२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

हेटौंडामा भासिएको गाडी ६ मिटरमुनि भेटिने सम्भावना, भूगर्भविद्ले गरे लोकेशन पहिचान

Untitled
Untitled
Untitled

हेटौँडा, गत वैशाख २१ गते हेटौँडाको गैरीगाउँ माछापोखरी सडकमा जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको सम्भावित स्थान भू-गर्भविद्को टोलीले पत्ता लगाएको छ।

खानी तथा भू-गर्भ विभागबाट आएको जियोलोजिष्ट डाक्टर नारायण अधिकारी नेतृत्वको टोलीले म्याग्नेटोमिटर प्रयोग गरी गाडी ६ मिटरको गहिराइमा रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको हो।

सोमबार साँझ हेटौँडा आइपुगेको टोलीले आज बिहानैदेखि घटनास्थल वरपरको माटोको अध्ययन गरेको थियो।

भू-गर्भविद् अधिकारीले जानकारी दिए अनुसार, म्याग्नेटोमिटरले उक्त स्थानमा चुम्बकीय वस्तु डुबेको सङ्केत दिएको छ।

अधिकारीले भने, “कुनै चुम्बकीय वस्तु जमिनको तल्लो तहमा हराएको स्थानको वरीपरी म्याग्नेटोमिटर प्रयोग गर्दा एक ठाउँमा चुम्बकीय वस्तु रहेको प्राविधिक हिसाबले हामीलाई सङ्केत मिलेको छ।”

उनका अनुसार, पहिलो चरणमा सम्भावित लोकेशन पत्ता लागिसकेको र अब अर्को उपकरण प्रयोग गरेर गाडीको यकिन गहिराइ पत्ता लगाउने प्रयास गरिनेछ।

अधिकारीले खुकुलो माटो र बालुवाको तह भएको कारण उक्त स्थान छिट्टै तरलिकृत भएको र दहीमा केरा भासिएजस्तै गाडी विस्तारै भासिएको वैज्ञानिक तर्क प्रस्तुत गरे।

भू-गर्भ विभागले २० वर्षअघि उक्त स्थान वरपरको वातावरणीय तथा भू-गर्भीय नक्सांकन गरेको थियो।

अधिकारीले यहाँको माटोको भारवहन क्षमता लगायतका विषयमा अध्ययन गरी स्ट्यान्डर्ड पेनिट्रेसन टेस्ट गरेर थप कार्य बुधबारबाट अघि बढाइने जानकारी दिए।

शुक्रबार ना४च ४८३३ नम्बरको बोलेरो गाडी भासिएर बेपत्ता भएको तीन दिनसम्म फेला नपरेपछि हेटौँडा उपमहानगरपालिकाले भू-गर्भविद्को टोलीलाई अनुसन्धानका लागि बोलाएको थियो।

हाल उक्त स्थानमा खतराको बोर्ड राखेर आवतजावत बन्द गरिएको छ।

 

Untitled
Untitled
Untitled