२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

किरात याक्थुङ चुम्लुङ पोर्तुगलले चासोक तङ्नाम मनाउँदै

Untitled
Untitled
Untitled

किरात याक्थुङ चुम्लुङ पोर्तुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

लिम्बुहरुको महान चाड चासोक तङ्नाम 5084 को पावन अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम 16 डिसेम्बर 2024 सोमबारका दिन लिस्बोन स्थित सिटि वोकमुन्दोमा गर्ने भएको हो ।

चासोक तङ्नामको बारेमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलका अध्यक्ष रूपमान केरूङ भन्छन्  -:

चासोक (न्वागीपूजा) अर्थात् उँधौलीलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानेका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । ‘याक्थुङ मुन्धुम’ मा चासोक तङ्नामको शुरुआतबारे वर्णन गरिएको छ ।

मुन्धुमअनुसार कृषि युगअघि आदिम याक्थुङ्वाका पूर्खा सावायेत्हाङहरू जङ्गलमा पाइने तरुल, भ्याकुर, कन्दमूल आदि आगोमा नपकाई का“चै खाएर जीवनयापन गर्थे । जसले गर्दा कुपोषण र रोगव्याधिको सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान तागेरा निङ्वाफुमाङ (प्रकृति) को पूजाआराधना गरे । त्यसपछि उनीहरूले पेनारमाङदःक् (कोदो), परामा (कोदोसँगै फल्ने बिरुवा), ताक्मारु (घैया धान), तुम्री (जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बीउबिजन पनि पत्ता लगाए । आदिम पुर्खा सावायेत्हाङहरूले प्रकृतिबाट यसरी पाएको बीउबिजन तिनका चेली सिवेरा एक्थुक्मा र सिवेरा यावुङ्केक्माले काठ, ढुङ्गाको खन्ती र अङ्कुसेले खोरिया फा“डेर भस्मेमा छरिन् । त्यसपछि सावायेत्हाङहरूले बीउ बिजनको महत्व बुझेर सामुहिक खेतीपाती गर्न सिके ।

खेतीपातीसँगै उनीहरूले खोरिया र भस्मेमा उत्पादन भएका अन्नबाली आगोमा पकाएर खान थाले । बल्ल सावायेत्हाङका सन्तानले कुपोषण र रोगव्याधिबाट मुक्ति पाए । अन्नबालीको बीउ संरक्षण गर्दै खेती गर्न र फलेको बाली आगोमा पकाएर खान सिकाउने आदिम स्त्री सिवेरा याक्थुङ्मा (युमा?) प्रति हार्दिक कृतज्ञता प्रकट गर्न सावायेत्हाङहरूले पहिले सिवेरा याक्थुङ्मालाई चढाए । अनिमात्र सावायेत्हाङहरूले ती अन्नबाली खाने वाचा गरे ।

यस पर्वको अवसरमा नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युरोप लगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय वेशभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाउँछन् । यस अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा पनि यहाँ भब्य तथा सब्य रुपमा मनाउन लागिएको हो ।

Untitled
Untitled
Untitled