काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताएका छन् ।
५९ औँ जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धि रक्षा हुन नसक्ने बताएका हुुन् ।
“संविधानमा दलित समुदायका मौलिक हक लगायत व्यवस्था सुनिश्चित गरिए पनि दलित समुदायमाथि गरिने छुवाछूत–भेदभावमा अपेक्षित कमी आउन सकेको छैन,” प्रधानमन्त्री दाहालले भने , “छुवाछूत विभेदकै कारण दलित समुदायमाथि अपमान, दमन, उत्पीडन, सामाजिक वहिस्कार, कुटपिट–हत्या र नाकाबन्दीजस्ता घटनाहरूमा कमी आउन नसक्नु सामाजिक लज्जाको विषय हो ।”
प्रधानमन्त्री दाहालले छुवाछूत उत्पीडनका अतिरिक्त लैंगिक विभेद, भाषिक विभेद र क्षेत्रीय उत्पीडनलगायत विभेद सम्पूर्ण रूपमा अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धिहरूको रक्षा र विकासका लागि विभेद अन्त्य हुनुुपर्ने बताए ।

देशको राजनीतिक परिवर्तनमा दलित समुदायले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले दलित समुदायलाई समानुपातिक प्रतिनिधित्वसहितको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र एवम् विभेदरहित समाजको निर्माणको जिम्मेवारी दिनुपर्ने बताए ।
“जातीय छुवाछुत तथा विभेदलाई कडा दण्डनीय अपराधका रूपमा लिई यसमा संलग्न अपराधीहरूलाई कानूूनी दायरामा ल्याउनु राज्यको दायित्व हो,” प्रधानमन्त्री दाहालले भने , “समानता र स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो ।
यद्यपि, मानव सभ्यताको आधुनिक युगमा पनि दासयुगीन मानसिकताबाट नेपाली समाज मुक्त हुन सकेको छैन ।”
संविधान, ऐन तथा कानुनहरूले सुनिश्चित गरेका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सङ्घर्षको अर्को विकल्प नदेखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जातीय छुवाछूत जस्तो अपराधलाई उन्मूलन गर्न कानूूनी प्रावधानहरू कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताए ।


































