काठमाण्डू, तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण शुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा छ ।
गण्डकी प्रदेशकै महत्त्वपूर्ण पूर्वाधार मानिएको यो पुल समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ भने आयोजनाको लागत र समय दुवै बढ्दै गएको छ ।
वि.सं. २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएर निर्माण थालिएको यो पुलको भौतिक प्रगति हालसम्म ६५ प्रतिशत मात्रै छ ।
गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार १९४ रुपियाँको लागतमा निर्माण भइरहेको १५५ मिटर लामो यो पुल स्टिल ट्रस प्रकृतिको हो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७७ चैत २३ गते शिलान्यास गरिएको भएपनि ठेकेदारको ढिलासुस्ती र विभिन्न बहानामा हालसम्म तीन पटक म्याद थप भइसकेको छ ।
यो पुलले व्यास नगरपालिका–३ को देउराली नगर र ऋषिङ गाउँपालिका-१, झापुटार जोड्छ ।
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीले निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको बताए ।
तिवारीका अनुसार पुलको ’स्टिल पाट्र्स’ फेब्रिकेसनको काम सकिएको र दुई वटा ’स्पान’ मध्ये एउटा यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।
उनले भने, “बाँकी कामका लागि आवश्यक सामग्री भारतबाट आइसकेको छ । हामीले निर्माण कम्पनीलाई २०८२ चैतको अन्तिम म्यादभित्रै काम सक्न कडा निर्देशन दिएका छौँ ।’’
पाइल फाउन्डेसनमा आधारित यो पुल ९.५ मिटर चौडा हुने छ । पछिल्लो समय कार्यालयले कामलाई तीव्रता दिन दबाब दिएपछि निर्माण स्थलमा केही चहलपहल बढेको छ ।
यद्यपि, पटक/पटक म्याद थपिने तर काम नहुने प्रवृत्तिले गर्दा तोकिएको नयाँ समय सीमाभित्र पुल सञ्चालनमा आउनेमा स्थानीय अझै सशंकित छन् ।
पुल निर्माणमा भएको ढिलाइप्रति नागरिक स्तरबाट चर्को आलोचना भइरहेको छ ।


































