२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

देशभर आगलागीका घटना बढ्दै, ५४ जिल्लाका १३७ स्थानमा डढेलो

Untitled
Untitled
Untitled

काठमाण्डू, मौसम परिवर्तनसँगै देशभर आगलागीका घटना बढ्दै गएका छन्। क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा नभएका कारण मुलुकभर आगलागीका घटना बढ्दै गएका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर वन डढेलो तथा आगलागीका घटनाहरूको जोखिम थप बढ्ने देखिएको छ।

प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले वनमा डढेलो लगाउने कार्य वन ऐन २०७६ को दफा ४९ (घ) अनुसार आपराधिक काम भएकाले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि तीनै तहका सरकारलाई आग्रह गरेको जानकारी दिए ।

कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ।

वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोबाट हुन सक्ने जोखिमबारे अग्रिम जानकारी लिन पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ।

उनले विगत केही दिनदेखि काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाबाट शुरू भएको डढेलो बेथानचोक पुग्दासमेत नियन्त्रण गर्न नसकिएकाले समयमा नै सबै निकाय चनाखो नहुने हो भने तापक्रम बढेसँगै देशभरको अवस्था भयावह हुने बताए ।

नेपालमा पछिल्लो दुई हप्तामा ५४ जिल्लामा १ सय ३७ भन्दा बढी आगलागीका घटना भएका छन् भने लाखौंको भौतिक क्षति भएको छ ।

मानवीय क्षति नभएपनि आगलागीमा परेर आधा दर्र्जन मानिस घाइते भएका छन् भने दर्जनौं चौपायाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ।

मुलुकका ७ प्रदेशमा नै आगलागी तथा डढेलोका घटना बढ्दो अवस्थामा रहेकाले यसलाई सबै सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने सरोकारवालाले बताउँदै आएका छन्।

तर, सरकारको पूर्वतयारीलाई हेर्ने हो भने अवस्था दयनीय देखिन्छ। नेपालमा साधारणतया वर्षमा २ हजार ५ सयको हाराहारीमा डढेलोका घटना हुने गरेका छन्।

८० प्रतिशत वन डढेलोका घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छ । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोका घटना हुने गर्छन्।

‘आगलागीका घटनाहरू बढ्न थालेपछि सुरक्षा निकायलाई परिचालन गर्नुबाहेक सरकारले अन्य उपाय अवलम्बन गरेको देखिँदैन’ –राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका एक कर्मचारीले जानकारी दिए।

स्थानीय निकायले डढेलो नियन्त्रणका लागि स्थानीय स्तरमा जति जनचेतनाा फैलाउनुपर्ने हो त्यो हुन नसक्दा आगलागीभन्दा पनि डढेलोका घटना बढ्दै गएको प्राधिकरणका प्रवक्ता डा. भट्टराई बताउँछन् ।

अमेरिकाको लसएन्जल्समा लागेको आगो नियन्त्रण गर्न अमेरिकाजस्तो देशलाई हम्मेहम्मे परेको उदाहरण हाम्रो सामु ताजा रहेकाले नेपालमा पनि त्यस्ता आगलागीका घटना हुनसक्ने भएकाले तीनै तहका सरकार सक्रिय हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्।

अहिलेदेखि नै वनमा डढेलो लगाउने गिरोह सक्रिय रहेकाले त्यस्ता व्यक्तिमाथि कडा कारबाही गर्ने कानून ल्याउनुपर्ने र अहिले मौजुदा रहेको कानुनलाई कडाइका साथ पालना गर्न लगाउनुपर्ने प्राधिकरणको भनाइ छ।

माघ ६ गतेदेखि अहिलेसम्मको डढेलोको प्रकृति हेर्दा अघिल्लो वर्षको माघ महिनाको तुलनामा यस वर्ष डढेलोको अवस्था दयनीय रहेको प्रवक्ता डा. भट्टराईले जानकारी दिए ।

‘नेपालको पछिल्लो अवस्था हेर्ने हो भने प्रकृतिले पनि केही गर्ने भए गरिहाल होइन भने अमेरिकको जस्तो नियति नेपालले पनि भोग्न तयार रहनुपर्ने सन्देश दिएको भएपनि हाम्रो तयारी भने निकै सुस्त देखिन्छ’ –डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा बताउँछन् ।

उनले समयभन्दा अघि नै डढेलोको अवस्था भयावह हुनुले पनि नेपालमा अन्य प्रकारका प्राकृतिक विपत्तिभन्दा पनि डढेलो डरलाग्दो अवस्थामा रहेको दावी गरे ।

Untitled
Untitled
Untitled