नेपाली कांग्रेसका नेता एनपी साउदले सात दलीय सत्ता गठबन्धन लामो समय जान नसक्ने बताएका छन् । सत्ता गठबन्धन सम्बद्ध दलहरूमा वैचारिक तादाम्यता र संवैधानिक प्रतिबद्धता नरहेको उनको भनाइ छ । राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन सरकारले ठोस आकार लिने साउदको दाबी छ । उनका अनुसार माओवादीबाट प्रधानमन्त्री र एमालेबाट सभामुख भइसकेपछि शक्ति सन्तुलनका लागि कांग्रेसबाट राष्ट्रपति हुनुपर्ने कांग्रेसको मान्यता छ ।
हामी गठबन्धनका साथ निर्वाचनमा गएका थियौँ । चुनावबाट गठबन्धनको बहुमत आएपछि गठबन्धनकै सरकार बन्नुपथ्र्यो । हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । यसमा कांग्रेस र माओवादीको पक्षबाट केही कमजोरी भए । त्यसको परिणाम संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकार बाहिर रह्यो ।
त्रिशङ्कु संसद्मा कुनै पनि सरकार लामो समय जान सक्ने अवस्था देखिँदैन । त्यसमा पनि सबैभन्दा ठूलो पार्टीबाहेकको सरकार बनेर स्थिरता सम्भव छैन । अहिले माओवादी र हामीबीच गठबन्धनमा तालमेल हुन नसकेको दुवै पक्षले महसुस गरेका छौँ । लिकभन्दा बाहिर गएको राजनीतिलाई पुनः लिकमा फर्काउने कोसिसमा छौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पनि दियौँ । यी सबै घटनाक्रमले सहमतिको राजनीतिलाई बढवा मिलोस् र माओवादी एमालेको दबाबभित्र बस्नु नपरोस् भनेर प्रयत्न गरिरहेका छौँ ।
–कांग्रेसले खोजेको राष्ट्रिय सहमति कस्तो हो ? एमाले सम्मिलित माओवादी सरकारमा पनि सहभागी हुन कांग्रेस तयार हो ?
कांग्रेस प्रधानमन्त्रीबाहेकका पदमा राष्ट्रिय सहमतिको पक्षमा छ । प्रधानमन्त्री तेस्रो ठूलो दल, सभामुख दोस्रो ठूलो दलले लिइसकेपछि संसद्को पहिलो दललाई राष्ट्रपति दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिलेको राष्ट्रिय सहमति त्यही हो । त्यो भन्दाबाहेक प्रधानमन्त्री प्रचण्डको अग्रसरतामा भर पर्छ ।
–सत्ता दलीय गठबन्धनमा पुस १० मा एउटा सहमति भएर राजनीति कोर्स अगाडि बढेको अवस्थामा कांग्रेसले राष्ट्रिय सहमति भन्दै राष्ट्रपतिको ढोक्सा थाप्न सुहाउँछ ?
नेपाली कांग्रेसले गठबन्धनलाई निरन्तरता दिन खोजेको थियो । हाम्रो एक दुईवटा हिसाब फरक प¥यो । एमाले र माओवादी एक ठाउँमा आउने छैनन् भन्ने हाम्रो पहिलो बुझाइ थियो । माओवादी गठबन्धनबाट जितेर आएकाले तत्काल नै गठबन्धन छाड्छ भन्ने छैन भन्ने हाम्रो दोस्रो बुझाइ थियो । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा स्वाभाविक रूपमा जान्छ भन्ने सोच्यौँ । यसमा हाम्रो हिसाब तलमाथि भयो ।
कांग्रेस प्रधानमन्त्रीबाहेकका पदमा राष्ट्रिय सहमतिको पक्षमा छ । प्रधानमन्त्री तेस्रो ठूलो दल, सभामुख दोस्रो ठूलो दलले लिइसकेपछि संसद्को पहिलो दललाई राष्ट्रपति दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
चुनावबाट जनअनुमोदित गठबन्धनलाई सार्थक परिणाममा पु¥याउन सकेनौँ । अहिले बनेको कांग्रेसबाहेकको गठबन्धन लामो समय जान सक्दैन । यसका केही कारणहरू छन् ।पहिलो कारण सबैभन्दा ठूलो पार्टी गठबन्धनभन्दा बाहिर छ । दोस्रो कारण गठबन्धनमा वैचारिक तादाम्यता र संवैधानिक प्रतिबद्धता भएका दलहरू छैनन् । कुनै दलले गणतन्त्र मानेको छैन । कुनै दलले सङ्घीयता मानेको छैन । कुनै दल अग्रगमनका लागि लागि हतारिएका छन् भने कुनै दल अवसरमा केन्द्रित भएर व्यक्तिवादी राजनीतिमा संलग्न छन् । त्यसैले यो गठबन्धन लामो समयसम्म जान सक्दैन ।
–सत्ता गठबन्धनमा खटपट सुरु भएपछि कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तालाई तीव्रता दिएको देखिन्छ । छलफलमा के कुराकानी भइरहेको छ ?
