काठमाडौं : नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान तथा कृति विमोचन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई ‘नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान’बाट सम्मान गर्नुका साथै सस्थापकसुवेदीद्वारा लिखित नन्दिनी शोक महाकाव्य, नन्दा शोक खण्डकाव्य, सेती गजल खण्डकाव्य तथा उहाँद्वारा सम्पादित कृति नन्दादेवी सुवेदी स्मृतिग्रन्थको विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.को सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई थिए भने विशेष अतिथिमा अनेसास बिओटीका पूर्व सल्लाहकार प्राडा खगेन्द्रप्रसाद लुइँटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसासका सल्लाहकार लीला लुइँटेल, अनेसासका पूर्वउपाध्यक्ष डा. रेणुका सोलु थिए । यस्तै, अतिथिहरुमा विमोचित भिडियो बुकका वाचक शिव त्रिपाठी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मिनबहादुर श्रेष्ठ, अनेसास केन्द्रीय सदस्य तारा उप्रेती, सुमन वर्षा, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, अनेसास संस्कृति समितिका सल्लाहकार कलाकार रविन्द्र खड्का रहेका थिए ।
त्यसैगरी कृतिका समीक्षकहरू प्राडा जीवलाल सापकोटा, डा. नारायण शर्मा गैरे, अनेसास नेपाल च्याप्टरका सल्लाहकार महेश पौड्याल, अनेसास नेपाल च्याप्टरका पूर्व अध्यक्ष तथा अनेसास पुरस्कार समितिका सदस्य सन्ध्या पहाडी मञ्चासीन थिए । अन्य अतिथिहरुमा वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, रामप्रसाद दाहाल, हिरण्यकुमारी पाठक, गोपाल पराजुली, कलाकार हरिबहादुर थापा, अनेसास पोर्चुगल च्याप्टरका महासचिव एनवी अन्जान, साहित्यकार तथा पत्रकार कृष्ण भूषाल रहेका थिए ।
नेपाली राष्ट्रियगानबाट शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि राईबाट दीप प्रज्ज्वलन गरी उद्घाटन गरेपश्चात् अनेसासकी माता नन्दा सुवेदीको तस्वीरमा माल्यार्पण गरिएको थियो । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई दोसल्ला, दुबोको मालासहित खादामाला पहिरिएर सम्मानपत्रका साथ नेपाली डायस्पोरा स्वर्णतारा सम्मानद्वारा सुशोभित गरिएको थियो । सम्मानपत्र अनेसास नेपाल च्याप्टरका महासचिव रञ्जना निरौलाले वाचन गरेकी थिइन् । त्यसैगरी सर्जक सुवेदीद्वारा लिखित नन्दा शोक खण्डकाव्य, नन्दिनी शोक महाकाव्य, सेती गजल खण्डकाव्य र सम्पादित कृति नन्दादेवी स्मृतिग्रन्थको मञ्चासीनहरुबाट विमोचन गरिएको थियो ।
नन्दिनी शोक महाकाव्यको प्राडा.जीवलाल सापकोटाले विहंगम समीक्षा गरेका थिए भने सेती गजल खण्डकाव्यको डा। नारायण शर्मा गैरेले समीक्षा गरेका थिए । त्यस्तै, नन्दा शोक खण्डकाव्य प्रखर युवा समालोचक महेश पौड्यालले समीक्षा गरेका थिए भने स्मृतिग्रन्थको सन्ध्या पहाडीले समीक्षा गरेकी थिइन् । नन्दा शोक खण्डकाव्य र सेती गजल खण्डकाव्य भिडियोबुकका वाचक शिव त्रिपाठीले काव्यका विषयमा बोलेका थिए ।
सम्मानित व्यक्ति स्रष्टा होमनाथ सुवेदीले आफ्नो मन्तव्य व्यक्त गर्दै शोक काव्यमा विज्ञानसम्मतका कुराहरु प्रयोग गरी रचिएको बताए । नन्दा शोक समारोहमा उपस्थित हुँदा हर्षाश्रु नरोकिएको बताउँदै सुवेदीले हिन्दुधर्मानुसार मृतात्माको शान्तिका लागि सप्ताह एकाह पुराण लगाउँछन् भने आफूले नन्दाको वियोगबाट उत्पन्न शोकलाई सिर्जनामा बदल्दै एक वर्षमा तीनओटा कृति लेखेर उक्त कृतिहरु विमोचनको यस भव्य समारोह नै नन्दाको नाममा गरिएको एकाह पुराण भएको र उनको आत्माले शान्ति पाएको कुरामा विश्वस्त भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले होमनाथ सुवेदी तथा विमोचित कृतिहरुको चर्चा गर्दै अनेसास नेपाल च्याप्टरले सुवेदीलाई गरेको सम्मानका लागि धन्यवाद तथा सुवेदीलाई बधाईज्ञापन गरेका थिए । अनेसास र नेपाल प्रज्ञाप्रतिष्ठानको सम्बन्ध नजिक रहेको बताउँदै उनले अनेसास र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा धेरै कार्यहरु गर्न सकिने कुरा व्यक्त गरे ।
कार्यक्रममा प्राडा वासुदेव त्रिपाठीले पठाउनुभएको अडियो शुभकामना सुनाइएको थियो ।
साहित्यकार गोपाल पराजुली, मीनबहादुर श्रेष्ठ, मोहन तिमल्सिना, देवी सुवेदी, लीला लुइटेल, राधेश्याम लेकाली र प्रा।डा। खगेन्द्रप्रसाद लुइँटेलले नन्दादेवी सुवेदीको स्मरण गर्दै स्रष्टा होमनाथ सुवेदी र विमोचित कृतिको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अनेसास इजरायल च्याप्टरकी पूर्व अध्यक्ष साहित्यकार भगवती बस्नेतले सञ्चालन गरेको उक्त कार्यक्रमलाई आफ्नो मन्तव्यसहित विसर्जन गर्ने क्रममा कार्यक्रमका सभापति राजेन्द्र श्रेष्ठले अनेसासका पिता होमनाथ सुवेदीलाई उपस्थित सबै अतिथिबाट पुष्प वर्षा गरी सम्मान गर्न र १० सेकेण्ड मौनधारण गरी अनेसासकी माता नन्दादेवी सुवेदीको सम्झना गर्न अनुरोध गरेअनुसार उपस्थित सबैले सोहीअनुसार सुवेदीलाई पुष्पवर्षा गरेका थिए भने १० सेकेन्ड मौनधारण गरी नन्दालाई स्मरण गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाहलमा भएको उक्त कार्यक्रममा काठमाडौंमा रहेका साहित्यकारहरुदेखि गण्डकी प्रदेशलगायत अन्य प्रदेशहरुबाट पनि साहित्यकारहरुको बाक्लो उपस्थित रहेको थियो । त्यसैगरी भारतको असाम, गुहाटीलगायतका स्थानहरुबाट गतवर्ष अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजेता रण काफ्लेसहित दर्जन साहित्यकारहरुको उपस्थित रहेको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपाल च्याप्टर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आजीवन सदस्यहरूको पनि उपस्थित रहेको थियो ।


































