२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

दिल्लीका लागि उडान भर्ने इन्डियन एयरलाइन्समा बम राखेको सूचना हल्ला मात्रै

Untitled
Untitled
Untitled

काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उडान भर्ने क्रममा रहेको भारतीय वायु सेवा कम्पनी इन्डियन एयरलाइन्समा बम राखेको सूचना गलत भएको पाइएको छ। गत हप्ता पनि भारतीय विमान कम्पनी भिस्तारा एयरलाइन्समा बम राखेको हल्ला गरेपछि विमानमा चेकजाँच गरेपछि मात्रै उडान अनुमति दिइएको थियो।

सोमबार दिउँसो ३ः१५ काठमाडौंबाट दिल्ली उडान गर्ने क्रममा रहेको भारतीय वायु सेवा निगम इन्डियन एयरलाइन्समा बम राखेको सूचना काठमाडौंस्थित विमानस्थलको कन्ट्रोल टावरमा आएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो।

काठमाडौंबाट दिल्ली उड्नका लागि तयारी अवस्थामा रहेर ४० भन्दा बढी यात्रुलाई विमानमा चढाएपछि विमानमा बम राखेको हल्ला आएको प्रवक्ता भुलले जानकारी दिनुभयो । एआई २१६ उडान नम्बर रहेको सो विमानमा १ सय ६८ यात्रु दिल्ली जानका लागि बोडिड पास लिएका थिए।

उक्त विमानमा बम राखेको हल्ला चलेपछि त्रिभुवन विमानस्थल केही बेरका लागि बन्द गरिएको थियो । काठमाडौं अवतरणका लागि तयारीमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानहरूलाई केही बेर आकाशमा होल्ड गर्न लगाइएको थियो ।

विमानमा यात्रु बस्न थालेपछि एयर इन्डियाको काठमाडौंस्थित सेक्युरिटी म्यानेजरलाई इन्डिया अपरेसन कन्ट्रोल एन्ड कमान्ड सेन्टरबाट विमानमा बम राखेको कल आएकाले विमानलाई चेक गरेर मात्र पठाउन आग्रह गरेपछि विमानस्थलमा खैलाबैला मच्चिएको थियो।

विमानलाई छुट्टै पार्किड क्षेत्रमा राखेर नेपाल प्रहरी र नेपाली सेनाको तालिम प्राप्त कुकुरको सहायतामा चेकजाँच गर्दा कुनै शंकास्पद बस्तु फेला नपरेपछि विमानलाई सोमबार बेलुकी नै उडान अनुमति दिइएको थियो।

अहिले भारतको नयाँदिल्ली र मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उड्ने विमानमा बम राखेको लगातार सूचना आउन थालेपछि भारतीय सुरक्षा निकाय र उड्डयन अधिकारीहरू हैरानीमा पर्ने गरेका छन्।

Untitled
Untitled
Untitled