२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

चिया, अदुवा र अलैँची निर्यातमा भारतकै भर, साढे ११ अर्ब भित्रियो

Untitled
Untitled
Untitled

काठमाडौं, सरकारले यसवर्षको नीति तथा कार्यक्रममा चिया अलैँची र अदुवा निर्यात बढाउन विशेष कार्यक्रम अघि सारेको छ।

यस्तो कार्यक्रम गत वर्षहरुमा पनि समेटिएको थियो। यसको फलस्वरुप चिया अलैँची र अदुवा निर्यातबाट नेपालले राम्रै आम्दानी गर्दै आएको छ।

केन्द्रीय भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्त (१० महिना) सम्ममा चिया, अलैँची र अदुवा निर्यात गर्दा ११ अर्ब ५२ करोड ९९ लाख ४६ हजार रुपैयाँ भित्रिएको छ।

जसमध्ये १४७८४.५८ मेट्रिक टन चिया निर्यात हुँदा ३ अर्ब ३४ करोड ७५ लाख १४ हजार रुपैयाँ भित्रिएको छ भने ८९२१.९७ मेट्रिक टन अलैँची निर्यात हुँदा ७ अर्ब २८ करोड १६ खर्ब ७८ हजार रुपैयाँ भित्रिएको छ।

यस्तै २०१२९.७८ मेट्रिकटन अदुवा निर्यात गर्दा ९० करोड ७ लाख ५४ हजार रुपैयाँ भित्रिएको विभागले जनाएको छ।

तर, चिया अलैँची र अदुवा यी तिन वटै वस्तुको सबैभन्दा ठूलो हिस्सा भारतमा निर्यात हुने गरेको छ। तसर्थ यी तिन वस्तु निर्यातमा नेपाललाई भारतकै भर रहेको पाइएको छ।

९० प्रतिशत चिया भारतमा निर्यात

चियाकफी विकास बोर्डका कार्यकारी निर्देशक भट्टराईले नेपालबाट निर्यात हुने चियामध्ये ९० प्रतिशत भन्दा बढी भारतमा निर्यात हुने गरेको बताए।

‘नेपाली चियाको ९० प्रतिशतभन्दा बढी निर्यात भारतमा हुन्छ। तर, प्रत्येक वर्ष हुने बाधा, झन्झटिलो प्रक्रिया र नेपाली चिया कमसल तथा मिसावट रहेको जस्ता आरोप लाग्ने गरेका कारण नेपाली चिया अब्बल हुँदाहुँदै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ। र यी बाध्यता हटाउन पहल गरिरहेका छौं,’ उनले भने।

यस्तै उत्पादन प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यक अनुसन्धान नहुँदा समस्या निर्यातमा निम्तिएको र त्यस्ता समस्या समाधानको काम भइरहेको उनले बताए।

नेपाली चियाको गुणस्तर राम्रो भएपछि अहिले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको जानकारी दिए।

चालू आर्थिक वर्षको १० महिनासम्ममा ३ अर्ब ३४ करोड ७५ लाख १४ हजार रुपैयाँको १४७८४.५८ मेट्रिक टन चिया निर्यात भएको छ।

जसमध्ये सबैभन्दा बढी २ अर्ब ९९ करोड ३६ लाख ९६ हजार रुपैयाँको १४४४९.६६ मेट्रिक टन चिया भारतमा निर्यात भएको छ। यो ८९ प्रतिशतले बढी हो।

८ करोड ८१ लाख ३८ हजार रुपैयाँको ४०.९७ मेट्रिक टन चिया जर्मनीमा, ६ करोड ४७ लाख ९१ हजार रुपैयाँको १६४.६१ मेट्रिक टन चिया रसिया, ५ करोड ७३ लाख ६९ हजार रुपैयाँको २६.१९ मेट्रिक टन चिया अमेरिका निर्यात भएको छ।

यस्तै २ करोड ७२ लाख २३ हजार रुपैयाँको १८.८८ मेट्रिक टन चिया नेदरल्याण्ड, २ करोड ६५ लाख ४९ हजार रुपैयाँको ९.८४ मेट्रिक टन चिया फ्रान्स, २ करोड १ लाख ३२ हजार रुपैयाँको १०.९० मेट्रिक टन चिया जापानमा र अन्य देशमा ८ करोड ४ लाख ३९ अजार रुपैयाँको चिया निर्यात भएको छ।

९७ प्रतिशत अलैँची भारतमै

चालू आर्थिक वर्षको १० महिनामा ७ अर्ब २८ करोड १६ लाख ७८ हजार रुपैयाँको ८९२१.९७ मेट्रिक टन अलैँची निर्यात भएको छ।

यो गत वर्षहरुमध्ये हालकै उच्च हो। जसमध्ये सबैभन्दा ठूलो हिस्सा भारतमा निर्यात भएको विभागले जनाएको छ। भारतमा मात्रै ७ अर्ब २६ करोड ८ लाख ८ हजार रुपैयाँको ८८७७.१३ मेट्रिक टन अर्थात् ९७ प्रतिशत अलैँची निर्यात भएको छ।

दोश्रो पाकिस्तानमा १ करोड ९० लाख १३ हजार रुपैयाँको ४३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ भने इटालीमा १० लाख ९ हजार रुपैयाँको ७५० केजी, अमेरिकामा २ लाख १४ हजार रुपैयाँको २४० केजी र जर्मनीमा ६ लाख ३५ हजार रुपैयाँको ९५ केजी अलैँची निर्यात भएको छ।

भारतमा मात्रै ७६ करोडको अदुवा निर्यात

विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा ९० करोड ७ लाख ५४ हजार रुपैयाँको २०१२९.८८ मेट्रिक टन अदुवा निर्यात भएको छ।

जसमध्ये सबैभन्दा ठूलो हिस्सा ७६ करोड ६६ लाख ४६ हजार रुपैयाँको १९८८५१.२७ मेट्रिक टन अदुवा भारतमा निर्यात भएको छ। यो कूल निर्यातमध्येको ८५ प्रतिशत हो।

दोश्रो जर्मनीमा १२ करोड २५ लाख ७७ हजार रुपैयाँको १९५.४९ मेट्रिक टन निर्यात भएको तेश्रो कतारमा ७० लाख ९८ हजार रुपैयाँको १८.५० मेट्रिक टन निर्यात भएको छ।

यस्तै अन्य, जापान २४ लाख ७३ हजार रुपैयाँको १.९२ मेट्रिक टन, बंगलादेशमा १९ लाख ५ हजार रुपैयाँको २८.५० मेट्रिक टन, नेदरल्याण्डमा ५३ हजार रुपैयाँको २० केजी र वेलायतमा ३ हजार रुपैयाँको ५ केजी अदुवा निर्यात भएको छ।

Untitled
Untitled
Untitled