अहिले मुलुकको अवस्था जटिल छ । आर्थिक रूपमा मुुलुक भड्खालोमा गइसक्यो भन्ने कुरा आइतबार अर्थमन्त्रीले संसद्मा दिएको वक्तव्यबाट बुझ्न सकिन्छ । संसद् घोषणा गरेको बजेटलाई पनि कटौती गर्न अवस्थामा उहाँ पुगिसक्नुभएको छ । मुलुक आर्थिक जोखिममा छ । प्रतिगामी शक्तिले टाउको उठाउँदै छन् ।
राजनीतिक दलहरूबीच अन्तरविरोध बढिरहेको छ । सत्ता गठबन्धनमै बेमेल देखिएको छ । प्रचण्डजीलाई प्रधानमन्त्री बनाउन १६९ सांसदको समर्थन थियो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नै नभएको अवस्था छ । प्रचण्डजीलाई समर्थन गरेका ३५–४० जना सांसदको असन्तुष्टि बढ्दो छ । अहिले राजनीति तरल नै छ । सरकार स्थिर हुन सकेको छैन । संविधान निर्माणपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दुईवटा निर्वाचन भएर यसको पूर्ण कार्यान्वयन भए पनि नयाँ अन्योलता मुलुकमा सिर्जना भएको छ ।
यस्तो अवस्थामा सत्ता र प्रतिपक्षी दलका नेताबीच नियमित संवाद हुनु जरुरी छ । राष्ट्रिय सहमतिका लागि कोसिस गर्न जरुरी छ । राष्ट्रपतिको निर्वाचनका लागि मात्र होइन, आगामी दिनमा मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल भइरहेको छ । सत्ता स्वार्थ र अस्थिरताका लागि नेताहरूले भेट्नु भएको होइन ।
–राष्ट्रपति निर्वाचनलाई कांग्रेसले पुरानो गठबन्धन ब्युँताउने टर्निङ प्वाइन्ट ठानेर गृहकार्य गरिरहेको छ । राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरण फेरिन्छ भन्ने छ । मुलुकको राजनीति त्यही ढङ्गले अगाडि बढिसकेको हो ?
