युरोप : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले युरोप समिति गठन गरेको छ । केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईंको संयोजकत्वमा गठित १५ सदस्यीय समितिको सह–संयोजकमा पंचम अधिकारी (बेल्जियम) र सदस्य–सचिवमा एन.बी.अन्जान (पोर्चुगल) रहनुभएको छ ।
अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले समितिको घोषणा गर्दै केन्द्र र क्षेत्रीय च्याप्टरहरूबीच सुमधुर सम्बन्ध स्थापना गर्दै युरोपेली डायस्पोरामा नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उद्देश्यले यो समिति गठन गरिएको बताउनुभयो ।
समितिका सदस्यहरूमा सौरभ कारंजित (बेल्जियम), राज श्रेष्ठ (बेलायत), पूर्ण बस्नेत (डेनमार्क), सुसन बर्देवा (पोल्यान्ड), सुजाता घिमिरे राउत (जर्मनी), ओमर गुरुङ (स्पेन), माया गुरुङ (बेलायत), सवी श्रेष्ठ (पोर्चुगल), विष्णुमाया बिभू (नर्वे), सूर्यराज गिरी (नेदरल्यान्डस्), लक्ष्मण देवकोटा (स्वीट्जरल्याण्ड) र प्रशान्त उप्रेती (फ्रान्स) रहनुभएको छ । नवगठित देशका शाखा अध्यक्षहरू समितिका पदेन सदस्य हुनुहुनेछ ।
सल्लाहकारहरूमा डा.रुपक श्रेष्ठ (बेलायत), हरिहर अर्याल (फ्रान्स), केजिन राई (बेल्जियम), ब्रम्ह वाग्ले (बेल्जियम), खड्ग नेउपाने (जर्मनी) र सीता बराल (डेनमार्क) रहनुभएको छ । संसारभरका पाँचवटै महादेशमा अनेसासको क्षेत्रीय समिति गठन गर्ने अवधारणा अनुरूप यो समिति गठन भएको हो ।
नवगठित समितिका संयोजक अम्माईंले निकट भविष्यमा बेल्जियममा आयोजित हुने अनेसासको अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्न साहित्यिक अभियान चलाउने बताउनुभएको छ । सह–संयोजक अधिकारीले युरोपका धेरै देशहरूमा अनेसासका शाखा स्थापित नभएको वा निष्क्रिय रहेको अवस्थामा संगठन विस्तारलाई व्यापक बनाइने उल्लेख गर्नुभयो ।
गत वर्ष अनेसास पोर्चुगल शाखाको आयोजनामा मार्च ८ देखि १० सम्म अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको थियो भने यस वर्ष जुनको अन्तिम हप्ता अनेसास बेल्जियम शाखाको आयोजनामा अन्तर्राष्ट्रिय च्याप्टर्स सम्मेलन हुने घोषणा भइसकेको छ। यस समितिले यी सम्मेलनहरूलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


































