२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अफगानिस्तान भूकम्पमा परेर मृत्यु हुनेको संख्या ६ सय नाघ्यो, १३०० बढी घाइते, सडक र सञ्चार सम्पर्क टुटेपछि उद्धारमा कठिनाइ

Untitled
Untitled
Untitled

एजेन्सी, अफगानिस्तानको भूकम्पमा परी कम्तिमा ६०० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

तालिबान आन्तरिक मन्त्रालयले पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ६१० रहेको रिपोर्ट गरिरहेको समाचारमा उल्लेख छ ।

भूकम्पमा १ हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएको मन्त्रालयले जनाएको छ । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

आइतबार राति ११:४७ बजे (स्थानीय समय) अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार, भूकम्प जलालाबाद शहरबाट लगभग १७ माइल टाढा गएको थियो ।​

जलालाबादको जनसंख्या लगभग दुई लाख छ र यो राजधानी काबुलबाट सडक मार्गबाट ​​१०० माइलभन्दा कम दूरीमा छ ।

रातभरि शहरमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो ।

धेरैजसो मृत्यु छिमेकी कुनार प्रान्तमा भएको छ । सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पनि भूकम्पले देशका केही पूर्वी प्रान्तहरूमा गम्भीर जनधनको क्षति पुर्‍याएको बताएका छन् ।

बीबीसीकाअनुसार अफगानिस्तानको पाकिस्तानसँगको सीमा नजिकका क्षेत्रहरूमा घरहरू भग्नावशेषमा परिणत भएका छन् । यो क्षेत्र पहाडी हो, जहाँ सीमित सञ्चार छ ।

यसअघि ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विनाशकारी भूकम्प गएको थियो । तालिबान सरकारले उक्त भूकम्पमा ४ हजारको मृत्यु भएको दाबी गरेको थियो ।

त्यसैगरी, २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा करिब १ हजार मानिसको मृत्यु भएको थियो र हजारौं घाइते भएका थिए ।

अफगानिस्तानमा शक्तिशाली भूकम्प गैरहन्छ । हिन्दुकुश पर्वतश्रृंखलालाई भूकम्पको हिसाबले सक्रिय मानिन्छ, जहाँ हरेक वर्ष भूकम्प आउँछ ।

Untitled
Untitled
Untitled