२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मणिपुर जातीय हिंसामा मृत्यु हुनेको संख्या ९८ पुग्यो, करोडौँको सम्पत्ति नष्ट

Untitled
Untitled
Untitled

एजेन्सी, भारतको उत्तर/पूर्वी राज्य मणिपुरमा गत महिनायता भड्किएको हिंसामा कम्तीमा ९८ जनाको मृत्यु भएको छ। ३ सयभन्दा बढी घाइते भएका छन्।

यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन्। ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ।

आगलागीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।

बिहीबार निवेदन दिएपछि पछिल्लो २४ घण्टामा १ सय ४० भन्दा बढी हतियार स्थानीयले प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रदेश सरकार स्रोतले जनाएको छ ।

मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागलाई लिएर स्थानीयवासीले गत मे ३ मा राज्यका १० जिल्लामा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि हिंसा भड्किएको थियो। झडप मुख्यतया मेइतेई र कुकी समुदायबीच भएको थियो।

स्थानीय सञ्चार माध्यमकाअनुसार मणिपुरको कुल जनसङ्ख्याको करिब ५३ प्रतिशत मेइतेई समुदायका मानिसहरू छन् र ती अधिकांश इम्फाल उपत्यकामा बस्छन्।

त्यसैगरी नागा र कुकी समुदायका जनजातिको जनसङ्ख्या ४० प्रतिशत छ र तिनीहरू राज्यका पहाडी जिल्लाहरूमा बसोबास गर्छन्।

हाल शान्ति र अमनचैन कायम गर्न भारतीय सेना र अर्धसैनिक असम राइफलका १० हजारभन्दा बढी सुरक्षाकर्मीहरू त्यहाँ तैनाथ गरिएको छ।

चर्को हिंसाका बीच गृहमन्त्री अमित शाहले राज्यमा चार दिनसम्म स्थलगत भ्रमण गरेर स्थितिको समीक्षा गरेका छन्। भ्रमणको अन्तिम दिन बिहीबार मन्त्री शाहले झडपको न्यायिक छानबिन छिट्टै थाल्ने घोषणा गरे।

मणिपुरका गभर्नर अनुसुया उइकेको नेतृत्वमा सबै राजनीतिक दलका प्रतिनिधिसहितको शान्ति समितिले वार्ताको तयारी गरेको छ।

Untitled
Untitled
Untitled