२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

शेखर–गगन फुटाएर शशांकलाई सजिलो बनाउने देउवा रणनीति

Untitled
Untitled
Untitled

काठमाण्डू, मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसका (संस्थापन पक्ष) सभापति शेरबहादुर देउवाइतर समूहका नेताहरूलाई फुटाएर आफ्नो समूह बलियो बनाउने रणनीतिमा छन् ।

पार्टीको आसन्न १५औं महाधिवेशनको चर्चा चुलिँदै जाँदा सभापति देउवाले फरक समूहमा रहेका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीचको सम्बन्धमा दरार उत्पन्न गराएर आफ्नो समूहलाई बलियो बनाउने रणनीतिमा लागेका छन् ।

संस्थापनइतर समूहलाई कमजोर बनाउने रणनीतिअनुसार नै कोइरालासँग थापालाई अलग गर्ने र त्यसको फाइदा आफ्नो उम्मेदवारलाई हुने गरी काम गर्न देउवा निकटका नेताहरूले गृहकार्य गरिरहेका छन् ।

फरक कित्तामा उभिएका महामन्त्री गगन थापा १५औं महाधिवेशनमा कुनै हालतमा सभापति लड्ने तयारीमा छन् ।

पार्टीका एकाथरी नेताहरूले कांग्रेसमा नयाँ नेतृत्वका लागि गगनको विकल्प नभएको दावी गर्दै गर्दा पुराना र गगन पुस्ताकै कतिपय युवा नेताहरूले एकपटक दोस्रो पुस्ताका नेताहरूलाई पालो दिएर अर्कोपटक तयारीमा लाग्न थापालाई सुझाव दिएका छन्।

केही नेताहरूले भने महामन्त्री थापाले अहिले नै देउवा क्याम्पबाटै आगामी नेतृत्वको आश्वासन पाएको रूपमा समेत हेरेका छन्।

यद्यपि, देउवा र उनी निकटस्थहरूबाट कोइराला र थापाका बीचमा खेलेर वीपी पुत्रसमेत रहेका पूर्वमहामन्त्री डा.शशांक कोइरालालाई नेतृत्वमा अघि सार्ने सम्भावनाको खोजी भइरहेको छ ।

१४औं महाधिवेशनमा देउवासँग पराजित नेता डा.शेखर कोइराला पनि सभापति बन्ने लाइनमा देश दौडाहामा छन् ।

उता, पूर्वमहामन्त्री शशांकले समेत सभापति देउवाको सहयोग भए १५औंमा आफू सभापति हुने आकांक्षा राखेका छन् ।

केही समयअघि मात्रै कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि पुत्रत्रय शशांक, प्रकाशमान र विमलेन्द्र निधिले भेटवार्ता गरेका थिए।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा खाना खाएर राजनीतिक कुराकानी गरेका तीन नेताहरूले आपसमा मिलेको सन्देश दिने गरी तस्वीर सार्वजनिक गरेका थिए।

यसले पनि डा. शशांकलाई थप हौसला बढ्न सक्ने भन्दै राजनीतिक वृत्तमा छलफल प्रारम्भ भएको छ।

तर, सभापति निकटका केही नेताहरूले भने वर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई टिमको सभापति बनाएर जानुपर्ने सल्लाह दिइरहेकाले अहिले नै यसै भन्ने अवस्था नभएको नेपाली कांग्रेसका एक पदाधिकारीले बताए।

‘सभापतिज्यूले अहिले महामन्त्री गगन र नेता शेखरबीच ग्याप गराउन महामन्त्रीलाई नजिक्याउने र केही जिम्मेवारीहरू पनि दिँदै हुनुहुन्छ’, उनले भने– ‘त्यसको प्रत्यक्ष फाइदा अर्का नेतालाई हुन सक्छ।

यो रणनीतिमा उहाँ (देउवा) सफल हुनुभयो भने आगामी १५औं महाधिवेशनमा बीपीपुत्र शशांकलाई पल्लाभारी हुने सम्भावना पनि छ।

तर, कतिपय नेताहरूले उपसभापति पूर्णबहादुर खड्कालाई नै अघि सार्नुपर्ने सुझावसमेत दिँदै आएकाले अहिले नै यसै भन्ने अवस्था छैन्।’

नेपाली कांग्रेसलाई बीपीकै छत्रछायामा जिम्मा लगाएको भन्ने सन्देश दिन र पत्नी आरजु राणलाईलाई पार्टीको पदाधिकारी (उपसभापति) मा व्यवस्थापन गर्न देउवाका लागि यो रणनीति उत्तम विकल्प हुन सक्ने ती पदाधिकारीले दाबी गरे।

देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई सभापतिमा अघि सार्ने सम्भावनासमेत रहेको सिटौलाको सचिवालयले जनाएको छ।

विधानत नियमित हुनुपर्ने महाधिवेशन आउन दश महिनामात्रै बाँकी छ।

यद्यपि, ६ महिनादेखि एक वर्षसम्म म्याद थप गर्न पाउने सहुलियतसमेत विधानमा व्यवस्था भएकाले पार्टीको १५औं महाधिवेशन २०८३ मंसिरसम्ममा हुने पार्टीका महामन्त्री गगन थापाले नै बताइसकेका छन् ।

‘२०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिराखेका छन् ।

त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ, तर त्यो गर्नै मिल्दैन् । महाधिवेशन सार्न संविधानले पनि दिँदैन, चुनावअघि नै महाधिवेशन हुन्छ’ –उनले भने ।

थापाको यो अभिव्यक्तिले २०८२ मा महाधिवेशन नहुने निश्चित देखिन्छ। महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसभित्र गुट अदलबलदको संस्कार पनि पूरा नै हो।

उक्त संस्कार आगामी महाधिवेशनमा झनै बढी देखिने संकेत नेताहरूले गरिसकेका छन्।

पार्टी स्थापनाको इतिहासदेखि नै दुई धारमा विभाजन भएर नेताहरूले आ–आफ्नो विचार समूहलाई पार्टीको संस्थापक बनाउने प्रयत्नमा लाग्दै आएका थिए।

अहिलेसम्म त्यसको लिगेसी कायम मात्रै छैन पार्टीमा चरम गुटगत राजनीति देखापरेको छ।

पछिले समय गत १४औं महाधिवेशनमा एक ठाउँ रहेका नेताहरू अहिले फरकफरक कित्तामा उभिन थालिसकेका छन्।

त्यस बेला संस्थापन पक्षको कोर समूहमा रहेका मोहन बस्नेत, बालकृष्ण खाँण, एनपी साउद, डिना उपाध्यायलगायत नेताहरू अहिले डा. शेखर कोइरालासँग नजिकिँदै गएका छन्।

शेखरकै समूहमा बसेर महामन्त्री बनेका गगन थापा पछिल्लो समय शेखरसँग टाढिँदै गएको देखिन्छ।

थापा अहिले शेखरसँगको कार्यक्रममा नभएर सभापतिसँगै कार्यक्रममा हिँडिरहेकाद छन् ।

Untitled
Untitled
Untitled