कांग्रेस नेतृत्वको गठबन्धन हतारमा टुटेको थियो । लगभग आधा घण्टाको बीचमा त्यो गठबन्धन टुटेको थियो । अहिले बनेको सत्ता गठबन्धन पनि एक ढेड घण्टाकै वार्तामा बनेको थियो । त्यो गठबन्धन परिपक्व थिएन । किनभने सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम बनायो । त्यसको मस्यौदा समितिको संयोजक अर्थमन्त्री हुनुहुन्थ्यो । अर्थमन्त्रीले एक महिनामै सरकारमा भएका कार्यक्रमलाई कटौती गर्नुपर्छ भनिराख्नु भएको छ ।
एमालेसँग हाम्रो प्रतिस्पर्धा पनि हुने भएकाले माओवादीलाई नजिकको शक्ति ठान्छौँ । एमालेसँगको सहकार्य भनेको नेपाली कांग्रेसका लागि अन्तिम विकल्प हो ।
हतारमा बनेको गठबन्धनमा कैयौँ राष्ट्रिय सहमति र गृहकार्यका कुरा छुटेका छन् । पुस १० मा सत्ता गठबन्धनभित्र पद बाँडफाँट पनि हतार हतार भएको छ । अहिले सबै पक्षले त्यसको महसुस गरिराखेका छन् । ओलीजी पनि सार्वजनिक रूपमा एमालेले राष्ट्रपति बनाउने सहमति भएको छ भनिराख्नुभएको छ । तर भित्री गृहकार्यमा थुप्रैलाई राष्ट्रपतिका उम्मेदवार खोजी राख्नुभएको छ ।
साना दलका नेता पनि खोजिराख्नु भएको छ । नागरिक समाजबाट पनि खोजिराख्नु भएको छ । सत्ता गठबन्धनबीच पुस १० मा भएको सहमति कार्यान्वयन गर्न सकिँदैन भनेर बुझिसक्नु भएको छ । त्यसैले राष्ट्रपति निर्वाचनमा र त्यसपछि पनि अहिलेको गठबन्धन ज्यादा तरल हुन्छ । राष्ट्रपति निर्वाचनपछि मात्र गठबन्धन सरकारले ठोस आकार ग्रहण लिन्छ ।
–फागुन १३ गते राष्ट्रपतिका लागि मनोनय दर्ताको कार्यतालिका छ । राष्ट्रपतिमा कांग्रेस कसलाई अगाडि सार्ने तयारीमा छ ? कांग्रेसबाट उम्मेदवार को हो ?
कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे औपचारिक रूपमा छलफल भएको छैन । पार्टी सभापतिसँग राष्ट्रपतिका लागि धेरै मान्छेले इच्छा राख्नुभएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा इच्छा राख्नुभएको छ । कांग्रेसले राष्ट्रपति पाउने र जित्ने यकिन भइसकेपछि पार्टीमा छलफल भएर एक जनालाई अगाडि बढाउछौँ ।
–पार्टी सभापति शेरबहादुर देउवा नै राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने चर्चा पनि छ । सुषुप्त भइरहेको यो चर्चामा कति सत्यता नजिक छ ?
राष्ट्रिय राजनीतिमा पार्टी सभापति शेरबहादुर देउवाले खेल्नुभएको भूमिकाका कारण धेरै मान्छेले राष्ट्रपति उहाँ हुँदा राम्रो हुन्छ भन्ने ओपनियन नआएको होइन । तर व्यक्तिगत रूपमा पार्टी सभापतिजीले राष्ट्रपति बन्ने इच्छा राख्नुभएको छैन ।
–सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएर ढलेपछि कांग्रेसको नेतृत्वमा बनेको छ । एमाले र माओवादीलाई सरकार बनाउन साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएन । कांग्रेसले ठूलो दलको हैसियतमा अल्पमतको सरकार बनाएको छ । विश्वासको मत पाउने आधार कसरी बनाउनु हुन्छ ?
सुदूरपश्चिम सरकारमा निर्णायक शक्ति भनेको नागरिक उन्मुक्त पार्टी हो । प्रदेश सभामा १२ सांसद भएको उसले जेलमा रहेका रेशम चौधरीको रिहाइलाई प्रमुख माग बनाएको छ । रेशम चौधरीको रिहाइका सन्दर्भमा कांग्रेस नेतृत्वको सरकारले राष्ट्रपति समक्ष अध्यादेश पठाएको थियो । नेपालको संविधान र कानुनबमोजिम त्यो अध्यादेश प्रमाणीकरण गरिदिएको भए यो समस्या समाधान भइसकेको हुने थियो । राष्ट्रपतिले त्यो अध्यादेश प्रमाणीकरण गरिदिनु भएन ।
सरकार पनि परिवर्तन भयो । प्रधानमन्त्री प्रचण्डजीले कानुन बनाएर रेशमजी र त्यस्तै प्रकृतिका अन्य राजनीतिक दलका नेताहरूलाई जेलमुक्त गर्छौँ भन्नुभएको छ । कानुन बनाएर जेलमुक्त गर्न समय लाग्छ । तर नागरिक उन्मुक्ति पार्टीले कांग्रेसलाई विश्वासको मत दिन्छ ।
–माओवादी नेतृत्वको केन्द्रीय सरकार र बागमती प्रदेश सरकारलाई कांग्रेसले विश्वासको मत दिएको थियो । सुदूरपश्चिममा माओवादीसँग विश्वासको मतका लागि छलफल भएको छ कि छैन ?
