२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काभ्रेको भुम्लुमा सात सयलाई न्यानो कपडा वितरण

Untitled
Untitled
Untitled

काठमाडौं । सधैं समाजसेवामा रमाउने तथा अरुको दुःखमा साथ दिने उद्देश्यले बढ्दो जाडोलाई ख्याल गरेर काभ्रे भुम्लु गाउँपालिकाका सात सय जनालाई न्यानो कपडा, स्यानिटरी प्याड, ड्राइपर, स्वेटर, सर्ट, पाइन्ट, ह्विल चेयर, वैशाखी र स्टेसनरी सामान वितरण गरिएको छ ।

सोल्टी क्लब नेपालका साथीहरुको सहयोग र डा. ताराबहादुर कुँवरको व्यक्तिगत खर्चबाट ज्येष्ठ नागरिक, एकल महिला, असक्त, अपाङ्गता भएका लगायत गरिब, दुःखीहरुलाई ५ लाख रुपियाँ बराबरको सामग्रीहरु वितरण गरिएको हजुरलाई नमस्ते परोपकारी संस्थाका प्रमुख डा. ताराबहादुर कुँवरले बताउनुभयो । उहाँका आफ्नै जन्मस्थान काभ्रे भुम्लुका २, ३ र ४ नं. वडामा ती सामग्रीहरु वितरण गरिएको जानकारी दिनुभयो ।

गत वर्षहरुमा पनि यस्तै सामाजिक कार्यहरु गर्दै आएको र यस वर्ष पनि आफूले सामाजिक उत्तरदायित्वअन्तर्गत जन्मभूमिमा केही राहतस्वरुप सामग्रीहरु वितरण गरिएको स्पष्ट पार्नुभयो । वितरित सामग्रीहरुमा न्यानो कपडा दोसल्ला ४ सय जनालाई, गाउँका १ सय २५ जना युवालाई पाइन्ट, ३५ जनालाई सर्ट, २ सय युवती तथा महिलालाई स्यानेटरी प्याड तथा ड्राइपर, १५ विद्यार्थीलाई स्वेटर, ३ जनालाई ह्विल चेयर, २ जनालाई वैशाखी र भुम्लुका विभिन्न ७ विद्यालयलाई स्टेसनरी सामग्री रहेका छन् ।

स्टेसनरी सामग्री पाउने विद्यालयहरुमा भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलीका श्री सेतीदेवी आधारभूत विद्यालय, श्री कालीदेवी प्राथमिक विद्यालय र श्री बाल उन्नति प्राथमिक विद्यालय रहेका छन् । त्यसै गरी वडा नं. ३ वेगसिम्लेका श्री भुसीदेवीस्थान प्राथमिक विद्यालय र श्री हिलेदेवीस्थान आधारभूत विद्यालयलाई पनि शैक्षिक सामग्री वितरण गरिएको छ । त्यसै गरी वडा नं. ४ चौबासका श्री महादेव आधारभूत विद्यालय पोखरी र श्री जनजागृति प्राथमिक विद्यालय कोड्कालाई पनि स्टेसनरी सामान तथा शैक्षिक सामग्री विरण गरिएको डा. कुँवरले बताउनुभयो । वितरित सामग्रीहरुमा कापी, कलम, सिसाकलम, इरेजर, स्केल तथा ज्यामिती बाकस रहेका छन् ।

साथै अन्य वितरित सागम्रीहरुमा कपालमा लगाउने तेल तथा घुँडा देखेको बेलामा मालिस गर्ने तेल रहेको पनि डा. कुँवरले जानकारी दिनुभयो । भुम्लुटार–८ का ९२ वर्षीय वृद्ध रत्नबहादुर उप्रेतीलाई कुर्सी कमट वितरण गरिएको थियो भने जन्मजात अपाङ्ग भएकी धुलिखेल–८ बरालगाउँकी १९ वर्षीया रमिला पहरीलाई ह्विल चेयर प्रदान गरिएको थियो ।

वेगसिम्लेका मिलन बुढाथोकी, चौबासका सुरज कुँवर तथा दिनेश ढुङ्गेलको सहयोगमा त्यहींका स्थानीय ज्येष्ठ नागरिकलाई प्रमुख अतिथि बनाई नयाँ शैलीबाट न्यानो कपडा वितरण गरिएको थियो । चौबासका १२५, महादेव मन्दिर पोखरीचौरका १२५, कोड्काडाँडाका १००, वेगसिम्ले हिलेका ३५, सिम्थली मुलाबारीका ४५, रमितेडाँडाका ५०, खतिटोलका ५० तथा तारीस्वाँरा पुलिसटोलका ५० जनालाई ती विभिन्न सामग्री वितरण गरिएको डा. कुँवरले जानकारी दिनुभयो ।

Untitled
Untitled
Untitled