२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

शुरु भयो पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडक विस्तार

Untitled
Untitled
Untitled

चितवन, पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु भएको छ। छ महिनाअघि ठेक्का सम्झौता भएपनि सडक विस्तारको काम भने यही जेठ महिनाबाट मात्रै सुरु भएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ।

सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने काम भएको छ।

जेठको पहिलो साताबाट यस क्षेत्रको मलेखुबाट मुग्लिनतर्फ पनि डोजर लगाएर भित्तो काट्ने काम भर्खरै सुरु भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना ९पश्चिम खण्ड० का प्रमुख किरण कार्कीले जानकारी दिए ।

“राजधानी काठमाडौँ जाने र बाहिरिने सवारीसाधनलाई असर नपर्ने गरी अहिले भित्ता काट्ने काम हुने छ। वर्षात्मा भित्ता काट्ने काम बन्द गरेर अन्य सीमा र पर्खाल लगाउने कार्य गरिने छ,” कार्कीले भने ।

न्यूनतम नौदेखि ३० मिटरसम्म फराकिलो पार्ने गरी काम भएको छ। साँघुरो र जङ्गल क्षेत्रमा नौ मिटर कायम गरिने छ। बजार र बस्ती क्षेत्रमा चार लेन अर्थात् ३० मिटरसम्मको फराकिलो पार्ने गरी काम भएको कार्कीले जानकारी दिए ।

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गर्ने पश्चिम क्षेत्रको कार्य क्षेत्रमा परेको छ।

नागढुङ्गादेखि मुग्लिनसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति गरिने भएपनि पश्चिम क्षेत्रमा भने ३९ किलोमिटरको काम गरिने छ।

बाँकी धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ। यस क्षेत्रमा सगुन कन्स्ट्रक्सन र शर्मा लामा जेडआइसिजीले ठेक्का पाएको छ।

पश्चिम क्षेत्रका लागि शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्ने ठेक्का पाएको छ। यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ।

काम पनि सँगै सुरु भइसकेको छ। मलेखुसम्म छ वटा पुल निर्माण हुने छन्। गोमती, चरौँदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्ने छन्।

खटौटीमा पुल निर्माण कार्य अगाडि बढेको छ। यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिने छन्। मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझिमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन्।

यस क्षेत्रको ठेक्का सम्झौता चार अर्ब ८० करोड रुपियाँको लागतमा निर्माण हुने छ। मुग्लिन–नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भोगेकाले यस क्षेत्रमा भने पहाडलाई भन्दा त्रिशूली नदीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउने कामलाई प्राथमिकता दिने आयोजनाले जानकारी दिएको छ।

“साँघुरो स्थानमा भने पहाडलाई काटिने छ। विकल्प रहेको स्थानमा पहाड काटिने छैन। यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन्,” आयोजना प्रमुख कार्कीले भने ।

सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा २० वर्ष सडक टिक्ने गरी डिजाइन भएको प्रमुख कार्कीले जानकारी दिए ।

राजधानी भित्रिने मुख्य सडक भएकाले ठेक्का सम्झौता भएको तीन वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको आयोजनाले जानकारी दिएको छ।

विश्व बैङ्कको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो। नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ।

यस क्षेत्रमा सडकको दायाँबायाँ पर्खाल लगाएर सडकको सीमा निर्धारण गरिएको छ। पहिरो नजाने स्थानमा पहाड काटिएको आयोजनाले जनाएको छ।

अहिले भइराखेको सडक साँघुरो भएको, सवारीसाधनको चाप वृद्धि भएको, पुरानो भएर मर्मत गरिराख्नु पर्ने भएकाले सडक विस्तारका लागि काम अगाडि बढेको हो।

Untitled
Untitled
Untitled