२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

५ अर्ब सकिँदा पनि सकिएन तमोर करिडोर कालोपत्र, थप १ अर्ब २० करोड माग

Untitled
Untitled
Untitled

काठमाडौं, पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ ।

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १ सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो ।

आयोजनाको मुलघाट–पाँचथर खण्डको १ सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको ४ अर्ब १६ करोड रुपैयाँ लागतमा २०७९ कात्तिकबाट तीन वर्षमा काम पूरा गर्न ठेक्का लागेको थियो ।

कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष ४८ करोड रुपैयाँको काम भएको करिडोरमा चालू आर्थिक वर्ष २०८०र८१ मा ५८ करोड रुपैयाँ विनियोजन भएको थियो ।

तर, पुस मसान्तको ६ महिनाभित्रमा ४० करोड रुपैयाँ सकिसकेको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए ।

अहिलेसम्म करिडोर कालोपत्रका लागि ५ अर्ब ४ करोड रुपैयाँ खर्च भएको छ ।

‘अब आयोजनालाई विनियोजित रकम १८ करोड बाँकी छ, तर निर्माण व्यवसायीलाई काम गरेको तिर्नुपर्ने रकम २५ करोड छ’, उनले भने ।

आयोजना निरन्तरताका लागि चालू आवको असार मसान्तसम्मका लागि सरकारलाई थप १ अर्ब २० करोड माग गरेको उनले बताए ।

सरकारले तत्काल रकम निकासा गरेर सहयोग नगरे आयोजना प्रभावित हुने निरौलाले जानकारी दिए ।

करिडोरको शनिबार जिल्ला समन्वय समिति धनकुटा, जिल्ला प्रशासन कार्यालय तथा धनकुटाका सुरक्षा निकाय र नेपाल पत्रकार महासङ्घ धनकुटाको टोलीले धनकुटामा पर्ने करिडोरको २८ किमी सडकखण्डको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर जयराम अधिकारीले जानकारी दिए ।

आयोजनाका लागि देखिएको आर्थिक समस्या समाधान गर्न धनकुटाबाट निर्वाचित सांसदमार्फत सहयोगका लागि सरकारलाई अनुरोध गर्ने जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जानकारी दिए ।

आर्थिक अभाव तथा आयोजनाका समस्याका बारेमा जिल्लामा थप छलफल गरेर सरकार र मन्त्रालयलाई जानकारी गराउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीन स्वशासित क्षेत्र तिब्बतलाई किमाथाङ्कासँग जोड्न २०६५ सालमा आयोजना सुरु गरिएको थियो ।

रासस

Untitled
Untitled
Untitled