२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राष्ट्रपति पौडेलसँग भियतनामका उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताए ।

“यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक छ”, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत् जस्ता क्षेत्रहरुमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताएका थिए ।

उनले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा खुसी व्यक्त गरे ।

उनले विशेषतः बौद्ध धर्म हाम्रा दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुको रूपमा रहेको भन्दै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्रस्थलका रूपमा हेर्नु खुसीको विषय भएको पनि बताए ।

सो अवसरमा भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले नेपालले सन २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन् २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देशबीच बृहत् सम्बन्धको फ्रेमवर्क बनाउन जरुरी भएको उल्लेख गरेको उनको भनाइ उद्धृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

भियतनामका उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देशबीच सहकार्य गर्न आवश्यक रहेको बताए ।

उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताए ।

रासस

Untitled
Untitled
Untitled