नवलपरासी, शुक्रबार दिउँसो चलेको हावाहुरीका कारण नवलपरासी र कपिलवस्तुमा तीन जनाको मृत्यु भएको छ ।
नवलपरासीको सुनवलमा प्रतीक्षालयमा रुख ढलेर दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुमा आँपको रुख च्यापिँदा एक बालिकाको मृत्यु भएको हो ।

नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा कंक्रिट प्रतीक्षालयमा बरको रुख ढल्दा ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ४० वर्षीया नरमति परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापाको अवस्था गम्भीर छ ।
उनीहरूको देवदह मेडिकल कलेज, रूपन्देहीमा उपचार भइरहेको छ ।
त्यसैगरी, कपिलवस्तु नगरपालिका–८ मैनिहवामा आँप टिप्न गएकी १४ वर्षीया सुखना केवट आँपको रुख च्यापिँदा गम्भीर घाइते भइ निधन भएकी हुन् ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको थियो ।
लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा शुक्रबार दिउँसो व्यापक हावाहुरी र वर्षा भएको थियो ।


































