,’ उनले थपे, ‘अहिले प्रारम्भिक क्षतिको मात्र विवरण आएको छ । उक्त कार्यदलले विवरण संकलन गरेपछि यकिन तथ्यांक आउँछ ।’
त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि व्यापक क्षति भएको छ । आगजनीबाट मन्त्रालयको पहिलो र दोस्रो तल्ला पूर्णरूपमा क्षति भएको छ ।
मन्त्रालयका स्टोर किपर रमेश भुसालका अनुसार २३ वटा चारपाङ्ग्रे गाडी पूर्णरूपमा जलेर नष्ट भएको छ भने ४ वटा गाडीमा तोडफोड भएको छ ।
५५ वटा मोटरसाइकल जलेर पूर्ण रूपमा ध्वस्त भएको छ भने २ वटा ल्यापटप, केही कोटसहितका सामानहरूसमेत चोरी भएको उनले बताए ।
‘कतिसम्म भने हाम्रो मन्त्रालयमा पार्क गरेर राखिएका गाडी प्रधानमन्त्री कार्यालय अगाडि लगेर जलाएको पाइएको छ,’ उनले थपे, ‘मन्त्रालयमा बिजुली, पानी, इन्टरनेट सबै ठप्प छ ।’
शिक्षा मन्त्रालयमै रहेको राष्ट्रिय सतर्कता केन्द्रमा पनि व्यापक क्षति भएको छ ।
केन्द्रका सचिव सरजुकुमार वैद्यका अनुसार ९ थान चार पाङ्ग्रे गाडी पूर्णरूपमा जलेर नष्ट भएको छ भने ४ वटा गाडीमा तोडफोड भएको छ ।
‘१ थान गाडी भ्यालीबाहिर फिल्डमा गएका कारण मात्र जोगियो,’ सचिव वैद्यले भने, ‘त्यसैगरी, १० थान मोटरसाइकल र ४ थान स्कूटर पूर्णरूपमा नष्ट भएको छ ।’
त्यसैगरी, १० थान ल्यापटप अहिलेसम्म नभेटिएको हुनाले चोरी भएको हो कि भन्ने आशंका रहेको उनले बताए ।
४१ थान कम्प्युटरमा तोडफोड भएको छ भने २४ थान प्रिन्टर, ५ थान स्क्यानर, १३ थान टेबल, २१ थान कुर्सी, ११ थान दराज, १० थान एसी, डिजिटल बोर्डसहित कोठाका झ्यालहरू समेत तोडफोड भएको उनले बताए ।
त्यसैगरी, अर्थ मन्त्रालयको भवनमा केही क्षति नभए पनि सवारीसाधनमा भने व्यापक क्षति पुगेको छ ।
अर्थ मन्त्रालयको स्टोर शाखाका एक कर्मचारीका अनुसार १५ थान गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
३८ थान मोटरसाइकल र १८ थान स्कुटर समेत जलाएर पूर्णरूपमा नष्ट भएको उनले बताए ।
त्यसैगरी, प्रधानमन्त्री कार्यालय अगाडि रहेको टहरोमा सञ्चालित बजेट महाशाखाअन्तर्गतको एनआरएको कार्यालय र अर्थ मन्त्रालयको गोदाम समेत जलेर खरानी भएको उनले बताए ।
‘मन्त्रालयका पछिल्लो ५ वर्षका सबै कागजातसहित फाइलको अभिलेख त्यही गोदाममा राखिएको थियो ।
सबै जलेर खरानी भएको छ,’ उनले थपे, ‘त्यसैगरी, टीभी, मनिटर, ल्यापटपसहितका सामानहरू चोरी भएको छ ।’
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको भवनमा पनि क्षति हुनुका साथै सवारी साधनहरू जलेर नष्ट भएको छ ।
मन्त्रालयका उपसचिव पशुपति महतका अनुसार क्षति संकलनका लागि कार्यदल गठन भएको छ ।
उक्त कार्यदलले विवरण संकलन गरेपछि मात्र यकिन भन्न सकिने उनले बताए ।
त्यसैगरी, युवा तथा खेलकुद मन्त्रालयको भवनमा खासै क्षति नभए पनि सवारी साधनमा भने व्यापक क्षति भएको छ ।
मन्त्रालयका स्टोर किपर रवीन्द्र शाहीका अनुसार ११ थान चारपाङ्ग्रे सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएको छ भने २ वटा गाडीमा तोडफोड गरिएको छ ।
त्यसैगरी, ९ थान दुईपाङ्ग्रे सवारी पूर्णरूपमा नष्ट भएको छ भने १ थान मोटरसाइकलमा आंशिक क्षति पुगेको उनले बताए ।
त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको स्टोर शाखाका एक कर्मचारीका अनुसार १३ थान मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएका छन् भने २ थान हराएका छन् ।
१७ थान चारपाङ्ग्रे सवारी साधनमध्ये ५ थान पूर्ण रूपमा सुरक्षित रहे पनि १२ वटा तोडफोड भएको उनले बताए ।
त्यसबाहेक अन्य मन्त्रालयका भवनमा भने खासै क्षति भएको छैन ।


































