२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मानव अधिकार आयोगले थाल्यो तीनकुने घटनामा प्रहरीले घातक हतियार प्रयोग गरेकोबारे अनुसन्धान

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनामा प्रहरीले घातक हतियार प्रयोग गरेको बारे अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको गोप्य प्रतिवेदनले प्रदर्शन दबाउनका लागि ११० राउन्ड गोली प्रहार गरेको र तीमध्ये ८१ राउन्ड गोली भीड नियन्त्रणका लागि निषेधित हतियारबाट चलाएको औँल्याएपछि आयोगले यसमा गम्भीरताका साथ अनुसन्धान अघि बढेको बताएको हो ।

मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले घटनामा प्रहरीको बल प्रयोगलाई आयोगले नजरअन्दाज नगरेको उल्लेख गरे ।

बल प्रयोगको सिद्धान्तबारे जानकार विज्ञ, घातक हतियारबारे जानकार विज्ञ समेतलाई राखेर आयोगले अनुसन्धान सुरु गरेको जानकारी दिए ।

‘तीनकुने घटनामा भएको बल प्रयोगलाई आयोगले नजरअन्दाज गरेको छैन । सुरक्षा विज्ञहरूलाई समेत राखेर हामीले अनुसन्धान अघि बढाइसकेका छौँ,’ उनले भने ।

सचिव खरेलले आयोगका तर्फबाट अनुसन्धानमा खटिएका विज्ञको विवरण भने उपलब्ध गराएनन् ।

हामीले निष्पक्ष अनुसन्धानका लागि विज्ञहरूको छनौट गरेका छौँ । उहाँहरूको विवरण सार्वजनिक गर्दा राजनीतिक दबाब पर्न सक्ला त्यसले निष्पक्ष अनुसन्धानमा पनि बाधा पुर्‍याउन सक्छ,’ उनले भने ।

तीनकुने घटनामा मानवअधिकारको अवलोकन र त्यसपछिको अनुसन्धानबारे प्रमुख आयुक्त तपबहादुर मगरसँग गरेको संक्षिप्त संवाद ।

तीनकुने घटनालाई मानवअधिकार आयोगले कसरी लिएको छ ?

तीनकुनेको प्रदर्शनको सूचना आएपछि मानवअधिकार आयोगले आन्दोलनलाई शान्तिपूर्वक बनाउन ध्यानाकर्षण गराएको थियो ।

परिस्थिति भने बेग्लै बन्यो । आन्दोलन के कति कारणले अराजक भयो किन यत्तिको जनधनको क्षति हुन पुग्यो भन्ने कुरालाई आयोगले निकै गम्भीरतापूर्वक लिएको छ ।

सार्वजनिक बहसमा आएका कुरालाई हामीले रेकर्डमा राखेका छौँ । हाम्रै टोलीहरूले पनि अवलोकन गर्नुभएको छ । घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको पक्षमा आयोग छ । आयोगले आफ्नो काम अघि बढाएको छ ।

यो प्रकरणमा मानवअधिकार आयोगको सुस्तताप्रति प्रश्न उठिरहेको छ नि ?

आयोग सुस्त भयो की भन्ने कोणबाट चर्चा भएको सुनिन्छ, तर वास्तविकता त्यस्तो छैन । मानवअधिकार उल्लङ्घनका घटना छानबिनका लागि हामी सधैँ क्रियाशील छौँ ।

यो घटनामा पनि हामीले अनुसन्धान अघि बढाइसक्यौँ । आयोगले छिट्टै आफ्नो निष्कर्ष बाहिर ल्याउने छ ।

यो घटनामा अत्यधिक बल प्रयोग गरेको भन्दै प्रहरी आलोचित भइरहेको छ । आयोगको अवलोकनले के देखाउँछ रु

घटनामा प्रहरीले बल प्रयोग गरेको विषय हामीले नजरअन्दाज गरेका छैनौँ । भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग र बल प्रयोगलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ ।

आयोगले घातक हतियारबारे जानकार विज्ञ, बल प्रयोगको सिद्धान्त र त्यसको कार्यान्वयनबारे जानकारलाई सम्मिलित गराउँदै अनुसन्धान अघि बढाइसकेको छ ।

 

Untitled
Untitled
Untitled