हामी सुदूरपश्चिम प्रदेश सभा विघटन नहोस् भन्ने चाहन्छौँ । संविधानको धारा १६८ को १ अनुसार कसैको बहुमत नहुँदा सरकार बन्न सकेन । धारा १६८ को २ अनुसार बनेको एमाले नेतृत्वको सरकार विश्वासको मत नपाएर ढल्यो । अहिले १६८ को ३ अनुसार हाम्रो सरकार बनेको छ ।
हाम्रो सरकारले विश्वासको मत पाउन सकेन भने १६८ को ५ मा सांसदले बहुमत जुटाउन निकै जोखिम हुन्छ । सुदूरपश्चिममा सरकारले विश्वासको मत नै नपाएर प्रदेश सभा विघटन हुन सक्ने खतरा रहन्छ । विघटनको चक्रलाई रोक्न र सम्भावित अस्थिरतालाई रोक्न कांग्रेसलाई सबै दलको समर्थन रहोस् भन्ने चाहन्छौँ । माओवादीसँग हाम्रो विशेष अपेक्षा छ ।
–कांग्रेसले माओवादी नेतृत्वसँग विश्वासको मतका सन्दर्भमा छलफल गरिहेको छ । सङ्केत के पाउनुभएको छ ?
सुदूरपश्चिम सरकारले विश्वासको मत दिनुअघि नै राष्ट्रपतिको निर्वाचन छ । त्यसले मुलुकको राजनीतिक समीकरण स्पष्ट हुने छ । नागरिक उन्मुक्ति र माओवादीबीच छलफल गरेर अगाडि बढ्ने छौँ ।
–निर्वाचनपछि अन्य पार्टीहरूमा साङ्गठनिक गतिविधि भइरहेका छन् तर कांग्रेसमा गतिविधि शून्य छ । कांग्रेस अहिले के गरेर बसेको छ ?
भर्खरै चुनाव भएको छ । चुनावमा हार–जित भएको छ । अनुशासनको विषय उठेको छ । गठबन्धनको विषय उठेको छ । गठबन्धन टुटेर नयाँ सरकार बनेको छ । अत्यन्त महत्त्वको राष्ट्रपतिको निर्वाचन हाम्रा अगाडि छ । यी सबै विषयमा कांग्रेसभित्र छलफल र गृहकार्य भइरहेको छ ।
योबीचमा कार्यसम्पादन समिति र पदाधिकारी तहमा छलफल भएको छ । सभापतिज्यूले अनौचपारिक रूपमा पनि छलफल गरिराख्नु भएको छ । अन्य पार्टीका नेताहरूसँग पनि छलफल भएको छ । केन्द्रीय समितिको बैठकका लागि पर्याप्त समय चाहिने भएकाले बैठक स्थगित भएको छ । राष्ट्रपति निर्वाचनपछि केन्द्रीय समिति बैठक पनि बस्छ । नीति अधिवेशन पनि हुन्छ ।
सरकार बनाउने बेला पुरानो गठबन्धनले स्पष्ट दिशा लिन नसकेपछि भत्किएको हो । प्रचण्डजीबारे हामी प्रस्ट छौँ । प्रचण्डले मेरा यी यी बाध्यता छन्, मलाई पहिलो चरण प्रधानमन्त्री चाहिन्छ भनेर सार्वजनिक रूपमा भन्नुभएको थियो । तर हामीले जनादेशलाई ज्यादा महत्त्व दियौँ ।
–राष्ट्रपतिको पद सेरेमोनियल हो तर कांग्रेसले यति धेरै महत्त्व किन दिइराखेको छ ?
