काठमाडौं, सर्वसाधारणको एक अर्बभन्दा बढी रकम अपचलन गरेका सुप्रिम सहकारीका अध्यक्ष जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
प्रहरीले प्रतिवादी बनाएका २८ जनामध्ये अहिलेसम्म ५ जना पक्राउ परेका छन् । अरूलाई फरार सूचीमा राख्दै प्रहरीले दुई महिना लगाएर तयार गरेको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा २८ जना प्रतिवादीलाई १ अर्ब २ करोडको बिगो मागदाबी गरिएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका १० हजार बचतकर्ता अन्यायमा परेको भन्दै प्रहरीमा आफूहरू ठगिएको निवेदन दिएका छन् ।
दुई महिनाको अनुसन्धानपछि २८ जना प्रतिवादी र १ अर्ब २ करोड बिगो मागदाबी गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए ।
कोको छन् प्रतिवादी ?
प्रहरी प्रतिवेदनमा ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु ( जीवी ) राईसहित २८ जनालाई प्रतिवादी बनाएको छ ।
सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्वकोषाध्यक्ष दीपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् ।
५ जनाबाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । पुन चैत २ मा काठमाडौँबाट पक्राउ परेका हुन् ।
सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।
उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रहरीमा थोरै सङ्ख्यामा निवेदन दिइए पनि १० हजार सदस्यहरू यसबाट पीडित भएको भन्दै उनीहरूले संगठित रूपमै आफ्ना आवाजहरू उठाएका छन् ।


































