२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मनसुनजन्य विपतका कारण हुन सक्ने जनधनको क्षतिलाई कम गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन तयारी सुरु

Untitled
Untitled
Untitled

काठमाण्डू, मनसुनजन्य विपतका कारण हुन सक्ने जनधनको क्षतिलाई कम गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले तयारी सुरु गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१ औँ कार्यकारी बैठकले विगतमा भएका मनसुनजन्य विपत्का कारण भएको जनधनको क्षतिबाट पाठ सिकेर नयाँ रणनीति अपनाउने निर्णय गरेको छ ।

बैठकले विगतका वर्षमा भोग्नु परेका क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतका आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ तयार पार्ने निर्णय गरेको छ ।

सो कार्ययोजनालाई यथाशीघ्र अन्तिम रूप दिई कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई बैठकले निर्देशन दिएको छ ।

त्यसै गरी बैठकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९ र १० का बस्तीलाई संरक्षण गर्ने गरी पूर्वतयारी अपनाउने निर्णय गरेको छ ।

उक्त जोखिम क्षेत्रलाई विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना तयार भएको तीन महिनाका लागि विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

सो अवसरमा गृहमन्त्री लेखकले गत असोजको अविरल वर्षाका कारण गएको बाढीपहिरोमा परेका नागरिकलाई उद्धारका लागि अहोरात्र खटिँदा स्वास्थ्यमा जटिल समस्या उत्पन्न भई उपचारका क्रममा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालले विपत् व्यवस्थापनमा पुर्‍याएको विशेष योगदानको उच्च कदर गर्दै निजको जीवन सङ्गिनी सुजी कुँवरलाई मरणोपरान्त सम्मानपत्र प्रदान गरे ।

त्यसै गरी पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपत्पश्चात्को पुनर्लाभ (पुनर्निर्माण तथा पुनस्र्थापना) योजना (२०८१/८२–२०८३/८४) को कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै क्षति आकलन हुन बाँकी घरधुरीको तदारुकताका साथ कार्यसम्पन्न गर्न प्राधिकरणलाई बैठकले निर्देशनसमेत दिएको छ ।

Untitled
Untitled
Untitled