राष्ट्रपति सेरेमोनियल मात्र होइन त्यो संवैधानिक पद पनि हो । संवैधानिक महत्त्वको पदलाई विगतमा एमालेले दुरुपयोग गरेको छ । अध्यादेश, विधेयकजस्ता कुरा राष्ट्रपतिबाट रोकिएका छन् । यो संविधान अनुकूल होइन । मन्त्रिपरिषद्का कतिपय सिफासिर पनि रोकिएका छन् ।
त्यसैले हामी संविधान बुझेको, संविधानलाई आत्मसात गर्ने, संविधानमा अपनत्व महसुस गर्ने र संविधान कार्यान्वयनप्रति प्रतिबद्ध मान्छे राष्ट्रपतिका रूपमा निर्वाचित हुनुपर्छ भन्ने चाहन्छौँ । शक्ति सन्तुलनका हिसाबले पनि तेस्रो पार्टीले प्रधानमन्त्री र दोस्रो पार्टीले सभामुख लिइसकेपछि पहिलो पार्टीले राष्ट्रपति लिने कुरा राम्रो हुन्छ ।
–कांग्रेस गठबन्धनमा सहमति पालना गर्ने कुरामा विगतदेखि अनुदार देखिएको छ । राष्ट्रपतिमा माओवादीले समर्थन गर्दा गठबन्धन भत्किन सक्छ । त्यस्तो अवस्थामा फेरि कांग्रेसले माओवादीलाई धोका नदिने ग्यारेन्टी छ ?
सरकार बनाउने बेला पुरानो गठबन्धनले स्पष्ट दिशा लिन नसकेपछि भत्किएको हो । प्रचण्डजीबारे हामी प्रस्ट छौँ । प्रचण्डले मेरा यी यी बाध्यता छन्, मलाई पहिलो चरण प्रधानमन्त्री चाहिन्छ भनेर सार्वजनिक रूपमा भन्नुभएको थियो । तर हामीले जनादेशलाई ज्यादा महत्त्व दियौँ । सबैभन्दा ठूलो पार्टी भएका कारणले हामी पहिलो सरकार चलाउँछौँ ।
दोस्रो चरणमा तपाईं भन्नु होला भनेकै हो । गठबन्धन कायम राख्ने कुरामा प्रचण्डजी लचिलो भएको भए र हामीले पनि दोस्रो चरण कुरेको भए गठबन्धन विभाजित हुने थिएन । त्यसैले प्रचण्डजीले धोका दिएको, विश्वासघात गरेको रूपमा हामीले लिएका छैनौँ ।
माओवादीलाई हामीसँग बिच्किनुपर्ने कारण छैन । एउटा हिउँदले जाडो जाँदैन । एउट घटनाले प्रचण्डले हाम्रो मूल्याङ्कन गर्नुपर्छ भन्ने हुँदैन । हामीसँग प्रचण्डजीको सहकार्यको लामो इतिहास छ । शान्ति प्रक्रियादेखि विगतमा सरकार बनाउँदासम्म हामी सँगसँगै छौँ । प्रचण्डजीले ज्यादा शङ्का गर्नुपर्ने कारण देख्दिनँ ।
–तत्काल एमालेसँगको सत्ता सहकार्यको सम्भावना कति छ ?
एमालेसँग धेरै लामो समयसम्म मतभेद छ । संविधान बनाइसकेपछि एमालेसँग हाम्रो सहकार्य भएको छैन । निकट भविष्यमा पनि सहकार्य हुने सम्भावना छैन । एमालेसँग हाम्रो प्रतिस्पर्धा पनि हुने भएकाले माओवादीलाई नजिकको शक्ति ठान्छौँ । एमालेसँगको सहकार्य भनेको नेपाली कांग्रेसका लागि अन्तिम विकल्प हो । अहिले राष्ट्रिय राजनीतिको कोर्स त्यहाँ जान्छ जस्तो लाग्दैन । एमाले र कांग्रेस एक ठाउँमा हुँदैनौँ ।
रातो पाटीबाट