२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

कोशीको नयाँ सरकार र सभामुख गौतमविरुद्ध सर्वोच्च पुगे एमाले र राप्रपा

Untitled
Untitled
Untitled

काठमाडौ, कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमाले र राप्रपाले सर्वोच्च अदालतमा रिट हालेको छन् ।

कोशीका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको हो।

उक्त रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा दर्ता गराएका हुन्।

प्रमुख सचेतक भण्डारीले सर्वोच्चमा रिट दर्ताका क्रममा रहेको जानकारी दिएका छन्।

‘संविधानको धारा १६८(२) द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरिएको छ’, भण्डारीले भने, ‘उक्त उपधाराअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दललाई सरकार बनाउने बाटो खोलिदिन परमादेश माग गरिएको छ।’

सभामुख गौतमलेसमेत हस्ताक्षर गरेर संविधानको प्रक्रिया मिच्दै सरकार बनाइएकोले त्यसविरुद्ध सर्वोच्चमा रिट हालिएको भण्डारीले बताए।

भण्डारीले निर्णायक अवस्था वा सरकार गठन प्रक्रिया संविधानको धारा १६८(५) मा पुगेको अवस्थामा मात्रै सभामुखको भूमिका सरकार गठनमा आउने दाबी गरे।

‘सभामुख गौतमले संविधानविपरीत कदम चालेकाले त्यो बदरयोग्य छ। यस्तो अवस्थामा सरकार गठन प्रक्रिया नै गलत छ’, उनले भने, ‘त्यसैले सभामुखको उक्त कदमबारे सर्वोच्चबाट उत्प्रेषणको आदेश माग गरेका छौँ।’

एमाले सर्वोच्च आउनुअघि नै मुख्यमन्त्रीमा नियुक्त भएका थापाले शुक्रबार बिहान ९ बजे शपथ लिएर पदबहाली गरिसकेका छन्।

Untitled
Untitled
Untitled