२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राष्ट्रिय परीक्षा बोर्ड: कर्मचारी महाशाखा प्रमुख खोज्दै, परीक्षाबाहेक सबै काम प्रायः ठप्प

Untitled
Untitled
Untitled

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा ४ महाशाखा प्रमुख रिक्त भएको छ । पछिल्लो समय माघ १० देखि योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख गोविन्द खनियाँले स्वैच्छिक अवकास लिएपछि एक जना पनि महाशाखा प्रमुख छैनन् ।

महाशाखा प्रमुख नहुँदा बोर्डको परीक्षाबाहेक सबै काम प्रायः ठप्प भएको छ । वरिष्ठ उपसचिवलाई बढुवा गर्न नसकेका कारण महाशाखा प्रमुख रिक्त भएको हो ।

५ वर्षदेखि परीक्षा महाशाखा पनि निमित्तको भरमा चलिरहेको छ । निमित्त परीक्षा नियन्त्रकका रूपमा कृष्णप्रसाद शर्मा हुनुहुन्छ । उहाँबाहेक कसैलाई पनि निमित्त दिएको छैन ।

अक्षम अध्यक्ष र सहसचिवका कारण सबै महशाखा रिक्त भएको कर्मचारीको आरोप छ । ‘अध्यक्ष र सदस्य सचिवज्यूलाई महाशाखा प्रमुखको जिम्मेवारी दिन दर्जनौंपटक आग्रह ग¥यौं तर सुनुवाइ भएन’ –कर्मचारीको भनाइ छ ।

रिक्त महाशाखामा कहिले प्रमुख नियुक्ति हुन्छन् भन्ने विषयमा बोर्ड आफैं अनविज्ञ छ । बोर्डमा प्रशासन तथा जनशक्ति विकास, योजना, अनुमगन तथा मूल्याङ्कन, अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार र परीक्षा नियन्त्रण गरी ४ महाशाखा छन् ।

जेठ ५ देखि प्रशासन तथा जनशक्ति विकास, माघ ३ देखि योजना अनुगमन तथा मूल्याङ्कन, ०७८ फागुन १९ देखि अनुसन्धान, गुणस्तर तथा शासकीय सुधारमा महाशाखा प्रमुख रिक्त छन् । ६ वर्षदेखि कक्षा ११ र १२ परीक्षा नियन्त्रण कार्यालय निमित्तको भरमा चलिरहेको छ ।

योजना तथा मूल्याङ्कन महाशाखा कर्मचारी व्यवस्थानदेखि वृत्ति विकासलगायत सम्पूर्ण काम गर्ने प्रशासन महाशाखा प्रमुख पद रिक्त हुँदा बोर्डका उच्च अधिकारीलाई मतलब छैन ।

वर्षको झन्डै १० लाख विद्यार्थीको परीक्षा सञ्चालन र सुधार गर्ने जिम्मा लिएको बोर्डको सबै महाशाखा रिक्त भएको अवस्थामा निमित्तको जिम्मेवारी दिन सकेको छैन ।

बोर्ड मुख्यालयमा मात्र होइन प्रादेशिक कार्यालयसमेत निमित्तको भरमा चलेको छ । प्रादेशिक कार्यालयमा उपसचिवको दरबन्दी हुन्छ । अधिकांशमा अधिकृतलाई प्रमुखको जिम्मा दिइएको छ ।

‘बोर्डमा स्थायी कर्मचारी हुँदाहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हस्तक्षेप गरी कर्मचारी नियुक्ति गरेको छ । बोर्डका अध्यक्ष र सदस्य सचिवका कारण हाम्रो अधिकार खोसिरहेको छ, बोल्ने कोही पनि देखेका छैनौं’ –कर्मचारीको भनाइ छ ।

स्रोतका अनुसार बोर्डले आफ्ना कर्मचारी व्यवस्थापन गर्न नसकेपछि मन्त्रालयले हस्तक्षेप गरेको हो । विराटनगर दामोदर चापागार्इं, डडेल्धुरा शाखा कार्यालयमा शाखा अधिकृत नारायणदत्त भट्ट, नेपालगञ्जमा मन्त्रालयका लक्ष्मी अधिकारी, सुर्खेतमा कृष्णकुमार श्रेष्ठ, वागमती प्रादेशिक कार्यालयमा उपसचिव कृष्णप्रसाद घिमिरे, गण्डकी प्रादेशिक कार्यालय पोखरामा गोविन्द पोखरेल प्रमुख छन् ।

मन्त्रालयले सरुवा गरेको अधिकांश कार्यालय प्रमुख उपसचिव हुन् भने राप बोर्डले जिम्मेवारी दिएका प्रमुखमध्ये लुुम्बिनी प्रादेशिक कार्यालय र काठमाडौं कार्यालयमा उपसचिव प्रमुख हुनुहुन्छ । लुम्बिनीमा रमाकात्न सापकोटा र काठमाडौंमा जयन्ती सत्याल प्रमुख हुनुहुन्छ ।

बोर्डअन्तर्गत मधेस प्रदेश कार्यालय जनकपुरमा शाखा अधिकृत दया राई, लहानमा शाखा अधिकृत धनपति भेटवाल, दाङमा शाखा अधिकृत कमल अर्याल, धनगढी शाखा अधिकृत महेन्द्र पाण्डे छन् । बोर्डअन्तर्गत १२ वटा प्रादेशिक र सम्पर्क कार्यालय छन् ।

‘बोर्डका कर्मचारी कामविहीन भएर मुख्यालयमा थन्किएका छन् तर मन्त्रालयले एक व्यक्तिलाई सम्पर्क र शाखा कार्यालयमा समेत जिम्मेवारी दिएको छ’ –बोर्डका एक कर्मचारीले भने ।

अधिकांश अस्थायी कर्मचारी कार्यरत बोर्डमा १५ वर्षदेखि एउटै पदमा रहेका कर्मचारीको बढुवा हुन सकेको छैन । कर्मचारी व्यवस्थापन गर्न नसक्दा बोर्डको परीक्षाको अति गोप्य काममा समेत करारमा कर्मचारी परिचालन गर्ने गरिएको छ ।

Untitled
Untitled
Untitled