२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

२ दिनमै सरकारले गर्‍यो ५८ अर्ब खर्च, अनिवार्य दायित्व र काटिएका बिलको भुक्तानी नरोकिने

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारले २ दिनमा ५८ अर्ब रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भुक्तानीको अन्तिम २ दिनमै करिब ५८ अर्ब रुपैयाँ खर्च गरेको हो।

आइतबार सरकारले २४ अर्ब २७ करोड खर्च गरेकोमा सोमबार ३३ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ।

सरकारले पछिल्ला २ सबैभन्दा बढी साँवा ब्याज तिर्नको लागि खर्च गरेको छ।

आइतबार १२ अर्ब ५१ करोड वित्तीय व्यवस्थाको लागि खर्च हुँदा चालू खर्चको लागि ८ अर्ब र पूँजीगत खर्चको लागि ३ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ।

सोमबार भने पूँजीगत खर्च गरेको छ। सोमबार १४ अर्ब रुपैयाँ पूँजीगत खर्च हुँदा चालू खर्च ९ अर्ब ८५ करोड र वित्तीय व्यवस्थाका लागि ९ अर्ब ३५ करोड खर्च गरेको छ।

वित्तीय व्यवस्थापन नियमावलीअनुसार एक साताअघि नै भुक्तानी गर्नुपर्ने व्यवस्था छ।

महालेखा नियन्त्रकको कार्यालयका उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजालले अनिवार्य दायित्वबाहेक अन्य भुक्तानी नहुने बताए।

‘सामाजिक सुरक्षा भत्ता, तलबजस्ता अनिवार्य दायित्व मसान्तसम्मै भुक्तानी हुन्छ’, उनले भने, ‘बिल पेस भएर रकम नहुँदा रोकिएको भुक्तानी पनि अघि बढ्छ।’

१७ खर्ब ५१ अर्ब बजेटमा कुल खर्च ७७.४४ प्रतिशत मात्रै

सरकारले चालू आर्थिक वर्षमा साढे ७७ प्रतिशत मात्रै खर्च गरेको छ। सोमबार रातिसम्म १३ खर्ब ५६ खर्ब रुपैयाँ खर्च भएको हो।

यसमा चालू खर्च ९ खर्ब ३३ अर्ब,पूँजीगत खर्च १ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। जुन विनियोजित बजेटको करिब ५७ प्रतिशत मात्रै हो।

वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब रुपैयाँ छुट्याएकोमा २ खर्ब ५० अर्ब रुपैयाँ खर्च गरेको थियो।

राजस्व संकलन ६९.५९ प्रतिशत संकलन भएको छ। राजस्वतर्फ ८ खर्ब ८८ अर्ब रुपैयाँ संकलन हुँदा गैरकर राजस्व १ खर्ब १ अर्ब रुपैयाँ संकलन भएको छ।

अनुदान भने २ अर्ब ७५ करोड रुपैयाँ प्राप्त भएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ। सरकारले अन्य आम्दानीको रुपमा २३ अर्ब ९ करोड प्राप्त गरेको छ।

Untitled
Untitled
Untitled